वाइल्ड लाइफ टुरिजमका वसन्त दाइ, जसले विश्वभर चिनाए नेपालको जंगल (अविच्युरी)

बिजमाण्डू
२०८१ कात्तिक २० गते ०९:०८ | Nov 5, 2024
वाइल्ड लाइफ टुरिजमका वसन्त दाइ, जसले विश्वभर चिनाए नेपालको जंगल (अविच्युरी)
  • सुमन पाण्डे

‘भाइ मिलेसम्म डेस्टिनेसन फोरममा जानैपर्छ है।’

Tata
GBIME
NLIC

नोभेम्बर १२ मा थाइल्यान्डमा प्यासेफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को डेस्टिनेसन फोरम नजिकिँदैछ। तर, लाइफ मेम्बरका हिसाबले डेस्टिनेसन फोरममा सहभागी हुने इच्छा अपूरो बनाएर वसन्त मिश्र चीर निन्द्रामा विलीन हुनुभयो। नेपालको पर्यटन उद्योगको पहिलो पुस्ताका सीमित लिडरमध्येका एक मिश्रको अप्रत्यासित निधनले हाम्रो यात्रा अपूरोमात्र बनाएन, नेपाली पर्यटन उद्योगले एउटा बलियो अभियन्ता गुमाएको छ।

पैसाकै पछिल्तिर दगुर्नुहुन्थ्यो भने वसन्त मिश्रसँग यतिखेर चार/पाँच वटा बैंकका सबैभन्दा धेरै सेयर होल्ड हुन्थ्यो। रियल स्टेटमा पनि उत्तिकै दमदार उपस्थिति रहन्थ्यो। पाँच/सात वटा हाइड्रो उहाँकै नेतृत्वमा रहन्थ्यो। तर, उहाँको जीवन सधैं बुटिक स्टाइलमा चल्यो। उहाँले ‘जंगल लाइफ’लाई अंगाल्नु भयो – मानौँ त्यो कुनै बुटिक होटल हो। व्यापार र कारोबारका अरु कुनै क्षेत्रतिर लाग्नु भएन। बलियो आर्थिक पृष्ठभूमिको भए पनि सधैं एउटै क्षेत्रमा सक्रिय रहनुभयो। जे जति काम जीवनमा गर्नुभयो ‘प्यासन बेस्ड’मात्रै।

सन् १९९० को दशकमा म पर्यटन क्षेत्रमा प्रवेश गर्दा वसन्त मिश्रको आकर्षक प्रस्तुति र ‘डाउन टु अर्थ’ व्यवहारले लोभ्याउँथ्यो। आज म उहाँकै बाटोमा छु भन्ने महसुस हुन्छ – एकै क्षेत्रमा एकोहोरो। पर्यटन उद्योगको पहिलो नेपाली पुस्ताका व्यावसायी भए पनि संगत राजादेखि सामान्य मानिससँग उत्तिकै ढंगमा चलिरहन्थ्यो। त्यसो त उहाँ पर्यटन क्षेत्रमा एउटा मियोजस्तै रहनुभयो सधैं। निजी क्षेत्रको प्रतिनिधित्व गरिरहँदा सरकारी पक्षको पनि संरक्षण गर्ने एक अभिभावक। 

मेरो एड्भेन्चर टुरिजम, उहाँको वाइल्ड लाइफ। पर्यटन क्षेत्रका यी फरक धारमा उभिएका हामी पाटाको नेपाल च्याप्टर हुँदै एक ठाउँमा पुग्यौं। एक दिन कुनै कामको सिलसिलामा कान्तिपथमा रहेको भेन्चर ट्राभल्सको अफिस पुगेको थिएँ। उहाँले त्यो अफिस छाड्दै हुनुहुँदो रहेछ। त्यो हामीले लियौं र हाम्रो औपचारिक चिनजान पनि त्यसले बाक्लो गरायो। सन् १९९० मा पाटा नेपालको अध्यक्ष हुनुहुन्थ्यो वसन्त दाइ। उहाँकै सक्रियतामा नेपालमा एड्भेन्चर ट्राभल मार्ट सुरु भएको थियो। पहिलो ‘एड्भेन्चर मार्ट एन्ड इको टुरिज्म’ एभरेस्ट होटलमा आयोजना भएको थियो। त्यसमा सहयोगीको भूमिकामा थिएँ। उहाँ नै पाटा नेपाल च्याप्टरको अध्यक्ष हुँदा दोस्रो ट्राभल मार्ट भयो, जसमा मेरो कम्पनी पनि सहभागी भयो।

नेपाललाई विश्व पर्यटनको क्षेत्रमा पहिचान दिलाउने उहाँको सक्रियता प्रेरणाको विषय बनिरह्यो। त्यसो त वसन्त दाइ पनि यस उद्योगमा जिम एडवार्डको टाइगर टप्सबाटै आउनु भएको हो। टाइगर टप्समा उहाँ सिनियर एक्जुकेटिभ भएर काम गर्नुभयो – नेपाली कर्मचारीतर्फको सबैभन्दा उच्च पद। यस उद्योगमा नेपालीको ‘सेल्फ इन्टरप्राइज’ हेर्ने हो भने उहाँ पहिलो पुस्ताको लगानीकर्ता हुनुहुन्छ टेकचन्द्र पोखरेल दाइहरु जस्तै।

टाइगर टप्सको प्रडक्ट भएकाले मात्र उहाँ जंगलतिर नजिकिनु भएको भने होइन। उहाँको परिवार नै पर्यावरणमा जोडिएको थियो। महेन्द्र प्रकृति संरक्षण कोषका हेमन्त मिश्र वाइल्ड लाइफमा चर्चित नाम। दरबार हत्याकाण्डभन्दा अगाडि ज्ञानेन्द्र शाहको नेतृत्वमा थियो कोष। संरक्षण र पर्यटन प्रवर्धन दुवैमा कोषको योगदान अतुलनीय थियो। हेमन्त वसन्तका दाजु। त्यसैले पर्यावरण उहाँको परिवारकै पर्यायवाची थियो।

वसन्त दाइ काठमाडौंका रैथाने। कुपण्डोलमा आफ्नै खेतमा फलेको चामल खान्छु भन्नुहुन्थ्यो हामीसँग। एक हिसाबले काठमाडौंको इलिट। त्यति हुँदाहुँदै पनि उहाँ ठमेलमा सानो सटरमा कारोबार गर्नेहरुसँग पनि उत्तिकै सुमधुर सम्बन्ध राख्‍नुहुन्थ्यो। टाइगर टप्सको जागिर छाडेपछि उहाँले टेम्पल टाइगर खोल्नुभएको हो। त्यतिखेर चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र ६/७ वटा लजहरु थिए। उहाँले सधैं हाइइन्ड पर्यटकलाई लक्षित गर्नुभयो। त्यसैले जंगल टुरिजम पहिलो प्राथमिकता रह्यो उहाँको।

उहाँले आफूलाई र आफ्नो व्यवसायमात्र हेर्नु भएन। तीन कार्यकाल पाटा नेपालको अध्यक्ष हुनुभयो। पछि टेकचन्द्र पोखरेल दाइले सुरु गर्नुभएको नाटोमा पनि उहाँले नेतृत्व दिनुभयो। पाटा इन्टरनेसनलमा उहाँको बलियो पहिचान छ। म पहिलो पटक सन् २०१३ मा पाटा इन्टरनेसलमा सहभागी हुँदा उहाँ त्यसको सेक्रेटरी कम ट्रेजरर हुनुहुन्थ्यो। यो पद निक्कै ठूलो रहेछ। पछि उहाँ पाटा इन्टरनेसनलको लाइफ मेम्बर हुनुभयो, जसलाई त्यहाँको सल्लाहकारजस्तो महत्त्वपूर्ण पद मानिन्छ। पदमात्र होइन, पाटाका हरेक कार्यक्रममा उहाँ सक्रिय हुनुहुन्थ्यो।

हामीले एउटा असंगठित समूह पनि बनाएका थियौं – टुरिजम स्टलवाट। पर्यटनका हरेक विषयमा हामी यो समूहमा छलफल गर्थ्यौं। हालै पर्यटन मन्त्रीसँग पनि बस्यौं यस क्षेत्रका विभिन्न विषयमा छलफल गर्‍यौं। वसन्त दाइ, योगेन्द्र शाक्य, प्रकाश श्रेष्ठ, भोला थापा, विजय अमात्य लगायतका साथीहरु यसमा छौं। यहाँ पनि उहाँ एकदमै सक्रिय।

वसन्त दाइसँग आफ्नो बिजनेस र परिवारबाहेक लेनदेन केही पनि थिएन। जे गर्नुभयो सधैं टुरिजममै गर्नुभयो। सधैं ‘प्यासनेट’ रहनुभयो आफ्नो काममा। हामीलाई आवश्यक पर्दा सधैं उपस्थित हुनुभयो। यस उद्योगमा पनि भाउ खोज्नेहरु धेरै छन् तर उहाँमा कहिल्यै त्यस्तो देखिएन। प्रतिबद्धता र विद्वता पनि लोभलाग्दो। आफ्नो स्वार्थभन्दा समग्र उद्योगको चासोलाई अगाडि सार्ने। इन्डस्ट्री राम्रो बनाउन सकियो भने त्यसको हिस्सा स्वभाविक हिसाबमा आइहाल्छ भन्ने खालको। धेरै बिजनेसम्यानमा ‘सेल्फ सेन्टर्ड ओपिनियन’ आउँछ – आफूलाई फाइदा होस् भनेर। उहाँ भने सरकारी पदाधिकारीको भूमिका र नियम कानुनका विषयलाई लिएर राज्य पक्षकै प्रोटेक्टमा पनि उभिने। कुनै पनि विषयमा ‘वीन वीन’ सोलुसनमा लैजाने खुबी थियो उहाँमा।

सन् २०१४ मा पाटाको बैठकमा वसन्त मिश्र सहभागी हुँदाको फाइल फोटो ।

उहाँ लागेपछि सबै सुल्ट्याउने खुबी राख्‍नुहुन्थ्यो सबैलाई फाइदा हुनेगरी। पछिल्लो समय उहाँ चितवन राष्ट्रिय निकुञ्जभित्रका लजलाई फेरि ब्युँताउनुपर्ने सोचका साथ अगाडि बढ्दै हुनुहुन्थ्यो। किनकि नेपालको पर्यटनलाई चितवनले गोल्डन ट्र्याङ्गलजस्तै बनाएको थियो। वाइल्ड लाइफको एउटा फरक पहिचान, जुन लगातार मेटिँदै गएको छ त्यसलाई पुन: जाग्रित गराउने चाहना थियो उहाँमा।

नेपालको वाइल्ड लाइफ टुरिजममा टाइगर टप्स, चितवन जनरल लज, मचान वाइल्ड लाइफ, गैंडा वाइडलाइफ क्याम्प, टेम्पल टाइगर लगायतकै योगदान थियो। यी सबै लज निकुञ्जभित्र भाडा तिरेर चलेका थिए। टाइगर टप्सले थालेको यो शैलीकै कारण नेपालमा वाइल्ड लाइफ टुरिजम चर्चित बन्यो। इन्टरनेसनल वाइल्डलाइफ टुरिजममा नेपालको पहिचान उँचो भयो। त्यसपछि त हो सौराहामा निकुञ्ज बाहिर साना हुँदै ठूला लज र होटल बन्न थालेको। नेपालको पर्यटनमा सौराहाले एउटा गजबको मोमेन्ट सिर्जना गर्‍यो।

तर, २०६३ सालपछि परिस्थिति फेरिन थाल्यो। हस्पिटालिटी क्षेत्रमा युनियन हावी हुन थाले। स्ट्याब्लिसमेन्टलाई असफल बनाउँदै लोकरिझ्याइँ गर्ने क्रम बढ्यो। निकुञ्ज बाहिरका व्यवसायीले भित्रका लजविरुद्ध अभियान चलाउन थाले। त्यसमा विभिन्न राजनीतिक दलका मजदुर संगठनहरु परिचालित भए। लगानीकर्तालाई सामन्ती र माफियाका रुपमा चिनाउन थालियो। यही द्वन्द्वमा निकुञ्जभित्रका लज बन्द भए। त्यसपछि गुम्दै गयो – वाइड लाइफ टुरिजमको पुरानो पहिचान।

सौराहामा दोहोरी र डिस्को भित्रिए – विदेशी पर्यटकको रुचि पहिलेजस्तै रहन छाड्यो। सन् २००९ तिर वसन्त दाइ वाइल्ड लाइफ टुरिजम जसरी पनि जोगाउन भनेर सक्रिय हुनुभयो। तत्कालिन वनमन्त्री दीपक बोहरासँग पटकपटक भेटेर निकुञ्जभित्र लज चलाउनका लागि मेहनत गर्नुभयो। 

आज वाइल्ड लाइफ टुरिजमको चार्ममात्र हटेन, सौराहाकै पर्यटन धरासायी बन्दै गएको छ। त्यतिखेर गरेको गल्तीलाई त्यहाँको कम्युनिटीले अहिले आएर महसुस गरेको छ। निकुञ्ज भित्रका लज बन्द भएपछि एउटा क्लासका पर्यटकको आगमन टुटेको छ। त्यसको फाइदा निकुञ्ज बाहिरका होटल लजले गुमाएका छन्। वसन्त दाइ फेरि लाग्नुभएको थियो, भित्र लज फर्काउने सकिन्छ कि भनेर। सबैजसो लजले भित्र रहेका ‘एसेट’ यथावत राखेका छन् अहिले पनि। वसन्त दाइमा तिनलाई फेरि जीवन्त गराउने चाहना थियो। फेरि वाइल्ड लाइफ टुरिजमको पुरानो पहिचान फर्काउन चाहनु हुन्थ्यो।

नेपाली पर्यटनमा उहाँको योगदानलाई साच्चै मूल्यांकन गर्ने हो भने र चितवनको पर्यटनलाई फेरि पहिले झैँ बनाउने हो भने वाइल्ड लाइफको पुरानो साख फर्काउनु पर्छ। त्यो नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।