काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशिक कार्यालय बुटवल र शाखा कार्यालय बुटवल खस्यौलीको नवनिर्मित भवनको उद्घाटन गरेका छन्।
भवनको शनिबार उद्घाटन गर्दै अर्थ मन्त्री पौडेलले राष्ट्रिय वाणिज्य बैंकलाई एक नम्बर बैंक बनाउनेगरी काम गर्नुपर्ने बताएका छन्।
उनले बदलिँदो समयसँगै सबै कुराहरूलाई रुपान्तरण गरी अग्रणी बैंक बनाउनुपर्नेमा जोड दिए। उनले सरकारको पूर्ण स्वामित्वमा रहेको वाणिज्य बैंकले प्रवाह गर्ने सेवा र दिने सुविधाहरूलाई समय सापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुस गर्नेगरी काम गर्न बैंक व्यवस्थापनलाई अनुरोध गरे।
सेवा विस्तारमा सक्रियताका साथ लागेको राष्ट्रिय वाणिज्य बैंकले सेवा सुधारका विषयमा पनि आफूलाई केन्द्रित गरेर सेवाग्राहीको बढी रुचाइएको बैंक बनाउन उनले आग्रह गरे।
कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष दिलीप कुमार ढुंगानाले नेपालको माटो सुहाउँदो सेवा र सुविधाहरू प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको बताए। उनले कृषि, ऊर्जा, व्यापार, शिक्षा, स्वास्थ्य, उद्यम व्यवसाय, निर्माण, नवीकरणीय ऊर्जा लगायतका विषयगत क्षेत्र तय गरी लगानी गरिरहेको बताए।
सहज, छिटो छरितो र सेवाग्राही केन्द्रित सेवा प्रवाहमा आफूहरू सदैव सजग रहेको स्मरण गराउँदै उनले अगामी दिनमा बैंकका हरेक गतिविधिलाई सूचना प्रविधिसँग जोड्दै लैजाने दाबी गरे।
यसैगरी, कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले बैंकले उत्पादनलाई जोड दिँदै कृषि, पर्यटन, उर्जा, साना उद्यम एवम् पूर्वाधार क्षेत्रमा लगानी बढाएको बताए। उनले वित्तीय साक्षरता, समाजिक समुदायिक कार्यलाई जोड दिँदै नागरिकसँग वाणिज्य बैंकको सम्बन्ध थप सुमधुर बनाउन काम गरिरहेको बताए।
प्रतिस्पर्धी बजारको माग अनुसार बैंकले सेवा र सुविधाहरूलाई समयसापेक्ष बनाउनुपर्ने आवश्यकतालाई महसुस गरी बैंकले आफ्नो कामलाई परिमार्जित रुपमा अगाडि बढाएको उनको भनाइ थियो। साझा प्रतिबद्धताले मात्र समृद्धि सम्भव रहेको स्मरण गराउँदै प्रमुख कार्यकारी अधिकृत खनालले देशको अर्थतन्त्रमा देखिएको असहज अवस्थाका बावजुद बैंकले आफ्ना सूचकहरूलाई व्यवस्थापन गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान दिइरहेको बताए।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरी प्रसाद अर्यालले हालको एकल अंकको ब्याजदरलाई स्थिर बनाउन आवश्यक रहेको बताए। कार्यक्रममा बुटवल उपमहानगर पालिकाको वडा नम्बर ४ का वडाध्यक्ष नरेश्वर पौडेलले आर्थिक अवस्थामा देखिएको चुनौतीहरू पार गर्न राष्ट्रिय वाणिज्य बैंकले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
त्यस्तै, कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले बैँकको सेवा प्रवाहमा सुधारको सुरुवात भइरहेकोप्रति खुसी व्यक्त गरे।