नबिल बैंकका ग्राहकले अब रोजेको समयमा सेवा पाउने, अपोइन्टमेन्ट बैंकिङ प्रणाली सुरु

बिजमाण्डू
२०८१ मंसिर २४ गते ११:५९ | Dec 9, 2024
नबिल बैंकका ग्राहकले अब रोजेको समयमा सेवा पाउने, अपोइन्टमेन्ट बैंकिङ प्रणाली सुरु

काठमाडौं। नबिल बैंकले अपोइन्टमेन्ट बैंकिङ प्रणालीको सुरु गरेको छ। तत्कालका लागि बैंकले आफ्नो केन्द्रीय कार्यालयबाट यस प्रकारको सेवा सुरु गरेको हो।

Tata
GBIME

आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर व्यस्त समय व्यवस्थापन गरी छिटो छरितो सुविधा दिन यस्तो प्रणाली सुरु गरेको बैंकले जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले प्रविधिको प्रयोगमार्फत थप छरितो र कुशल सेवा प्रदान गर्न नयाँ प्रणाली सुरु गरिएको बताए।

‘हामी ग्राहकहरूको चाहनालाई महसुस गर्दै नवीन समाधानहरू प्रदान गर्न कटिबद्ध छौं। अपोइन्टमेन्ट बैंकिङ प्रणालीले समय व्यवस्थापनमा सहयोग गर्ने, कुशल सेवा उपलब्ध गराउने हाम्रो लक्ष्यलाई प्रतिबिम्बित गर्दछ,’ ढुंगानाले भने।

अपोइन्टमेन्ट बैंकिङ प्रणाली प्रयोग गरेर ग्राहकले आफूले चाहेको समय अर्थात् आफूले बुक गरेको समयमा बैंकबाट सेवा लिन सक्नेछन्।

नगद र चेक कारोबार जस्ता अत्यावश्यक बैंकिङ सुविधा अपोइन्टमेन्ट बैंकिङ प्रणाली प्रयोग गरेर लिन सकिने बैंकले जनाएको छ। बैंकले खासगरी व्यस्त पेसाकर्मी र व्यवसायीलाई लक्षित गरी यो सेवा सुरु गरेको हो। ग्राहकले बैंकको वेबसाइट वा एनबैंक एपमार्फत सजिलै अपोइन्टमेन्ट बुक गर्न सक्नेछन्।