एक वर्षमै सूर्यदर्शन सहकारीमा कसरी बढ्यो १५ करोडको अपचलन? रविमाथि साढे २७ करोडको मुद्दा

बिजमाण्डू
२०८१ पुष १ गते २१:४१ | Dec 16, 2024
एक वर्षमै सूर्यदर्शन सहकारीमा कसरी बढ्यो १५ करोडको अपचलन? रविमाथि साढे २७ करोडको मुद्दा


काठमाडौं। सहकारीको बचत रकम हिनामिनाका आरोपित पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध साढे २७ करोड रुपैयाँ बराबरको बिगो दाबी माग गर्दै प्रहरी सरकारी वकिललाई राय प्रतिवेदन बुझाएको छ।

Tata
GBIME
NLIC

लामिछाने र उनकी श्रीमती निकिता पौडेलको खातामा देखिएको रकम लगायतको अनुसन्धान गरेर साढे २७ करोडको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरणमा माग दाबी गरिएको हो। प्रहरीले लामिछानेलाई तीन वटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले रवि पक्राउ परेको ६०औं दिनमा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा सोमबार बुझाएको हो। प्रतिवेदनमा रविविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन सिफारिस गरेको छ। नाम ठेगाना नखुलेका १४ जना बाँकी ५१ जना गरेर ६५ जना कसुरदार बनाइको छ। तर ५१ जनालाई प्रतिवादी बनाइएको हो। जसमा ३७ जना फरार रहेका छन्। सहकारी ठगीमा कुल बिगो १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ रहेको छ।

यसअघि पनि सूर्यदर्शन सहकारीमा २०८० असोजमा अदालतमा मुद्दा दायर भएको थियो। जसमा १९ जना प्रतिवादी बनाउँदा १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो। तर यसपटक भने १५ करोड रुपैयाँ अपचलनको रकम बढेको छ। यसपटक प्रतिवादी छविलाल जोशीको घरबाट बरामद सहकारीको विवरण रहेको कम्प्युटर र अन्य चार सहकारीको विवरण हेर्दा पनि अपचलनको रकम बढेको प्रहरीले जानकारी दिएको छ। २०८० माघमा प्रहरीले छविलाल जोशीको घरमा छापा मारेर केही कम्प्युटर नियन्त्रणमा लिएको थियो।

त्यस्तै उजुरीकर्ताको सङख्याले पनि रकम बढेको हो। यसअघि १ हजार ३६ जना आफू ठगिएको भन्दै उजुरी दिएका थिए। रवि र जीबी राईको हकमा भने सहकारी ठगी ५ करोड ५८ लाख रुपैयाँ बिगो दाबी गरेका छन्।

रवि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। उनलाई त्यसै दिन राति पोखरा लगिएको थियो। पूर्वडीआइजी जोशी असोज ६ गते नयाँ बानेश्वरबाट पक्राउ परेका थिए।

प्रहरीले सम्पत्ति शुद्धीकरणमा रवि, गोर्खा मिडियाका अध्यक्ष जीबी राई, गोर्खा मिडियाका सञ्चालक पूर्वडीआइजी छविलाल जोशी, सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, रामबहादुर खनाल र लिला पछाईंमाथि मुद्दा चलाउन सिफारिस गरेको छ। जीबी राई फरार छन्। राईको पक्षमा प्रहरीले क्रिप्टो कारोबारको बारेमा पनि अनुसन्धान गरेको छ। सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्दा क्रिप्टो कारोबार पनि देखिएको हो।

राईलाई पक्राउ गर्न रेड नोटिस जारी गरिए पनि प्रहरीले उनलाई नियन्त्रणमा लिन सकेको छैन। उनको राहदानी सरकारले रद्द गरिसकेको छ।

रवि र पूर्वडीआइजी जोशीले इन्कारी बयान दिएका छन्। रविले गोर्खा मिडियामा आएको रकमबारे आफूलाई जानकारी नभएको र जीबी राईले कहाँबाट ल्याए भन्नेबारे थाहा नभएको बताएका छन्। तर, प्रहरीले रविले सहकारीमा तिर्नका लागि काटेको चेक, उनको खातामा देखिएको रकम र त्यसको स्रोतलाई केलाएर प्रतिवेदन बुझाएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का डीएसपीको टोली पोखरा पुगेर अनुसन्धान गरेको थियो। डीएसपीको टोली काठमाडौं फर्किसकेको छ।

रवि र छविमाथि रुपन्देहीको सुप्रिम सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा सहकारी र वीरगंजको सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा लगेर खर्च गरेको विषयमा पनि अनुसन्धान गरिएको छ। उनीहरूलाई बयानका लागि पोखराबाट बुटवल, काठमाडौं, चितवन र वीरगंज लगिएको थियो।

एमाले सांसद सूर्य थापाको संयोजकत्वमा गठित सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले रविमाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो।

प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययनपछि सरकारी वकिल कार्यालयले कुन-कुन कसुरमा मुद्दा चलाउने भन्ने निर्णय गर्नेछ।
‘हामीलाई अध्ययन गर्न २/४ दिन लाग्छ। त्यसपछि के गर्ने भन्ने हुन्छ,’ सरकारी वकिल कार्यालय कास्की प्रमुख कमला काफ्लेले भनिन्।