सेयर बजार दुई महिनादेखि २७०० वरिपरि घुमेको घुम्यै, ठूला लगानीकर्तामै छैन कन्फिडेन्स

सुनिल कुँवर
२०८१ मंसिर २४ गते १८:१८ | Dec 9, 2024
सेयर बजार दुई महिनादेखि २७०० वरिपरि घुमेको घुम्यै, ठूला लगानीकर्तामै छैन कन्फिडेन्स

काठमाडौं। नयाँ सरकारका कारण डेढ महिनामै ४६ प्रतिशतले उकालो लागेको सेयर बजार त्यसपछि भने एकै विन्दुको वरिपरि घुमेकै घुम्यै भएको छ। नेप्से परिसूचक पछिल्लो दुई महिनादेखि एकै विन्दुको वरिपरि घुमिरहेको हो।

Tata
GBIME
NLIC

असारको बीचमा सत्ता समीकरण उथलपुथलपछि ४६ प्रतिशतले बढेर नेप्से साउन ३१ गते २९ अर्ब ९५ करोड रुपैयाँको कारोबारसहित ३००० विन्दुमा पुगेकामा त्यसपछि निरन्तर ओरालो लाग्यो। असोज १३ गते २४६४ अंकमा झरेको नेप्से त्यसपछि २७०० विन्दुमा घुमिरहेको छ।

नेप्से असोज ३० गते २७४२, कात्तिक २६ गते २७६० र मंसिर १८ गते २७७५ अंकमा पुगेर नेप्से ओरालो लागेको हो। नेप्से आइतबार ४५.३९ अंकले घट्दा ७ अर्ब ४६ करोड रुपैयाँको सेयर कारोबार भयो। सोमबार १२.८४ अंकले घटेर नेप्से २६७६.१५ विन्दुमा आइपुगेको छ।

नेप्से सूचक मात्रै नभएर कारोबार रकम पनि खुम्चिएको छ। सोमबार जम्मा ५ अर्ब ६२ करोड रुपैयाँको सेयर किनबेच भएको छ। बजार गत सातादेखि नै ओरालो क्रममा छ। नेप्से गत बुधबार २४.९७ र बिहीबार १५.९३ अंकले घटेको थियो।

बैंकको ब्याजदर तीन वर्षयताकै न्यून विन्दुमा आउँदा तथा बैंकहरुसँग लगानीयोग्य रकम फालाफाल हुँदा पनि सेयर बजार उकालो लाग्न सकिरहेको छैन। जबकि बैंकहरुले अहिले एकल अंकमै सेयर धितो कर्जा दिइरहेका छन्।

बजारका जानकारहरु बजार माथि जान नसक्नुलाई अर्थतन्त्र र लगानीकर्ताको कन्फिडेन्ससँग जोडेर हेर्नुपर्ने धारण राख्छन्। ‘अर्थतन्त्र सबैतिर शिथिल छ। त्यसले कम्पनीहरुको वित्तीय अवस्था राम्रो भएको छैन,’ नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरिले भने, ‘त्यसैको असर देखिएको हो। अर्कातिर ठूला लगानीकर्ताको मनोबल खासै बढेको देखिंदैन।’

अर्थतन्त्रमा दुई वर्षदेखिको शिथिलता कायमै रहेकाले बजारमा माग बढ्न सकेको छैन। माग वृद्धि नहुँदा वास्तविक क्षेत्रकै कम्पनीको व्यापार खुम्चिएको छ। कम्पनीहरुको व्यापारमा आएको गिरावटका कारण प्रतिफल क्षमता घट्दो छ।

बैंक तथा वित्तीय संस्थाले नयाँ लगानी बढाउन सकेका छैनन्। लगानी गरेको रकम खराब ऋणमा परिणत हुँदा वित्तीय विवरण बिग्रिन पुगेको छ।

बजार घट्नुको कारण कम्पनीको खराब वित्तीय अवस्था मात्र कारण होइन। वित्तीय अवस्था बलियो भएका कम्पनीमा पनि लगानीकर्ताको आकर्षण देखिंदैन।

प्रतिफलको ग्यारेन्टी र लगानीको वातावरण नभएका कारण बजारमा उत्साह नदेखिएको विश्लेषकहरुको भनाइ छ।

‘अर्थतन्त्रको एउटा इन्डिकेटरमा सुधार छ। तर, प्रतिफलको ग्यारेन्टी छैन। लगानीको वातावरण छैन। सबै मल्टिपल फ्याक्टरले बजारमा काम गरेको छ,’ एक विश्लेषकले भने।

अर्थतन्त्रको चक्रमा देखिएको असर कम्पनीको समग्र व्यापारमा देखिएका कारण बजार तंग्रिन नसकेको जानकारहरु बताउँछन्।

‘ब्याजदर घटेको छ। तर बजारमा लगानीकर्ताको कन्फिडेन्स बढेको छैन। बैंकहरुले लो लेभलको मार्जिन ल्यान्डिङ पनि दिइरहेका छैनन्,’ एक मर्चेन्ट बैंकरले भने, ‘लगानीकर्ताको कन्फिडेन्स अझै बढ्न नसक्नुको कारण राजनीतिक अस्थिरता हो।’

वित्तीय अवस्था तन्नम तर सूचीकृत सेयरको संख्या न्यून भएका कम्पनीको मूल्य भने निरन्तर बढीरहेको छ। ‘लोक्याप कम्पनीमा ट्रेडर हाबी हुन्छ। इन्भेष्टरबाटै कर्नरिङ गरेर मूल्य बढाइरहेको देखिन्छ। त्यसैले बजार शिथिल हुँदा पनि त्यस्ता कम्पनीको मूल्य बढिहरेको छ,’ ती मर्चेन्ट बैंकरले भने।

पछिल्लो समय सेयर बजार घट्नुमा मन्त्री हेरफेर हुने हल्लाले पनि काम गरेको छ। ‘मन्त्री फेरिने हल्ला चलेको छ। अर्थ मन्त्री फेरिंदैछन् भन्ने हल्लाले बजारको उतारचढावमा काम गरेको छ,’ सुन्धारा सेक्युरिटीजका फणिन्द्र ढकालले भने।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाबाट लगानीकर्ताले अपेक्षा गरे अनुसार नीतिगत उपकरण नचाएका कारण निराशा देखिएको कतिपयको तर्क छ।

‘मौद्रिक नीतिको समीक्षाबाट बजारका लागि केही सहुलियत हुने लगानीकर्ताको अपेक्षा थियो। गभर्नरले सार्वजनिक फोरमहरुमा बोल्दा बजारका लागि एक दुई ठाउँमा नीति चलाउने संकेत गरेका थिए,’ ढकालले भने, ‘मौद्रिक नीतिको समीक्षामा केही पनि नदेखिएपछि निराशाको क्रम सुरु भएको देखिन्छ।’

मंसिर १४ गते मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको राष्ट्र बैंकले नीतिगत व्यवस्था यथावत राखेको छ।

सेयर धितो कर्जाको सीमा तथा जोखिमभार हटाउने लगानीकर्ताको अपेक्षा थियो। तर, राष्ट्र बैंकले सेयर बजार लक्षित कुनै नीति चलाएन। जबकि सेयर खरिदबिक्रीको सीमा बढाउन बैंक तथा वित्तीय संस्था र लगानीकर्ताले लबिइङ गरेका थिए।