काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो पराजय ब्यहोरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलले जनकपुर बोल्ट्सलाई पराजित गरेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनाएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको जनकपुर १२.१ ओभरमा ५१ रनमा समेटियो।
जारी नेपाल प्रिमियर लिगमा यो सबैभन्दा सानो स्कोर हो। यसअघि पोखरा एभेन्जर्स सबैभन्दा कम ७४ रनमा अलआउट भएको थियो।
अघिल्ला खेलहरुमा सानदार ब्याटिङ गरेको जनकपुर आज भने चल्न सकेन। ब्याटिङ लाइनमा जोसुवा ट्रम्पबाहेक कुनै अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।
जनकपुरको ब्याटिङ धराशायी बनाउन सुदूरपश्चिमका हरमीत सिंह, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान २ विकेट लिँदा सैफ जैब र नरेन साउदले समान १ विकेट लिए।
सुदूरपश्चिमको इनिङ्स
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरुवाती ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनाएको थियो।
टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमका ओपनरद्वय विनोद भण्डारी र सैफ जैबले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई ठीकठाक सुरुवात दिलाएका थिए। जैबले २१ रन बनाएर हर्ष ठाकरको बलमा आउट हुँदा टोलीका लागि सर्वाधिक रन बिनोद भण्डारीले बनाए। उनले ३३ रन बनाउँदै शेर मल्लको बलमा जोसुवा ट्रम्पबाट क्याचआउट भए।
त्यसपछि ब्याटिङमा आएका अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन नसक्दा इशान पाण्डेले १७ र ब्राण्डन म्याकमुलनले ११ रन बनाए। प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरिरहेका दीपेन्द्रसिंह ऐरी आज भने डकआउट हुन पुगे।
सुदूरपश्चिमको ब्याटिङ धराशायी बनाउन किशोर महतोले घातक बलिङ गरे। उनले सर्वाधिक ४ विकेट लिँदा शेर मल्ल र अरनिको यादवले समान २ विकेट लिए।