एनपीएलको पहिलो सुपर ओभर : रेइफरको विस्फोटक ब्याटिङ र घातक बलिङले पोखरा विजयी

बिजमाण्डू
२०८१ मंसिर २७ गते १२:४१ | Dec 12, 2024
एनपीएलको पहिलो सुपर ओभर : रेइफरको विस्फोटक ब्याटिङ र घातक बलिङले पोखरा विजयी
विकेट सेलिब्रेट गर्दै पोखरा एभेन्जर्सका खेलाडी। तस्बिर; पोखरा एभेन्जर्स

काठमाडौं। पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा हराएको छ।

Tata
GBIME
NLIC

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा टस जितेर ब्याटिङमा उत्रिएको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको ६ विकेट गुमाउँदै १३९ रननै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। जारी प्रतियोगितामा यो पहिलो सुपरओभर हो।

यसमा पहिलो ब्याटिङ गर्न पोखराका रायमोन रेइरफर र आन्द्रेस गौस आए।

बलिङ लिएर आएका सन्दीप लामिछानेलाई सुरुका दुई बलमा रायमोन रेइफरले छक्का प्रहार गरे। तेस्रो बल डट भयो। चौथो ओभरमा चौका ल्याउन रेइफर सफल भए। पाँचौँ बलमा एक रन आउँदा गौस स्ट्राइकमा पुगे। अन्तिम बलमा गौसले एक रन जोडे। यस्तोमा विराटनगरले लक्ष्य पायो १९ रनको।

जवाफी ब्याटिङमा विराटनगरमा मार्टिन गप्टिल र निकोलस किर्टन क्रिजमा आए। पोखराको बलिङमा रेइफर आए। पहिलो बलमा गप्टिलले एक रन जोडे। दोस्रो बलमा किर्टनले अर्को रन बनाए। दुवैले ठूलो सर्ट खेल्ने प्रयास गरे पनि ब्याटमा राम्ररी क्लिक हुन सकेन। तेस्रो बलमा पनि एक रन आयो। चौथो बल डट भयो। पाँचौँ बलमा कीर्टनबाट एक रन आउँदा अर्को बल वाइड आयो। अन्तिम बलमा कुनै रन नआउँदा पोखराले खेल जित्न सफल भयो।

योसँगै पोखरा एभेन्जर्सको प्लेअफ पुग्ने सम्भावना जीवितै रहँदा विराटनगर प्रतियोगिताबाट बाहिरिने संहारमा छ। अब विराटनगरको झिनो गणितीय सम्भावनामात्र बाँकी छ।

पोखराको इनिङ्स

१४० रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाउँदा खेल सुपरओभरमा लम्बिएको थियो।

औशत लक्ष्य लिएर ब्याटिङमा उत्रिएको पोखराका ओपनरद्वय आन्द्रेस गौस र दीनेश खरेलले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गर्दै पोखराको इनिङ्स उकासेका थिए।

४.३ ओभरमा ११ रन बनाएका खरेललाई प्रतिश जिसीले अनिल खरेलबाट क्याचआउट गराउँदै पहिलो सफलता हात पारे। १०.३ ओभरमा २७ बलमा ३९ रन बनाएका अर्का ओपनर आन्द्रेस गौस पनि प्रतिशकै बलमा बसीर अहमदबाट क्याचआउट भए।

तेस्रो नम्बरमा ब्याटिङमा आएका पोखराका कप्तान कुशल भुर्तेलले आज भने सन्तोषजनक प्रदर्शन गरे। उनले ३४ बलमा ३१ रन बनाउँदै १४.२ ओभरमा क्रिस सोलको बलमा आउट भए। त्यसअघि जेन मलिकलाई १२.५ ओभरमा प्रतिश जिसीले बोल्ड आउट गराएका थिए।

पोखराले पाँचौँ विकेट तृत राज दासको गुमायो। उनलाई क्रिस सोलले गोल्डन डकआउट गर्दै पभेलियन फर्काए।

पोखराका रायमन रेइफर ३४ रनमा अविजित रहँदा नारायण जोशी २ रनमा अविजिर रहे।

बलिङतर्फ विराटनगरका प्रतिश जिसी एक्लैले ४ विकेट लिँदा क्रिस सोलले २ विकेट लिए।

विराटनगरको इनिङस्

विराटनगरले सुरुवाती ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रन बनाएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको विराटनगरलाई ओपनर लोकेश बम र मार्टिन गप्टिलले पहिलो विकेटका २६ रनको साझेदारी गर्दै औशत सुरुवात दिलाए। आक्रामक ब्याटिङ गरेका बमले १६ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै २६ रन बनाए। उनलाई पोखराका रायमन रेइफरले आफ्नै बलमा क्याचआउट गरे।

त्यसअघि अर्का ओपनर मार्टिन गप्टिल ५ रन बनाएर सागर ढकालको बलमा बोल्डआउट भएका थिए। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका नरेन भट्टको पनि प्रदर्शन राम्रो हुन सकेन। ४ रन बनाएका उनलाई दिनेश खरेलको बलमा सागर ढकालले ७.१ ओभरमा क्याचआउट गरे। यस्तोमा विराटनगर ३७-३ को अवस्थामा पुगेको थियो।

आजको खेलबाट एनपीएल डेब्यु गरेका नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड्सले विराटनगरको स्कोर उकास्न महत्त्वपूर्ण भूमिका खेले। उनले निकोलस किर्टनसँग ४३ रनको साझेदारी गरे। १२.१ ओभरमा किर्टन १६ बलमा १९ रन बनाएर ढकालको बलमा माइकल लिस्कबाट क्याचआउट भए।

स्कटले बसीर अहमदसँग मिलेर ४० रनको साझेदारी गरे। ३५ बलमा ५ चौकाको सहायतामा ४५ रन बनाएका उनी १८.२ ओभरमा बोल्डआउट हुन पुगे। विराटनगरमा अनुबन्धित ओमनी कप्तान अक्विब इल्यास भने आज प्लेइङ ११ मा थिएनन्।

त्यस्तै बसीर अहमद २० बलमा २१ रन बनाउँदै अविजित रहँदा क्रिस सोलले ७ तथा दीपक बोहरालले ४ रन बनाए।

बलिङतर्फ पोखराका सागर ढकाल र रेइमन रेइफरले समान २ विकेट लिँदा कुशल भुर्तेल र दिनेश खरेलले समान १ विकेट लिए।