पाँचथर जिल्लाका नरेन्द्र भट्टराई सन् २००७ मा अवसरको खोजीका लागि कतार जानुअघि नेपालमा लेखक, कवि र महत्त्वाकांक्षी फिल्म निर्माताका रुपमा काम गरिरहेका थिए।
भट्टराईले कतार जाने योजना सावधानीपूर्वक बनाए। कतारमा ड्राइभिङमा राम्रो तलबमा काम पाउनका लागि एजेन्टलाई राम्रै रकम पनि तिरे उनले।
तर, जब उनी कतार पुगे उनलाई ‘कन्स्ट्रक्सन वर्कर’का रुपमा काम गर्न बाध्य बनाइयो। नेपालमा उनलाई ९०० कतारी रियाल पक्का हुने भनेर आश्वासन दिइएको थियो तर उनले पाए ६०० रियाल मात्रै।
‘मैले आफ्नो परिवारलाई स्तरीय जीवन दिने सपना देखेको थिएँ। तर, म आफैं शोषणको सिकार हुन पुगेँ,’ उनले भने।
कतार जान लिएको ऋण तिर्नका लागि उनले वर्षौंसम्म कडा मेहेनत गरे। र, अन्तत: नेपाल फर्किए। नेपाल फर्किएर आफ्नो पुरानै क्षेत्रमा काम गर्न थाले। तर, उनलाई पुरानै समस्याले छाडेन। त्यहो हो – पैसा।
सन् २०१९ मा उनी एउटा फिल्म स्क्रिनिङका लागि पोर्चुगलको यात्रा गरिरहेका थिए। यस क्रममा उनलाई त्यहीँ बस्न मिल्छ भन्ने थाहा भयो। साथै युरोपियन युनियनमा पर्जे देशहरुमा कानुनी रुपले काम पनि गर्न मिल्ने उनले बुझे। त्यसपछि उनले त्यहीँ रहने निर्णय गरे।
‘युरोपमा लामो समयसम्म रहनुको मतलब हो म र मेरो परिवारको भविष्य राम्रो बन्न सक्छ।’ उनले डीडब्लुसँग भने।
२०१० को दशकको अन्त्यतिर पोर्चुगलले खोलेको ढोका
सन् २०१९ मा पोर्चुगलमा काम पाउने सयौं नेपालीमध्ये भट्टराई एक पात्रमात्र हुन्।
नेपाल सरकारको आधिकारिक तथ्यांकअनुसार सन् २०१८ मा २५ जनाले पोर्चुगलका कामका लागि स्वीकृति पाएका थिए भने २०१९ मा यो संख्या ४६१ पुगेको थियो।
एउटा युरोपियन अध्ययन ‘रिथिंकिङ अप्रोचेज टू लेबर माइग्रेसन’ अनुसार पोर्चुगललाई कम ‘स्किल’का खास गरि कृषि र पर्यटन क्षेत्रका लागि कामदारहरु चाहिएको छ।
सन् २०१९ देखि २०२४ को बीचमा कयौं युरोपियन देशहरुमा नेपाली कामदारको संख्या दोब्बर भन्दा बढीले वृद्धि भएको छ। यसमध्ये रोमानियामा नेपाली कामदारको संख्या ६४० प्रतिशतले वृद्धि भएको छ।
किन युरोपप्रति बढ्दैछ आकर्षण?
युरोपसँगसँगै यो अवधिमा कुवेतमा पनि नेपाली कामदारको संख्यामा वृद्धि भएको देखिन्छ। यद्यपि, विज्ञहरुको भनाइ मान्ने हो भने नेपालको कामदार प्रवासनको ‘प्याटर्न’ फेरिएको छ।
एसिया र पर्सियन गल्फ आसपासको परम्परागत क्षेत्रलाई छाडेर नेपाली कामदार पोल्याण्ड, रोमानिया, पोर्चुगल, माल्टा, हंगेरी, क्रोएसियाजस्ता युरोपेली देश जाने ‘ट्रेन्ड’ बढेको देखिन्छ।
यसको कारणलाई राम्रो कमाइ र सजिलो गरि रोजगारीसँग दाँजेर विज्ञहरुले हेरेका छन्।
‘हाम्रो सामाजिक/ सांस्कृतिक ढाँचाले भविष्यका लागि वचत गर्ने मानिसिकतालाई बढावा दिन्छ,’ समाजशास्त्री टीकाराम गौतम भन्छन्, ‘ग्लोबलाइजेसनका कारण कामदारहरुलाई बढी विकल्पहरु मिलिरहेको छ। त्यसैले उनीहरु यस्तो देश जान चाहन्छन् जहाँ धेरै कमाइ होस्।’
यसबाहेक सामाजिक प्रतिष्ठा र समकालीनको दबाब पनि मुख्य कारणका रुपमा रहेको छ।
नेपालमा जन्मिएका दीपक गौतम पछिल्लो एक दशक यता खाडीमा सुरक्षा गार्डका रुपमा काम गरिरहेका छन्। यो कामबाट पाउने तलबबाट निश्चित रकम घर पठाउन पनि उनलाई पुगिरहेको छ। यद्यपि, आफूलाई युरोपमा काम गर्ने भन्दा तल्लो हिसाबले हरिने गरेको उनको अनुभव छ। अर्थात, दुबईमा काम गरेर पनि समाजमा उनको ठूलो प्रतिष्ठा छैन।
‘नेपाली समाजमा युरोपमा काम गर्नुलाई प्रतिष्ठित मानिन्छ। अर्कोतर्फ खाडीमा काम गर्ने हामीलाई असफल मानिन्छ,’ उनले भने, ‘नेपाली समाजले युरोपमा काम राम्रो हुन्छ, तलब राम्रो हुन्छ र कामको धेरै अवसर हुन्छ भन्ने मान्छ।’
दीपकले दुई पटक पोल्याण्डमा वर्किङ भिजाका लागि आवेदन दिएका पनि थिए। तर, दुवै पटक सफल हुन सकेनन्।
किन देश छाड्दैछन् नेपाली युवा?
अन्तर्राष्ट्रिय कृषि विकास कोष (आईएफएडी)को रिपोर्ट बमोजिम नेपालको जीडीपीको २६.६ प्रतिशत योगदान विदेशमा काम गरेर पठाएको रेमिटेन्सको छ। सन् २०२३ मा यसको अनुमानित रकम ११ अर्ब डलर थियो।
नेपालमा राजनीतिक अस्थिरता, कमजोर आर्थिक व्यवस्था, ठूलो संख्यामा रोजगारीसँग जोडिएका योजनाको कमी र मानव संसाधनको सही तरिकाले प्रबन्धन हुन नसक्दा यहाँका मानिस रोजीरोटीका लागि विभिन्न देश जाने गरेका छन्।
उदार राजनीतिक व्यवस्था, शिक्षा र प्रविधिको पहुँचजस्ता ‘फ्याक्टर’ले नेपालीहरु जागरुक वैश्विक नागरिक बनेका छन्। र, त्यही हिसाबको अनुभव आफ्नो देशमा पनि गर्न चाहने श्रम विज्ञ मीना पौडेल बताउँछिन्।
‘उनीहरु वैश्विक रुपमा भइरहेका विकासबारे जानकार छन्। तर, उनीहरु यी सुविधाको तुलना नेपालमा भएका सुविधासँग गर्न सक्दैनन्,’ उनले भनिन्।
अदक्ष कामदारका लागि कम अवसर
पछिल्ला वर्षहरुमा मलेसियाजस्ता खाडी राष्ट्रहरुले प्रवासी कामदारहरुका लागि मापदण्ड बढाएका छन्।
‘रोजगारी दिने यी कम्पनीहरु पनि दक्ष व्यक्तिको खोजी गर्न थालेका छन्। यसले गर्दा अदक्ष या अर्धदक्ष मानिसहरु अन्य विकल्प खोज्न बाध्य भएका छन्,’ पौडेलले भनिन्।
अर्कोतर्फ युरोपको अवस्था फरक छ। त्यहाँ अहिले ‘इमिग्रेसन’ कानुनलाई केही खुला गरिएको छ। यसले गर्दा विदेशी कामदारहरुलाई भिसा पाउन सहज भइरहेको छ। खासगरि कृषि, हाउसकिपिङ, हस्पिटालिटी र कन्स्ट्रक्सन क्षेत्रमा।
योसँगै युरोपमा कामदारको कम श्रम शोषण हुने साथै स्वतन्त्रता बढी हुने गर्छ।
युरोपमा स्तरीय जीवनको खोजी
पछिल्लो वर्षयता जर्मनीले आफ्नो दक्ष आप्रवासन कानुनमा परिवर्तन गरिरहेको छ। रोजगारीको खोजीमा रहेका तेस्रो मुलुकका नागरिकका लागि ‘अपरच्युनिटी कार्ड’को योजना अघि सारिएको छ।
जर्मनीमा रोजगारीको अवसरको सपनामा विजय लिम्बू ६ महिना पहिला माल्टा पुगेका थिए। यो भन्दा अघि उनी कतारमा पनि थिए।
‘म आफ्नो स्कीललाई सुधारिरहेको छु र भाषा सिकिरहेको छु ताकि रेसिडेन्ट पर्मिटसँग सम्बन्धित सर्तहरु पुरा गर्न सकियोस,’ उनले भने।
योसँगै उनी विश्वस्त छन् – प्रवासी कामदार सधैं अनिश्चित हुन्छ।
नेपाली लेखक नरेन्द्र भट्टराईको ‘नयाँ घर’ पोर्चुगल एउटा राम्रो उदाहरण हो। पछिल्लो समय भएका कानुनी फेरबदलले भने यी देशमा रहन चाहने आप्रवासी कामदारका लागि बाधाहरु थपिदिएको छ।
भट्टराई पोर्चुगलमा आर्थिक र मानसिक रुपमा सन्तुष्ट भएको बताउँछन्। यसले गर्दा एकपटक फेरि लेखनको प्रति आफ्नो हुटहुटीलाई जगाउने अवसर उनले पाएका छन्।
‘मलाई लाग्छ म सही समयमा युरोप आएँ,’ उनले भने।