खेलाडीसँगको टसलले अमेरिकाका प्रशिक्षक ल नेपालसँगको खेलअघि आउट, प्रतिस्पर्धा आज राति

मुकुन्द घिमिरे
२०८१ कात्तिक ११ गते १५:०२ | Oct 27, 2024
खेलाडीसँगको टसलले अमेरिकाका प्रशिक्षक ल नेपालसँगको खेलअघि आउट, प्रतिस्पर्धा आज राति
टी-२० सिरिजका दौरान नेपाल र अमेरिकाका खेलाडी। तस्बिर ; क्यान


काठमाडौं। नेपाली राष्ट्रिय टोलीले आइतबारबाट क्रिकेट विश्वकप लिग-२ को तेस्रो सिरिज खेल्दैछ। अमेरिकामा जारी त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपालले बेलुकी सवा ९ बजे घरेलु टोलीसँग खेल्दैछ।

Tata
GBIME

नेपाली टोलीका पूर्वप्रशिक्षक तथा मेन्टर पुबुदु दासानायकेले नेपाल क्रिकेट संघ (क्यान)ले जारी गरेको भिडियो मा टोलीले मिहेनत गरिरहेको भन्दै सकारात्मक नतिजाको अपेक्षा गरेको बताएका छन्।

‘ब्याटिङमा राम्रो सम्भावना छ। तर, तथ्यांकले यसलाई ‘जस्टिफाइ’ गरेको छैन। तर, अब हामीलाई चाहिएको अंक मिल्नेछ भन्ने विश्वास छ,’ उनले भने, ‘अहिले हामी बटम टेबलमा छौं। तर, हाम्रो टोलीमा शीर्षमा पुग्ने पोटेन्सियल छ। यो कुरा खेलाडीले बुझेका छन्।’

लिग-२ मा अमेरिका ९ खेलबाट १२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। ८ खेलबाट ३ अंक बनाएको नेपाल सातौं स्थानमा छ।

‘विपक्षी टोलीहरुले लिग-२ मा राम्रो गरिरहेका छन्। उनीहरुको टोली राम्रो छ। यसले गर्दा हामीले अलि राम्रो खेल्नुपर्ने हुन्छ,’ ब्याटिङ अलराउण्डर कुशल भुर्तेलले भनेका छन्।

अमेरिका आफ्नै समस्यासँग जुध्दै

नेपाल, स्कटल्याण्ड र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज अन्तरगत पहिलो खेल यसअघि नै सम्पन्न भइसकेको छ। खेलमा स्कटल्याण्डले घरेलु टोली अमेरिकालाई १० विकेटले हराएको थियो।

स्कटल्याण्डसँगको हारपछि अमेरिकाले आफ्ना अस्ट्रेलियन प्रशिक्षक स्टुआर्ट ल लाई हटाएको छ। क्रिकबज ले गरेको रिपोर्ट अनुसार उनीमाथि विभेद, फेभोरिजमलगायत गम्भीर आरोप लागेको छ।

अमेरिकाका कप्तान मोनांक पटेल लगायत सिनियर ८ खेलाडीले क्रिकेट बोर्डलाई यस विषयमा यसअघि नै जानकारी गराएका थिए।

विश्वकपताका सुरु भएको विवाद त्यसपछि अमेरिका लिग-२ खेल्न नामिबिया पुग्दा भयावह स्थितिमा पुगेको थियो। विवादबारे क्रिकेट बोर्डले नजिकबाट अध्ययन गरिरहेको थियो।

आइतबारको खेलमा यसअघि सहायक प्रशिक्षक रहेका भिन्सेन्ट विनय कुमारले अन्तरिम मुख्य प्रशिक्षकको जिम्मेवारी बहन गर्नेछन्। अमेरिकी पूर्वखेलाडी उस्मान रफिक सहायक प्रशिक्षकको जिम्मेवारीमा हुनेछन्।

सम्बन्धित समाचार:  टी-२० सिरिजमा ‘क्लिन स्विप’ले नहटाएको बेचैनी, फरक फर्म्याटमा दबाबमा नेपाली टोली

लिग-२ मा दबाब

अमेरिकामा नेपालले अहिले खेल्न लागेको लिग-२ को आफ्नो तेस्रो सिरिज हो। अमेरिकामा टी-२० फर्म्याटको सिरिज क्लिनस्वीप गरेपनि एकदिवसीय फर्म्याटमा भने नेपालको पछिल्लो लय निराशाजनक छ। नेपालले यसअघि क्यानडामा मात्र खराब प्रदर्शन गरेको होइन।

हरेक सिरिजमा एउटा देशले चारवटा खेल खेल्छन्। लिग-२ का दुई सिरिजमा ८ खेलमध्ये नेपालले एक खेल मात्र जितेको छ।

नेपालले लिग-२ को पहिलो सिरिज काठमाडौंमा नेदरल्याण्ड्स र नामबियाविरुद्ध खेलेको थियो भने दोस्रो सिरिज क्यानडामा ओमन र क्यानडाविरुद्ध खेलेको थियो। यसमध्ये एउटा खेलमा नेदरल्याण्ड्सलाई हराएर २ अंक ल्याउँदा ओमनसँगको खेल रद्द हुँदा नेपालले १ अंक पाएको थियो।

विकेट सेलिब्रेट गर्दै गुल्सन झा। तस्बिर: क्यान

कुल ८ खेलबाट ३ अंक जोडेको नेपाल तालिकाको सातौं स्थानमा छ।

अंक तालिकामा १२ खेलबाट १६ अंक जोडेको क्यानडा शीर्षस्थानमा छ। दोस्रो र तेस्रो स्थानमा रहेका अमेरिका र नेदरल्याण्ड्सले समान ८ खेलबाट १२ अंक जोडेका छन्।

त्यस्तै, चौथो स्थानमा रहेको स्कटल्याण्डको ११, पाँचौं स्थानको नामिबियाको १० र छैटौं स्थानको ओमनको ६ अंक छ। नेपालपछि युएई २ अंकसहित तालिकाको पुछारमा छ।

यसबीच क्यानले बाउन्स ब्याक गर्नका लागि केही बल पनि लगाएको छ। नेपाली टोलीका जानकार प्रशिक्षक जगत टमाटालाई कन्सलटेन्ट कोचका रुपमा अमेरिका पठाएको छ भने नेपाल र क्यानडाका मुख्य प्रशिक्षक रहिसकेका पुबुदु दासानायकेलाई यो सिरिजका लागि मेन्टर नियुक्त गरिएको छ।