जुम्ला। जुम्लामा १ हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट सेवा जडान गरेका छन्। अहिले जिल्ला सदरमुकाम खलङ्गा बजारमा मात्र फाइबर इनटरनेट सेवा उपलब्ध छ।
यहाँका ८ स्थानीय तहमा टेलिकमको फाइबर इन्टरनेट सेवा विस्तारका लागि काम भइरहेको छ। जिल्लाका धैरै जसो सरकारी कार्यालय र व्यक्तिगत पुरानो टेलिफोनको प्रविधिलाई फाइबर इन्टरनेटमा परिणत गरिएको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख सुवास शाहले जानकारी दिए।
चन्दननाथ नगरपालिका भित्र मात्रै १ हजार ग्राहकले फाइबर इन्टरनेट जडान गरेका छन्।
कार्यालय प्रमुख शाहले भने, ‘जिल्लामा फाइबर इन्टरनेटको माग बढेको छ। निजी कम्पनीको भन्दा सस्तो र राम्रो छ। यस कारण ग्राहक आकर्षित छन्।’
इन्टरनेटसँगै टेलिफोन र टेलिभिजनको सुविधा पनि प्रदान गरेको कार्यालय प्रमुख शाहको भनाइ छ। इन्टरनेटको स्पिडअनुसारको शुल्क फरक-फरक निर्धारण गरिएको टेलिकमले जनाएको छ।
यहाँका ८ वटै स्थानीय तहका २० स्थानबाट फोरजी सेवा र ७ वटा ठाउँमा टुजी सेवा सहितका टावरबाट सञ्चार सेवा प्रवाह भएको टेलिकमले जनाएको छ। टेलिकमको एनटी फाइबर गत वर्षको जेठ १० गते कालिकोट र जेठ ११ गते जुम्लामा शुभारम्भ भएको थियो।
एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी अब त्यस क्षेत्रका सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ। रासस