काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ड्रिम प्रोजेक्ट दमक भ्यु टावर उद्घाटन गरेका छन्। उनले १ अर्ब ४५ करोड रुपैयाँ लागतमा बनाइएको भ्यु टावर आइतबार उद्घाटन गरेका हुन्।
ओलीले आफू यसअघि प्रधानमन्त्री रहेका बेला २०७६ असार २७ मा भ्यु टावर शिलान्यास गरेका थिए। त्यतिखेर प्रयोजन नहुने संरचनामा बजेट खर्च गर्न लागेको भनेर ओलीको आलोचना भएको थियो। ओलीले भने सुनेको नसुनेझैं गरेका थिए।
भ्यु टावर निर्माणमा १ अर्ब ३८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएकामा १ अर्ब ४५ करोड खर्च भएको शहरी विकास मन्त्रालयले जनाएको छ।
१८ तले भ्यु टावर नेपालकै सबैभन्दा अग्लो संरचना भएको बताइएको छ। भ्यू टावर १०० मिटर अग्लो छ। ओलीले भ्यु टावरलाई आधुनिक विकासको नमुना भन्दै यसको संचालनले रोजगारी सृजना हुने र दमक क्षेत्रको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताए।
उनले विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको भन्दै अब टावर रहेको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गरे। भ्यु टावरलाई दमक व्यापारिक कम्प्लेक्सको नाम दिइएको छ।
भ्यु टावरको भुइँतलामा चार पाङ्ग्रे ४० वटा र दुई पाङ्ग्रे २०० वटा सवारीसाधन अट्ने पार्किङस्थल छ।
भ्यु टावरमा व्यापारिक प्रयोजनका पसल, सेमिनार हल, बैंक, वित्तीय संस्थालगायत व्यापारिक केन्द्र, कृषि तथा औद्योगिक सामानको प्रदर्शनी हल, रेस्टुरेन्ट र लज रहने मन्त्रालयका अधिकारीले बताएका छन्।