लिग चरणबाट बाहिरियो लुम्बिनी, टोलीको कमजोरीबारे कप्तान रोहित के भन्छन्?

बिजमाण्डू
२०८१ मंसिर २६ गते १७:२० | Dec 11, 2024
लिग चरणबाट बाहिरियो लुम्बिनी, टोलीको कमजोरीबारे कप्तान रोहित के भन्छन्?

काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल)मा लिग चरणबाटै बाहिरिने पहिलो टोली बनेको छ। बुधबार सम्पन्न एनपीएलको दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग १८ रनले पराजित भएसँगै लुम्बिनी लायन्स प्रतियोगिताबाट बाहिरिएको हो।

Tata
GBIME

आज सम्पन्न खेलमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गुर्खाजका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका थिए।

सुरुवाती ब्याटिङमा उत्रिएको काठमाडौंले १९.२ ओभरमा अलआउट हुँदै १०३ रन बनायो।

सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले त्यो लक्ष्य पछ्याउन सकेन। १९.२ ओभरमै ८२ रनमा अलआउट भयो।

एनपीएलमा ६ खेल खेलेर ५ वटामा पराजित भएसँगै लुम्बिनी प्लेअफको होडबाट बाहिरिएको छ।

राष्ट्रिय टोलीको समेत कप्तान रहेका रोहितकुमार पौडेल आजको खेलमा लक्ष्य भेटिन सक्ने किसिमको भए पनि त्यसमा चुकेको बताए।

‘हामी ब्याटिङ युनिटले राम्रो ब्याटिङ गरेनौँ,’ उनले भने, ‘प्रतियोगिताको अन्त्यतिर विकेट यस्तै हुन्छ। एउटै मैदानमा खेल भइरहेको छ। विकेट स्लो छ।’

काठमाडौंका स्पीनरले राम्रो बलिङ गर्दा ब्याटिङमा चुक्न पुगेको उनले बताए। आजको हारले लुम्बिनीको प्लेअफ पुग्ने सम्भावनासमेत सकिएको छ।

उनले सुरुका खेलहरुमा बलिङ युनिट र पछिल्ला खेलहरुमा ब्याटिङ युनिटले राम्रो गर्न नसक्दा प्रतियोगितामा राम्रो गर्न नसकेको बताए।

‘टिमको जुन क्षमता थियो त्यो अनुसारले खेल्न सकेनौँ। ब्याटिङ युनिटमा जतिबेला चाहिएको थियो त्यतिबेला स्टेपअप गर्न सकेनौँ,’ उनले भने, ‘सुरुका खेलहरुमा बलिङ युनिटले राम्रो गर्न सकेन। समग्रमा प्रतियोगिता राम्रो हुन सकेन।’

लुम्बिनीले अर्को खेलमा कर्णाली याक्ससँग खेल्दैछ। यसमा मौका नपाएका खेलाडीलाई अवसर दिने भन्दै उक्त खेल पनि जित्नकै लागि मैदान उत्रने बताए।

उनले अर्को संस्करण निकै टाढा भएको भन्दै यसमा काम गर्ने बताए।

लुम्बिनीले एनपीएलको पहिलो खेल विराटनगर किंग्ससँग, दोस्रो खेल पोखरा एभेन्जर्ससँग, तेस्रो खेल सुदूरपश्चिम रोयल्ससँग र चौथो खेल जनकपुर बोल्टससँग गुमाएको थियोा। पाँचौँ खेलमा एकमात्र जित चितवन राइनोजविरुद्ध निकालेको थियो। छैटौं खेलमा काठमाडौंसँग पराजित भएसँगै लुम्बिनी अफसियल्ली प्रतियोगिताबाट बाहिरिएको हो।