विराटनगरलाई विशाल लक्ष्य, लुम्बनीले पहिलो खेलमै बनायो एनपीएलकै ठूलो स्कोर

बिजमाण्डू
२०८१ मंसिर १९ गते १४:५१ | Dec 4, 2024
विराटनगरलाई विशाल लक्ष्य, लुम्बनीले पहिलो खेलमै बनायो एनपीएलकै ठूलो स्कोर
प्रतिस्पर्धामा विराटनगर किंग्स र लुम्बिनी लायन्सका खेलाडी। तस्बिर; एनपीएल

काठमाडौं। लुम्बिनी लायन्सले विराटनगर किंग्ससामू विशाल लक्ष्य प्रस्तुत गरेको छ। नेपाली प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जारी दोस्रो खेलमा लुम्बिनी लायन्सले विराटनगरलाई १ सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको हो।

Tata
GBIME
NLIC

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरुवाती ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनाएको हो। यो जारी एनपीएलकै ठूलो स्कोर हो। यसअघिको उच्च स्कोर सुदूरपश्चिमको नाममा थियो। सुदूरपश्चिमले विराटनगरविरुद्ध नै १ सय ८२ रन बनाएको थियो।

विराटनगरले लुम्बिनीको चारवटा विकेट रनआउटबाट लिन सफल भयो।

लुम्बिनीले पहिलो विकेट ३.१ ओभरमा गुमाएको थियो। क्रिजमा रहेका दुई ओपनर अर्जुन साउद र आशुतोष घिरैयाबीच असमझदारी हुँदा १५ रन बनाएका घिरैया रनआउट हुन पुगे।

त्यस्तै साउद १७ रन बनाएर इस्मात आलमको बलमा ७.२ ओभरमा बोल्डआउट हुन पुगे।

तेस्रो विकेटका लागि कप्तान रोहितकुमार पौडेल र टम मुर्सबीच ६७ रनको साझेदारी भयो। १२.५ ओभरमा पौडेल २९ बलमा सर्वाधिक ४६ रन बनाउँदै ठूलो सट खेल्ने सुरमा बाउन्ड्री लाइनमा क्याचआउट भए।

त्यस्तै मुर्स ३० रन बनाएर १३.४ ओभरमा रनआउट हुन पुगे। त्यसपछि आएका सुन्दीप जोरा पनि १२ रन बनाएर रनआउट नै भए।

१८.२ ओभरमा सन्दीप लामिछानेले साद बिन जफरलाई मार्टिन गुप्टिलबाट क्याचआउट गराए। जारी प्रतियोगितामा आफ्नो तेस्रो खेलमा पुगेर लामिछानेले पहिलो विकेट लिएका हुन्। त्यसैको दुई बलपछि बेन कटिङ पनि ६ रन बनाएर रनआउट भए।

त्यसपछि आएका फिनिसर विकेट यादवले विस्फोटक इनिङ खेले। उनले ७ बलमा तीन छक्का प्रहार गर्दै १९ रन बनाएर अविजित रहे। त्यस्तै रेमन सिमोन्ड्स २ रनमा अविजित रहे।

विराटनगरका सन्दीप लामिछाने, इस्मात आलम र राजेश पुलामीले समान १ विकेट लिए। विराटनगर केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।