काठमाडौं। थाइल्यान्ड घुम्न चाहनेहरुका लागि हवाई भाडामा आकर्षक अफर ल्याइएको छ। भैरहवाबाट बैंककको भाडादर जम्मा १३ हजार रुपैयाँ कायम गरिएको छ।
थाइ एयर एसियाले उडान प्रवर्धनका लागि भन्दै सस्तो भाडादर लागू गरेको हो। यो कम्पनीले कात्तिक १८ गते बैंकक-भैरहवा उडान सुरु गरेको थियो।
‘थाइ एयर एसियाले यात्रुलाई आकर्षित गर्न सस्तो भाडादर लागू गरेको हो। यो भाडादरले दुवै देशका पर्यटकलाई घुम्नका लागि प्रोत्साहित गर्नेछ,’ कम्पनीका एक प्रतिनिधिले भने।
भैरहवाबाट बैंककको उडान दुरी ३ घण्टाको हो। राउण्ड ट्रिपका लागि सुरुवाती भाडादर २३ हजार रुपैयाँ छ।
थाइ एयर एसियाको जीएसए युनिभर्सल टुर्स एण्ड ट्राभल हो। कम्पनीले नेपालमा आउने थाइ पर्यटकका लागि विशेष प्याकेज बनाएको छ।
कम्पनीले थाइ पर्यटकलाई ३ दिन लुम्बिनी र ३ दिन पोखरा घुमाउने प्याकेज ल्याएको हो। कात्तिक २३ गते भैरहवामा अवतरण गरेका ७ जना थाइ पर्यटक यो प्याकेज अन्तर्गत अहिले पोखरामा छन्।
भैरहवा आइपुगेलगत्तै ती पर्यटकलाई रिजर्भ हायसमार्फत पोखरा पठाइएको थियो। प्याकेज अन्तर्गत बेड एण्ड ब्रेकफास्टसहित पोखराका तीन/चार तारे होटलमा बसाई, गाइडसहित सराङकोटमा प्याराग्लाइडिङ र अष्ट्रेलियन बेस क्याम्प भ्रमण गराउने, फेवाताल दृश्यावलोकन समावेश छन्।
३ दिन पोखरा बसाईपछि पर्यटकलाई ३ दिन लुम्बिनि भ्रमण गराउने तयारी छ। बुधबार लुम्बिनीमा विशेष पुजा आराधनापछि पर्यटक बिहिबार बैंकक फर्कनेछन्। प्याकेजको मूल्य प्रति पर्यटक ३००-३५० अमेरिकी डलर तोकिएको छ।