विराटनगर। अमेरिकाको बोस्टन युनिभर्सिटीबाट २०२१ को अन्तिममा व्यवस्थापनमा ब्याचलर पूरा गरिरहेका बेला विराटनगरका जयेश लुनियाँलाई आकर्षक जागिरका लागि अफर आइरहेका थिए।
एक मनले त नेपालको बेथिति अनि उद्योगी–व्यवसायीले पाइरहेको झन्झट सम्झिएर अमेरिकामै बसौं कि भन्ने पनि लागिरहेको थियो। अर्कातिर उनको परिवार संलग्न अरिहन्त ग्रुपले कोशी प्रदेशमा तीन-चार वटा ठुला उद्योग जमाइसकेको थियो। त्यसैले आफ्नै ग्रुपको कमान्ड सम्हाल्न नेपाल फर्कूं कि अमेरिकाकै लोभलाग्दो जागिरमा रमाऊँ भन्ने दोधारमा उनी धेरै दिन छटपटिए।
नेपाल फर्केर पनि कुन उद्योग सम्हाल्ने? तार र पाइपका उद्योगको व्यवस्थापनमा उनकै बुबा गिरीश संलग्न थिए। देशका ठुला उद्योगमा पर्ने कार्टुन र कागजका उद्योगमा काका पारस। जयेशलाई यी उद्योगमा पस्न मन थिएन।
यसैबिच उनले सम्झिए, सन् २०१७–१८ मा उनी एसईईको तयारीमा थिए। अरिहन्त ग्रुपले सुनसरीको सोनापुरमा टायल उद्योगको सम्भाव्यता अध्ययन गरिरहेको थियो।
सन् २०२२ को आरम्भमा जयेशले ब्याचलर सकिसकेका थिए। एकाएक उनले अमेरिकाबाट घरमा खबर पठाए– ‘मैले टायल उद्योगको कमान्ड सम्हाल्न पाउँछु भने फर्कन्छु। नभए अमेरिकामै आकर्षक जागिरको अवसर पाइरहेको छु।’
जयेशले बिजमाण्डूसित भने, ‘विराटनगर फर्किएर मैले कुन काम गर्ने अनिश्चित थियो। बुबा र काकाले हेरिरहेको काममा पस्न मन थिएन। त्यसैले नयाँ र ठुलो उद्योगका लागि अफर गरेको थिएँ, जसको अध्ययन पूरा भइसकेको थियो।’
नभन्दै घरबाट सकारात्मक र उत्साहजनक खबर आयो।
जयेशले अमेरिकाबाट फोन गरेपछि लुनियाँ परिवारमा गम्भीर बैठक भएछ। एजेन्डा थियो– जयेशको प्रस्तावलाई के गर्ने?
अन्ततः टायल उद्योग सञ्चालन गर्न सबैको एकमत रह्यो।
भोलिपल्टै बाबु गिरीशले फोन गरे– ‘ठिक छ, टायल उद्योग लगाउने हो। तिमी आऊ। तर, तिमीले पूरा समय दिनुपर्छ।’
नभन्दै २०२२ को फेब्रुअरीमा निर्माण सुरु भएको अरिहन्त इन्फ्रा प्रालिले २०२४ को अक्टुबरदेखि निमाटो ब्रान्डमा टायलको व्यावसायिक उत्पादन सुरु गरेको छ।
निर्माण सुरु भएदेखि अहिलेसम्म जयेश बिहान ८ बजे उद्योग परिसरमा पुगिसक्छन् र राति ९ बजेपछि मात्र घर फर्कन्छन्।
२४ वर्षीय युवा लुनियाँले भने, ‘निमाटो ब्रान्डको टायल मेरो ‘जुनुन’ हो । यसका लागि मैले आफ्नो सम्पूर्ण तागत लगाएको छु।’
जयेशले अहिलेसम्म ३ सय करोडको लगानी भइसकेको र उद्योगका उत्पादनहरू देशभरि पठाउन थालिएको जानकारी दिए।
लुनियाँका अनुसार टायलका आकार–प्रकार धेरै छन्। जसमध्ये पोर्सलिन, सेरामिक र विक्ट्रिफाइड गरी तीन प्रकारका टायल मुख्य हुन्छन्। जसमा विक्ट्रिफाइड टायल सबैभन्दा स्तरीय मानिन्छ। यो टायलले पानी सोस्तैन। नेपालमा विक्ट्रिफाइड टायलको मेसिन सबैभन्दा पहिले अरिहन्त इन्फ्राले नै लगाएको हो।
उनले उद्योगले २ बाई २ र २ बाई ४ आकारका फ्लोर टायल तथा १६ इन्च बाई १६ इन्च आकारका पार्किङ टायलको उत्पादन गरिरहेको जानकारी दिए।
दैनिक १८ हजार वर्गमिटर टायलको उत्पादन भइरहेको छ।
‘नेपालमा ७० प्रतिशत बजार २ बाई २ र २ बाई ४ का विक्ट्रिफाइड टायलकै हो। त्यस्तै पार्किङ टायलको पनि उच्च माग छ। त्यसैले हामीले मागअनुसारको उत्पादन गरेका हौं,’ उनले सुनाए।
लुनियाँका अनुसार अरिहन्तबाट उत्पादित टायललाई पीजीवीटी सेग्मेन्टका टायल भनिन्छ। पीजीवीटी भन्नाले पोलिस्ड ग्लेज्ड विक्ट्रिफाइड टायल भन्ने बुझिन्छ। ग्राहकको रोजाइमा यस्तै टायल भएको उनको अनुभव छ।
अरिहन्तले हाल राजस्थानबाट माटो ल्याएर विक्ट्रिफाइड टायलको उत्पादन गरिरहेको छ। तर, नेपालको माटोबाट पनि टायलको उत्पादन गर्ने जयेशको योजना छ। यसका लागि उद्योगले रिसर्च युनिट नै स्थापना गरेको र प्राविधिकहरू अध्ययन–अनुसन्धानमा जुटिरहेको जानकारी उनले दिए।
‘नेपालको माटोबाट विक्ट्रिफाइड टायल नै निकाल्न नसकिए पनि पोर्सलिन र सेरामिक टायलको उत्पादन गर्न सकिन्छ भन्ने विश्वास हाम्रो रिसर्च युनिटको छ,’ लुनियाँले बिजमाण्डूसित भने, ‘हाम्रो मुख्य उद्देश्य नेपालकै माटोबाट टायल बनाउने हो।’
उद्योगमा दक्ष १ सय र अर्धदक्ष ३ सय गरी कुल ४ सय रोजगार छन्।
जयेशले टायलको निर्यातमा पनि प्रशस्त चासो दिएका छन्। सुनसरीको सोनापुरमा रहेको उद्योगबाट नेपालका २ मुख्य नाका काँकडभिट्टा र विराटनगर नजिक पर्दछन्। विराटनगरबाट भारतको विहार र झारखण्डमा वस्तुको ढुवानी सहज हुन्छ, अनि काँकडभिट्टाबाट पश्चिम बंगाल र असममा।
चारै वटा राज्यमा २ हजार किलोमिटरभन्दा टाढा पर्ने गुजरातबाट टायलको आयात भइरहेको छ। त्यसैले सुनसरीबाट ती राज्यमा पुर्याउँदा ढुवानी खर्चमा ठुलो वचत हुन्छ।
उनले भारतका ४ वटै राज्यमा निर्यातका लागि गुणस्तर चिह्न लिने प्रक्रिया सुरु भइसकेको बताए।
यसबाहेक भारतबाट टायल आयात गर्दा चर्को भन्सार महसुलका कारण महँगो मूल्य पर्ने समुद्रपारका मुलुक पनि जयेशका लक्ष्य हुन्। त्यस्ता मुलुकले नेपाललाई मस्ट फेवर्ड नेसनमा राखेका छन्। र, नेपालबाट ती मुलुकमा टायलको निर्यात गर्दा भन्सार महसुलमा आकर्षक सुविधा छ।