चीन। नेपालमा चिनियाँ लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सीसीपीआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको नेपाल-चीन बिजनेस समिटमा नीतिगत र व्यवहारगत सुधार गर्ने प्रतिबद्धता जनाउँदै लगानी विस्तार र व्यापार सहजीकरणका लागि आग्रह गरिएको हो।
द्विपक्षीय व्यापार प्रवर्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए। उनले नेपालमा धेरै क्षेत्र अझै पनि लगानीका लागि आकर्षक रहेकोले लगानी गर्न आग्रह गरे।
प्रधानमन्त्री ओलीले कुनै पनि मुलुकको सरकार र निजी क्षेत्रको सहकार्यलाई प्राथमिकता दिइएको र सोही अनुसार व्यावसायिक वातावरण बनाउँदै लगिएको बताए। उनले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवं विदेशी लगानीको संरक्षणमा सरकार सधैँ तत्पर रहेको बताए।
चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भएपनि दुई देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको उनले बताए। नेपालका कृषिजन्य उत्पादनहरूको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने उनको भनाइ थियो।
सीसीपीआइटीको मुख्यालय बेइजिङमा बुधबार आयोजित समिटलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य उपमन्त्री लिङ जीले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए। साथै नेपालमा चिनियाँ लगानी बढिरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने उनले बताए।
चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार रहेको बताउँदै उपमन्त्री जीले चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारवहन सहजीकरण गरिने बताए। चीनले यही डिसेम्बरबाट अतिकम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाले नेपाल लाभान्वित हुने उनले बताए।
उनले नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न चीन तयार रहेको बताए। यसैगरी, उनले नेपालबाट बढीभन्दा बढी वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्नुपर्ने भनाइ राखे।
उहाँले नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न चीन तयार रहेको बताउनुभयो। यसैगरी, उहाँले नेपालबाट बढिभन्दा बढि वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्नुपर्ने बताउनुभयो।
यो समिटको दोस्रो संस्करण हो। महासंघ र सीसीपीआइटीले २०२३ सेप्टेम्बरमा पनि यस्तै सम्मेलन आयोजना गरेको थियो।
समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले यो एक वर्षको अवधिमा व्यावसायिक वातावरण बनाउन भएको पहलबारे जानकारी गराए।
‘महासंघको आग्रहमा सरकारले लगानीसम्बन्धी आठवटा कानुन संशोधन गरेको छ,’ सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भने, ‘यसैगरी, द्विपक्षीय लागनी सम्झौताको खाका पनि तयार भएको छ।’
यसैगरी, पहिलोपटक नेपालको क्रेडिट रेटिङ भएको र उक्त रेटिङ दक्षिण एसियामा भारत पछि सबैभन्दा राम्रो आएको जानकारी पनि गराए। यसले लगानीकर्ताहरू ढुक्क भएर लगानी गर्ने वातावरण तयार भएको उनले सुनाए।
साथै उनले सीमा क्षेत्रको पूर्वाधार लगायतको स्तरोन्नति एवं भैरहवा र पोखरा विमानस्थलमा चीनबाट सिधा उडानका लागि दुवै देशका सरकार र निजी क्षेत्रले सक्रियतापूर्वक पहल गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा महासंघ अध्यक्ष ढकालले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताए। पछिल्लो समय पर्यटन पूर्वाधारहरू केवलकार, थिम पार्क, रिसोर्ट लगायतमा विदेशी लगानीको बढी सम्भावना देखिएको उनले जानकारी दिए।
नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउँदै अध्यक्ष ढकालले नेपाललाई प्राथमिकतामा राख्न पनि चीन सरकारलाई आग्रह गरे।
लगानीको वातावरण थप सुधार गर्न महासंघको आग्रहमा सरकारले उच्चस्तरिय आर्थिक क्षेत्र सुधार आयोग गठन गरेको र त्यसको एक जना सदस्यका नाताले मुलकभित्र व्यावसायिक वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता पनि अध्यक्ष ढकालले जनाए। उनले महासंघमा रहेको एफडीआई सहायता कक्षले निरन्तर लगानीकर्तालाई सघाउने प्रतिबद्धता समेत जनाए।
सीसीपीआइटीका उपाध्यक्ष झाङ साओगाङले महासंघ पुरानो साझेदार संस्था रहेको बताउँदै समिट द्विपक्षीय व्यापार अभिवृद्धिमा महत्त्वपूर्ण हुने बताए। उनले सीसीपीआइटीले नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सहयोग गर्ने बताए।
उनले महासंघ र सीसीपीआइटीको सहकार्यमा आगामी दिनमा आर्थिक साझेदारीका विविध कार्यक्रम संचालन गरिने पनि जानकारी गराए।
लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीले नेपालमा लगानीको सम्भावनाबारे बताउँदै नेपालमा चिनियाँ लगानी भित्र्याउन बोर्डले सहजीकरण गर्ने बताए।
महासंघको वैदेशिक लगानी एवं अन्तर्राष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत्, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे उल्लेख गरे।
समिटमा १२० जना चिनियाँ व्यवसायीहरूको सहभागिता थियो। नेपालका तर्फबाट महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शकासहित करिब ५० जना उद्यमी व्यवसायीको समिटमा सहभागिता रह्यो।
समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीहरूको समेत सहभागिता थियो। उक्त समिटभन्दा पहिले बिजनेस टु बिजनेस बैठक पनि राखिएको थियो।
महासंघले पछिल्लो डेढ वर्षमा देशबाहिर आयोजना गरेको यो चौथो समिट हो। यसअघि बेइजिङ, नयाँ दिल्ली र दुबईमा महासंघका साझेदार संस्था सीसीपीआइटी, कन्फिडेरेसन अफ इन्डियन इण्डष्ट्रिज, दुबई चेम्बर्ससँगको सहकार्यमा सम्मेलन आयोजना गरिएको थियो।