काठमाडौं। २०७२ वैशाख १२ को भूकम्पले तहसनस भएर ‘स्लोडाउन’ भएको तातोपानी नाकाले फेरि लय लिन थालेको छ। चीनबाट ठूला कन्टेनरमा हुने आयात बढेको छ। दैनिक ६० वटासम्म कन्टेनरले सामान ल्याइरहेका छन्। दैनिक २५ देखि ६० वटासम्म नयाँ गाडी आयात भइरहेको छ।
भूकम्पको ४ वर्षपछि २०७६ जेठबाट संचालनमा आएको नाकाले लय लिन थाले पनि आवश्यक पूर्वाधारमा सरकारले ध्यान दिएको छैन।
भूकम्पपछि तातोपानी क्षेत्रमा न वस्ती बस्न सकेको छ, न त अन्य संरचना नै पुनर्निर्माण गरिएको छ। केही होटल मात्र संचालनमा छन्। भूकम्पले भत्किएका निजी आवास लगायत संरचना अझै हटाइएको छैन। सडक उस्तै कष्टपूर्ण खालको छ।
भूकम्पले क्षति पुर्याएको नेपालतर्फ मात्र होइन, चीनतर्फ पनि ठूला संरचना ध्वस्त भएका थिए। क्षतिपछि तातोपानी नाकालाई बेवास्ता गरेको चीन अहिले ‘यूटर्न’ भएको छ।
उसले तातोपानीलाई नै नेपालसँगको व्यापारको मुख्य व्यापारिक नाकाका रुपमा विकास गर्न धमाधम काम गरिरहेको छ।
तर, नेपालतर्फको अवस्था ठिक उल्टो छ। सडक पूर्वाधारको स्तरोन्नतिमा ध्यानै छैन। हिमपाइप राखेर सडक कामचलाउ बनाइएको छ। वर्षाले जुनसुकै बेला ओहोरदोहोर बन्द हुन सक्ने जान्दा जान्दै पनि सरकार चीनको मुख ताकेर बसेको छ।
खासालाई सहरको रुपमा विकास गरिंदै
चीनले खासालाई सहरको रुपमा विकास गरिरहेको छ। त्यहाँ पूर्वाधार निर्माणलाई चीनले प्राथमिकतामा राखेको छ।
‘भूकम्पले तातोपानी नाका बन्द भएपछि खासा पनि सुकेको थियो। चीनले खासालाई महत्त्व दिएको थिएन। तर अहिले खासालाई सहरका रुपमा विकास गर्ने काम भइरहेको छ। त्यहाँ धमाधम नयाँ संरचना बनिरहेका छन्,’ तातोपानीका एक स्थानीयले भने, ‘तीन वर्षमा सहर बनाइसक्ने कुरा छ। सडक हामीकहाँभन्दा खासापट्टि धेरै गुणा राम्रो छ।’
तातोपानीबाट खासा १४ किलोमिटर टाढा पर्छ। खासालाई सहरको रुपमा विकास गर्ने योजना अनुसार चीनले आधाउधी काम गरिसकेको छ।
तातोपानी नाका बन्द हुनुअघिसम्म खासा निक्कै गुल्जार थियो। चीनसँग हुने व्यापारको मुख्य नाका तातोपानी भएकाले नेपाली व्यापारीका कारण खासाका व्यापारीलाई भ्याइनभ्याइ हुन्थ्यो। अब पहिलेभन्दा गुल्जार हुने गरी पूर्वाधार निर्माणको काम चीनले गरिरहेको छ।
‘मितेरी पुलबाट अगाडि बढेपछिको भूभाग रमितेलाई खासासँग जोड्न लामो पुल बनाउने काम भइरहेको छ। सहर मुनिबाट सामान निर्यात गर्ने गरी सडक बनाइरहेका छन्। पूर्वाधार निर्माणलाई हेर्दा चीनले रसुवा नाकाभन्दा तातोपानीलाई नै प्राथमिकता दिन लागेको प्रष्ट हुन्छ,’ तातोपानीका अर्का स्थानीयले भने, ‘तर हाम्रोतिर बाढीले बिगारेको सडक कामचलाउ खालको बनाउने बाहेक केही भएको छैन।’