चौबिस वर्षीय अश्विनी गोल्छा भन्छिन् : अब सम्पूर्ण जीवन उद्योग-व्यापारमै लगाउने संकल्प गरेकी छु

अनन्तराज न्यौपाने
२०८१ कात्तिक १६ गते १०:०५ | Nov 1, 2024
चौबिस वर्षीय अश्विनी गोल्छा भन्छिन् : अब सम्पूर्ण जीवन उद्योग-व्यापारमै लगाउने संकल्प गरेकी छु

विराटनगर । बेलायतको लेइस्टर विश्वविद्यालयबाट २०२० को जुलाईमा स्नातक सकिएपछि २० वर्षकी अश्विनी गोल्छालाई कूटनीति र परराष्ट्र सेवामा संलग्न हुने इच्छा थियो। सहपाठी साथीहरू पनि कूटनीतिक सेवातिरै आकर्षित भइरहेका थिए ।

Tata
GBIME
NLIC

अश्विनीले इतिहास र अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गरेकी थिइन्। तर, उनको पारिवारिक संस्कार र परम्परा सरकारी सेवा थिएन। देशको पायनियर र प्रतिष्ठित औद्योगिक घराना गोल्छा अर्गनाइजेसनकी छोरी उनलाई उनका मातापिता एक सफल उद्योगीका रूपमा स्थापित भएको हेर्न चाहन्थे।

अश्विनीले भनिन्, ‘गोल्छा परिवारको पछिल्लो समायोजनपछि बुबा राजकुमारले आरके गोल्छा ग्रुपको नेतृत्व गरिरहनु भएको थियो। उहाँलाई म भन्दा माथिका दुई दिदी एकता र कोमलले सघाइरहनु भएको थियो। उहाँको इच्छा कान्छी छोरी पनि उद्योग–व्यापारमै संलग्न रहोस् भन्ने थियो।’

सामान्यतया मारवाडी समुदायका व्यवसायीहरू छोराछोरीले अध्ययन पूरा गरेपछि उनीहरूलाई खाली बस्न दिँदैनन्। व्यवसाय सिकाउन थालिहाल्छन्।

अश्विनी २०२० को जुलाइमा पास आउट भइसकेकी थिइन्। उनलाई बुबा राजकुमारले मात्र एक महिना ‘रेस्ट’ गर्न दिए र अगस्तदेखि काममा लगाए।

राजकुमारले छोरी अश्विनीलाई दुईवटा मुख्य जिम्मेवारी दिएका छन्। ग्रुप अन्तर्गतका उद्योग-व्यापारको संचालन (अपरेसन), कच्चा सामग्री तथा व्यापारिक वस्तुको खरिद र आयात। अर्थात् अपरेसन र पर्चेजिङका काम उनका भागमा परे।

आरके गोल्छा ग्रुपअन्तर्गत अरिहन्त मल्टिफाइबर र रघुपति जुट मिल गरि दुई ठुला जुट उद्योग छन्। अरिहन्त पोलिप्याक नामको उद्योगमा प्लास्टिकका त्रिपाल, बोरा आदि उत्पादन गरिन्छ। यसबाहेक बल्ब, स्विच, ट्रान्सफरमर लगायतका इलेक्ट्रिकल सामग्री र ट्रयाक्टरजस्ता वस्तुको आयात व्यापार पनि।

‘सानै उमेरमा व्यवसाय सम्हाल्न थालेपछि आत्मविश्वास सुदृढ हुँदो रहेछ । उसले पक्रने बाटो पनि सधैँ असल हुन्छ। कामप्रतिको दायित्वबोध बढ्दै जान्छ। त्यसैले हाम्रो समुदायमा अध्ययन सकिनेबित्तिकै काममा लागिहाल्नुपर्छ,’ अश्विनीको भनाइ छ।

अरिहन्त मल्टिफाइबर र रघुपति गरि दुईवटा जुट उद्योगलाई दिनमा १२० टन कच्चा जुट आवश्यक पर्छ। यसको खरिद भारतको विहार र पश्चिम बंगाल राज्यका व्यवसायीसित हुन्छ। त्यस्तै, पोलिप्याक उद्योगमा प्लास्टिक दाना, रङ लगायतका कच्चा र सहायक कच्चा पदार्थको ठुलो परिमाण चाहिन्छ। कहिले भारत र कहिले समुद्रपारका मुलुकबाट आयात गर्नुपर्छ।

पहिले त म आत्तिएकी थिएँ अब भने कुनै पनि उद्योग–व्यापार चलाउन सक्छु भन्ने आत्मविश्वासमा छु। अब मैले मेरो सम्पूर्ण जीवन उद्योग–व्यापारमै लगाउने संकल्प गरिसकेकी छु

अश्विनी गोल्छा

अश्विनी सबै खरिद र आयातमा आफैँ संलग्न हुन्छिन् । अनि उद्योग सञ्चालनको अवस्था के छ भनेर बुझ्न आफैँ कारखाना पुग्छिन्। हप्तामा कम्तीमा ३ दिन उनले उद्योगको भिजिट गरेकै हुन्छिन्। उत्पादन–प्रक्रिया घुमिघुमी सबैतिरबाट हेर्छिन्। आवश्यक कुरामा उद्योगका सिइओसँग सल्लाह गर्छिन् ।

पर्चेजिङमा उनलाई कम्पनीका इन्चार्ज सत्यनारायण सदानीले सघाइरहेका छन् ।

‘कच्चा जुटको खरिदमा धेरै सावधान हुनुपर्छ। विहार, पश्चिम बंगाल र बंगलादेशमा के दर चलिरहेको छ तुरुन्तै थाहा भइहाल्छ। जहाँको रेट इफेक्टिभ हुन्छ त्यही लिने गर्छौं। त्यसैले कार्यालयमै बसिबसी सौदा गर्न कुनै गाह्रो छैन’, उनले आफ्नो अनुभव सुनाइन्।

अश्विनीलाई आफ्नो पारिवारले पनि प्रशस्त प्रोत्साहन गरेको छ।

बाबु राजकुमार र आमा सन्ध्याले उत्साहको सञ्चार गरिरहेका छन्। उनी पनि आमाबाबुलाई हरेक दिनको प्रगति विवरण सुनाउँछिन् र सुझाव प्राप्त गर्छिन् ।

‘पहिले त म आत्तिएकी थिएँ । अब भने कुनै पनि उद्योग–व्यापार चलाउन सक्छु भन्ने आत्मविश्वासमा छु । आत्मविश्वाससहितको लगनशीलताले नै सफल भइने रहेछ । अब मैले मेरो सम्पूर्ण जीवन उद्योग–व्यापारमै लगाउने संकल्प गरिसकेकी छु’, उनको भनाइ थियो ।

उनी महिलाले गर्न नसक्ने कुनै पनि काम नभएको बताउँछिन् र व्यवस्थापनका काममा महिलाको नेतृत्व नै धेरै सफल हुने विश्वास व्यक्त गर्छिन्।

उनले बिजमाण्डूलाई भनिन्, ‘महिलाको निर्णय सन्तुलित, दूरदर्शी र तथ्यपरक हुन्छ । महिलामा हुने सहनशीलता, धैर्य र कामप्रतिको एकाग्रताले सफलतामा पुग्न सहज हुन्छ। त्यसैले उद्योग–व्यवसायमा महिलाको नेतृत्व आवश्यक हुन्छ भन्ने मेरो धारणा छ ‍।’

अश्विनी आफ्नो काम लिएर अझै सरकारी अड्डा–अदालतमा भने पुगेकी छैनन्। तर यहाँका सरकारी निकायमा हुने बेथिति, त्यहाँका झन्झट र ढिलासुस्तीबारे पर्याप्त जानकार छिन्।

उनले भनिन्, ‘बुबाले सुनाउनु भएका कुराले नै सरकारी निकायहरूमा कुन हदसम्मको समस्या छ भन्ने तथ्य थाहा पाएकी छु। नेपालको मुख्य समस्या भनेको डुइङ बिजनेसको हो। यो नसुध्रिएसम्म स्वदेशी, विदेशी कुनै पनि लगानी आकर्षित हुँदैन।’

अश्विनीका अनुसार व्यवसायीले वडा कार्यालयदेखि नै दुःख पाएका छन्। माथिल्ला निकायमा पनि उही समस्या छ । यस्तो दुःख र प्रक्रियागत झन्झटमा रूपान्तरण भएन भने लगानी बाहिरिने खतरा बढेको छ।

जुटबाट उत्पादित सामग्री

उनी संलग्न अरिहन्त मल्टिफाइबरबाट उत्पादित जुटका सोपिङ ब्याग, हेसियन, ट्वाइन लगायतका सामग्रीहरू निर्यातको प्रक्रियामा छन्। त्यस्तै अरिहन्त पोलिप्याकका स्याकिङ ब्यागलाई पनि निर्यात गर्ने तयारी भइरहेको छ। यसका लागि चीन, स्लोभाकिया, दुबई, अफ्रिका लगायतका मुलुकका व्यवसायीलाई नमुना पठाउने काम भइरहेको छ।

‘सबै मुलुकका क्रेताबाट सकारात्मक उत्तर आएको छ’, उनले भनिन्’, ‘तर हामीलाई उद्योग परिसरदेखि कोलकाता बन्दरगाहसम्मको लजिस्टिक खर्चले लागत उच्च बनाइरहेको छ। सरकारले अमेरिकी डलरमा हुने कुनै पनि निर्यातको बन्दरगाहसम्मको लजिस्टिक खर्चमा सहुलियत दिने हो भने नेपालबाट ठुलो मात्रामा निर्यात सम्भव छ भन्ने मलाई लाग्छ।’

उनले समुद्रपारबाट मालसामान बोकेर आएका कन्टेनरहरू यहाँबाट खाली–खाली नै गइरहेको प्रसंग निकालिन्।

उनी नेपालका व्यवसायीले निर्यातका सामग्री तिनै कन्टेनरमा समुद्रपार पठाउन पाउने हो भने लजिस्टिक खर्चमा ठुलो वचत हुने र निर्यातको ग्राफ पनि धेरै माथि पुग्ने बताउँछिन्।

बेलायतमा अध्ययन गरिरहँदा अश्विनीले त्यहाँ पनि अवसर नपाएकी भने होइनन्। तर आफ्नो देश छाड्न मन लागेन। जे गर्छु नेपालमै गर्छु भन्ने सोच राखेर उनी फर्किएकी थिइन्।

‘सामान्यतया व्यवसायीका छोराछोरीहरू अध्ययन सकेर स्वदेशमै फर्किएको पाएकी छु। यसबाट थाहा हुन्छ, देशप्रति उद्योगी–व्यवसायीको माया कति छ भनेर। तर सरकारले पनि शिक्षित युवायुवतीलाई आकर्षक अवसर दिनु आवश्यक छ। र, युवाशक्तिले पनि स्वदेशमै रहन जरुरी छ,’ उनको भनाइ थियो।