भारतलाई यू-१९ विश्वकप च्याम्पियन बनाएका उन्मुक्त चन्द एनपीएलमा, आईपीएलदेखि अमेरिका र लुम्बिनी

बिजमाण्डू
२०८१ कात्तिक २१ गते १४:१६ | Nov 6, 2024
भारतलाई यू-१९ विश्वकप च्याम्पियन बनाएका उन्मुक्त चन्द एनपीएलमा, आईपीएलदेखि अमेरिका र लुम्बिनी

काठमाडौं । भारतीलाई सन् २०१२ को यू–१९ विश्वकप च्याम्पियन बनाएका उन्मुक्त चन्दले नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्।

Tata
GBIME
NLIC

भारतीय क्रिकेट छाडेर हाल अमेरिकामा करियर अघि बढाइरहेका ३१ वर्षे चन्दलाई लुम्बिनी लायन्सले अनुबन्धित गरेको हो। उमेर समूह बाहेक इण्डिया ‘ए’ बाट पनि उनले खेलिसकेका छन्।

चन्दले दिल्ली डेयरडेभिल्स, राजस्थान रोयल्स र मुम्बई इन्डियन्स जस्ता ठूला फ्रेन्चाइजहरूका लागि इण्डियन प्रिमियर लिग (आईपीएल)मा खेलिसकेका छन्। हाल अमेरिकाको मेजर लिग क्रिकेटमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। चन्दको लुम्बिनी लायन्समा आगमनले टोलीलाई उल्लेखनीय रूपमा बलियो बनाउने विश्वास छ।

‘नेपाल प्रिमियर लिगको यस पहिलो सिजनमा लुम्बिनी लायन्सको खेलाडीको रुपमा म मैदानमा उत्रिन आतुर छु। विश्वका विभिन्न क्षेत्रहरूमा क्रिकेट खेलप्रतिको माया बढेको देख्न पाउँदा म निकै खुसी छु,’ चन्दले एनपीएलमा अनुबन्धनबारे भनेका छन्, ‘मैले अहिलेसम्म प्राप्त गरेको क्रिकेट खेलको अनुभवलाई आत्मसात् गरी म मेरो टिमलाई भरपूर योगदान दिन चाहन्छु।’

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले आफ्नो उत्साहीत भएको बताए।

‘उन्मुक्तजस्तो अनुभवी खेलाडीलाई टिममा स्वागत गर्न पाउँदा हामी निकै खुसी छौं। उनले विश्वभर प्राप्त गरेको अनुभव र उपलब्धिहरूले हाम्रो टिमलाई बलियो बनाउने मात्र नभई यस लिगको स्तरलाई पनि माथि लैजानेमा हामी विश्वस्त छौं,’ जिसीले भने।

उन्मुक्त चन्दले ६७ फस्ट क्लास खेलहरूमा ३३७९ रन बनाएका छन् जसमा उनको औसत ३१.५७ रहेको छ। उक्त खेलहरुमा उनको ८ शतक पनि समावेश रहेका छन्। साथै लिस्ट ए क्रिकेटमा उनले ४५०५ रन बनाएका छन् जसमा ४१.३३ को औसतका साथ ७ शतक समेत समावेश छन्। टी–२० मा पनि उनको कीर्तिमान प्रभावशाली छ जहाँ उनले ८४ खेलमा १५६५ रन बनाएका छन् भने उनको ११६.०९ को उत्कृष्ट स्ट्राइक रेट रहेको छ।

लुम्बिनीका कन्सल्टेन्स कोचमा शक्ति गौचन र हेडकोचमा नन्दन फडनिस छन्।

नेपाल प्रिमियर लिग २०२४ आगामी मंसिर १५ देखि सुरु भई पौष ६ सम्म चल्नेछ जसमा ८ वटा फ्रेन्चाइज टिमहरू प्रतिस्पर्धा गर्नेछन्।

टिम लुम्बिनी लायन्स

रोहितकुमार पौडेल (मार्की खेलाडी), उन्मुक्त चन्द (अमेरिका), बेन कटिङ (अस्ट्रेलिया), टम मोर्स (इङ्ग्ल्याण्ड), आशुतोष घिरैया, सूर्य तामाङ, दिनेश अधिकारी, विवेक यादव, दुर्गेश गुप्ता, तिलकराज भण्डारी, अभिशेष गौतम, सुन्दीप जोरा, अर्जुन साउद, विकाश अघारी