काठमाडौं । कुनै समय आयातितबाट चलिरहेको लुब्रिकेन्ट्स बजारमा पछिल्लो समय स्वदेशी उत्पादनको हिस्सा बढ्दै छ। अहिले बजारमा नेपालमा उत्पादित लुब्रिकेन्ट्सको हिस्सा ३२ प्रतिशतमा पुगेको छ। जुन ८ वर्षको अन्तरालमा खोलिएका नयाँ लुब्रिकेन्ट्स उद्योगहरुको संख्या बढ्ने क्रमले गर्दा भएको हो।
बेस आयल आर्थिक वर्ष २०८०/८१ मा १० हजार २५२ किलोलिटर आयात भएको छ। जुन २०७३/७४ मा ५ हजार ३८८ किलोलिटर आयत हुने गरेको थियो। बेस आयल भनेको नेपालमा लुब्रिकेन्ट्स उत्पादन गर्ने कम्पनीहरुले ल्याउने कच्चा पदार्थ हो। जसको आयात ८ वर्षको अन्तरालमा ४८ प्रतिशतले हिस्सा बढेको छ।
नेपालमा अहिलेसम्म लगभग १३ भन्दा बढी लुब्रिकेन्ट्सको प्लान्टहरु निर्माण भइसकेका छन्। केही उद्योगले मल्टिपल ब्रान्डको लुब्रिकेन्ट्स ब्लेन्डिङ गर्ने गरेका छन्। जसले गर्दा प्लान्ट लगाउने लागत बचत हुन्छ। यसैगरी भर्खरै बेलायतको मल्टिनेशनल ब्रान्ड भिडोलले पनि नेपालमा उत्पादन थालेको छ।
सुरुमा सरकारी स्वामित्वमा रहेको नेपाल ल्युबले गल्फ लुब्रिकेन्ट्स उत्पादन थालेको थियो। त्यसपछि कन्ट्रोल र पीएलओ लुब्रिकेन्ट्स उत्पादन हुन थालेको थियो। यस्तै नेपाल गोल्ड, स्मार्ट जस्ताले प्लान्ट बनाएर संचालन गरिरहेका छन्। यसैगरी सर्भो र एचपी लुब्रिकेन्ट्सले पनि नेपालमा प्लान्ट बनाइरहेका छन्। यसरी प्लान्ट लगाउने टर्निङ पोइन्ट कन्ट्रोल र पीएलओले गरेका व्यवसायीहरु बताउँछन्।
लामो समयदेखि यही फिल्डमा काम गरिरहेका युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजका डाइरेक्टर दीपेन्द्रकुमार मिश्रका अनुसार नेपालमा उत्पादितको हिस्सा बढ्नु भनेको लुब्रिकेन्ट्स उद्योगमा लगानी बढ्नु हो। ‘हामीले बजारमा स्थापित हुन केही मेहनत गर्नु परेको छ। केही मात्रामा मूल्य कम भएका कारण बिक्री भएका छन् भने केही ब्रान्डहरुले यही प्लान्ट लगाउन दबाब दिइहेका छन्,’ उनले भने, ‘यहाँ लुब्रिकेन्ट्स उत्पादन हुँदा हामीले हाम्रो मार्केटले मागे र खोजे जसरी प्याकेजिङ गरेर बिक्री गर्न पाउँछौं।’
उनी उदाहरणसहित प्रष्ट्याउँछन्- कुनै आयात गरिरहेको १० लिटरको प्याकेजिङ सकियो रे। फेरि त्यही १० लिटरको लागि एक टर्क सामान मगाउनै पर्यो। तर, बजारमा त्यसरी डिमान्ड हुँदैन र हामीले मगाएको उक्त सामान महिनौं स्टकमा बस्ने हुन्छ। तर यहीँ उत्पादन गर्न बजारमा भएको मागअनुसार लुब्रिकेन्ट ब्लेन्डिङ गरेर पठाउन सक्छौं।
यस्तै अर्को भनेको यही उद्योग हुँदा एउटा कच्चा पदार्थबाट ४ थरीका आयलहरु बन्छन्। जसले गर्दा एउटै मात्र कच्चा पदार्थ मगाए पुग्छ। त्यसमा केमिकल रियाक्सन गर्ने हो र ब्लेन्डिङको प्रोसेस हुन्छ। तर उद्योग नभएर तयारी आयात गर्दा चार थरीकै आयल छुट्टाछुट्टै कन्टेनरमा मगाउनुपर्ने बाध्यता हुन्छ। जसले गर्दा लागत पनि बढ्न जान्छ र स्कटमा सामान बस्दा मूल्यमा पनि असर गर्छ। यसले गर्दा पनि अहिले लुब्रिकेन्ट्सको उद्योगमा लगानी बढिरहेको उनी बताउँछन्।
नेपाल ल्युब आयलका उपमहाप्रबन्धक दिवाकर मिश्रका अनुसार टोल ब्रान्डिङले पनि यसलाई बढावा दिएको बताउँछन्। टोल ब्रान्डिङ भन्नाले कुनै पनि संचालनमा आइरहेको प्लान्ट नयाँ ब्रान्डको लुब्रिकेन्ट्स उत्पादन गर्नु हो। यसो गर्दा प्लान्ट लगाउने कस्टिङ बच्ने र यहीको स्थानीय बजारको माग अनुसार सामान वितरण र उत्पादन गर्न सहज हुने भएकाले अन्तर्राष्ट्रिय ब्रान्ड पनि यहीँको प्लान्टमा लगानी गर्न इच्छुक देखिएका उनले बताए।
‘अहिले यही ट्रेन्ड चलिरहेको छ। जसले गर्दा यही प्लान्ट लगाएर लुब्रिकेन्ट्स उत्पादन गर्नेको जमात ठूलो देखिन्छ,’ उनले भने, ‘तर, हामीसँग त्यस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरुको मापदण्ड र गुणस्तर कायम गर्ने खालको उत्पादन गर्न सक्ने प्लान्ट मात्रै भए हुन्छ।’
कच्चा पदार्थ र तयारीमा भन्सार दर २०% सम्म फरक, उद्योग संचालनमा टेवा
आयातित लुब्रिकेन्ट्समा २८ देखि ३५ प्रतिशत मात्रै भन्सार शुल्क लाग्ने गरेको छ। तर, नेपालमा उत्पादित लुब्रिकेन्ट्सका लागि आवश्यक कच्चा पदार्थ बेस आयल आयात गर्दा १५ प्रतिशत भन्सार शुल्क लाग्ने गरेको छ। कच्चा पदार्थ ल्याउदा र तयारी ल्याउदामा २० प्रतिशतसम्मको मार्जिन छ। त्यही मार्जिनका कारण मात्रै यस्ता उद्योगहरु अहिले दिगो हुन पाइरहेका छन्।
यसरी यही प्लान्ट राख्दा १० देखि १५ प्रतिशतसम्म मूल्य सस्तो हुने व्यवसायीहरु बताउँछन्। जस्तै एउटा साधारण बाइकमा हाल्ने कुनै मोबिलको आयात गर्दा ७५० रुपैयाँ पर्छ भने यही उत्पादन हुँदा ६४० देखि ६५० सम्म पर्न जान्छ। त्यसैले नेपाली कम्पनी र यही प्लान्ट लगाएका अन्य अन्तर्राष्ट्रिय कम्पनीहरु पनि अहिले प्राय सबै फाइदामा गइरहेका छन्। नेपाल ल्युब जस्ता कम्पनीहरु फाइदामा छन्।
सरकारले यस्ता उद्योगलाई अझै प्रोत्साहन गर्न यसलाई ५ प्रतिशतमा ल्याउनुपर्ने व्यवसायीहरु बताउँछन्। त्यसो गरेमा अझै नेपालमा उत्पादिन लुब्रिकेन्ट्सको हिस्सा बढ्ने मिश्र बताउँँछन्। यसले अवैध रुपमा हुने आयातमा पनि कमि आउने उनको भनाइ छ। अवैध रुपमा कारोबार गर्ने बजारबाट पनि सरकारले राजस्व गुमाइरहेको उनले बताए।
यस्तै सरकारले नेपालमा भएका उद्योगहरुले प्रयोग गर्ने प्याकिङ मेटेरियल्समा पनि अन्त:शुल्क लगाइदिएको उनले बताए। यसले लुब्रिकेन्ट्सको मूल्य अझै बढेको छ। उद्योगका लागि आवश्यक प्याकिङको सामग्रीमा अन्त शुल्क नलगाउने हो भने पनि नेपालमा उत्पादित लुब्रिकेन्ट्सको मूल्य अझै घट्ने थियो। जसले बजार हिस्सा बढाउन मद्दत गर्छ।
अहिले सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएपछि लुब्रिकेन्टको बजार खस्किनेमा व्यवसायी चिन्तित पनि छन्। तर पुराना र भएका सवारी पनि कम्तीमा २० वर्ष चल्ने भएकाले अझै केही दशक लुब्रिकेन्टको विकल्प नभएको व्यवसायीको दाबी छ। यस्तै व्यवसायीले इभीमा लाग्ने आयलहरु पनि उत्पादन गर्ने गरी भइरहेको प्लान्टलाई अपग्रेड गर्दै लैजाने गरी योजना बनाएका छन्।
यस्तो छ बजार हिस्सा
यसैगरी लुब्रिकेटिङ आयल खासै बढेको देखिदैन। २०७३/७४ मा १५ हजार ४४८ किलोलिटर आयात हुँदै आइरहेको लुब्रिकेटिङ आयल २०८०/८१ मा आइपुग्दा १८ हजार २७१ किलोलिटर मात्रै आयात हुने गरेको देखिन्छ। यो भनेको १८ प्रतिशतले मात्रै वृद्धि भएको छ।
तयारी लुब्रिकेन्ट्सको बजार हिस्सा २०७७/७८ मा पिकमा पुगेको थियो। उक्त समयमा २५ हजार ४६३ किलोलिटर तयारी लुब्रिकेन्ट्स आयात भएको थियो। तर उक्त संख्या पछि २०८०/८१ मा आइपुग्दा घटेर १८ हजार किलोलिटरमा खुम्चिएको छ।
यसैगरी रबर प्रोसेसिङ आयलको पनि हिस्सा बढेको देखिन्छ। जसमा २०७३/७४ मा ४२ किलोलिटर आयात हुने गरेकोमा अहिले २०८०/८१ मा १७५ किलोलिटर आयात हुने गरेको छ। स्पाइन्डल आयलको आयात पनि बढेको छ। जसमा २०७३/७४ मा ५५ किलोलिटर आयात भइरहेकोमा २०८०/८१ मा ४६८ किलोलिटर आयात भएको छ।
यस्तै ट्रान्सफर्मरमा हाल्ने ट्रान्सफर्मर आयलको हिस्सा पनि बढ्दै गइरहेको छ। जसमा २०७३/७४ मा ८३३ किलोलिटर आयात भएकोमा २०८०/८१ मा आइपुग्दा २ हजार ७३९ किलोलिटर आयात भएको छ। ट्रान्सफर्मर आयलको हिस्सा ९ प्रतिशत छ।
जेन्युइन आयल आयात हुने गरेको छ। जसमा जेन्युइन आयलको हिस्सा अहिले १३ प्रतिशतसम्म छ।
यस्तै गियर र ट्रान्मिसन आयल ४ प्रतिशत छ। हाइड्रोलिक आयलको हिस्सा पनि ४ प्रतिशत छ। यस्तै नेपालमा औद्योगिक प्रयोगका लागि आयात हुने आयलको हिस्सा पनि ४ प्रतिशत छ। यस्तै ग्रिज ३ प्रतिशतको छ। एफईएमओ २ प्रतिशत, पीसीएमओ १ प्रतिशत, आरपीओ १ प्रतिशत, ३ ह्वीलर, कुलेन्ट र ब्रेक आयल शून्य प्रतिशतमा छन्। यसैगरी २ ह्वीलर बजारमा पनि १७ प्रतिशतको हिस्सा छ।