काठमाडौं। सहरमा तिहारको ‘फिभर’ चढिसकेको छ। मान्छेहरू यमपञ्चकका लागि किनमेल गर्न बजार तिर पुगिरहेका छन्। बिस्तारै घर र मलहरू झिलीमिली हुन सुरु भइसके।
फूलको व्यापार गर्नेलाई पनि भ्याइनभ्याइ छ। यही बेला भक्तपुरको ‘पोटरी स्क्वायर’ मा माटाको भाडाहरू लस्करै राखिएका छन्।
अरु समयमा भन्दा तिहारको बेला माटोको दियो (पाला)को माग बढी हुने गर्छ। तर अहिले भने पहिलाको जस्तो उमंग यहाँ माटोको भाडा बनाएर जिविकोपार्जन गर्नेमा देखिन्न।
पहिला तिहारमा माटाको ग्राग्रो, गमला, खुत्रुके लगायतका भाडा पनि किन्ने मान्छे यहाँ पुग्ने गर्थे। अचेल त्यो भिड प्लास्टिकका भाडातर्फ मोडिएका छन्।
पाला बिक्री हुने सिजन भने तिहार नै हो। तर अहिले यसको माग पनि घट्दो छ। पहिला दियोमै भरिन्थ्यो तेल, बालिन्थ्यो बत्ती। अहिले भने बिजुली बत्तीको झिलिमिलीले सहरलाई छोप्छ।
बिजुली बत्तीको व्यापक प्रयोग हुनुअघि मैनबत्तीले परम्परागत दियोको प्रयोगलाई घटायो। त्यसपछि बिजुलीका झिलिमिली र सस्ता बत्तीहरूले। पछिल्लो पटक दियोकै आकारमा बत्तीहरू भित्रिन थाले। त्यसले त झन् माटोको दियोको व्यापार खस्कायो।
भक्तपुरका विनोदकुमार प्रजापतिले माटोलाई दियोको आकार दिन थालेको करिब १५ वर्ष भइसक्यो। हरेक वर्ष उनकोमा पाला बनाएको तस्विर र भिडियो खिच्नेहरू भने कमी भएको छैन। घटेको छ त केवल किन्ने ग्राहक।
‘व्यापार पहिलाभन्दा घटेको छ। तर अहिले माटोको दियो प्रयोग गर्नेहरू बिस्तारै बढ्दैछन्,’ उनले भने।
अहिले तिहारमा परम्परा धान्न मात्रै पालाको प्रयोग हुने गर्छ। तर बजार घटे पनि परम्परा धान्न चाहनेहरू अहिले पनि उत्तिकै सक्रिय छन्।
संस्कृति जोगाउनु पर्छ भनेर पालाकै प्रयोग गर्नेहरू बिस्तारै बढिरहेको पाला उत्पादकहरूको बुझाइ छ। त्यसैले भक्तपुरमा माटोले आकार पाइरहेको छ। त्यही आकारमा अडिनेछ तेल र जल्नेछ तिहारमा दियो।