ब्रोकरबाट मार्जिन ल्यान्डिङले रोकिन सक्छ उधारो कारोबार, अनुमति लिएर पनि किन दिएनन् सुविधा?



सुनिल कुँवर
२०८१ असोज २३ गते १६:५९ | Oct 9, 2024
ब्रोकरबाट मार्जिन ल्यान्डिङले रोकिन सक्छ उधारो कारोबार, अनुमति लिएर पनि किन दिएनन् सुविधा?

काठमाडौं। सेयर बजार असार १७ देखि साउन ३१ सम्म बुलिस ट्रेन्डमा रह्यो। नेप्से तीन वर्षअघिको विन्दुमा पुग्दा एकैदिन २९ अर्ब ९५ करोड रुपैयाँको कारोबारसहित ऐतिहासिक कारोबार कीर्तिमान बन्यो।

Tata
GBIME
Zonsen

तर, यो उत्साह टिक्न सकेन। भदौ लागेपछि बजार लगातार ओरालो लाग्यो। डेढ महिनामै ४६ प्रतिशतले वृद्धि भएको नेप्से भदौयता १७ प्रतिशतले घटेर ३००० विन्दुबाट २४८६ मा झ‌‌‍र्यो। त्यसयता कारोबार रकममा समेत व्यापक गिरावट आएको छ। दैनिक करिब ३० अर्ब हाराहारीमा पुगेको कारोबार रकम अहिले घटेर ५ अर्ब रुपैयाँमा सीमित भएको छ।

बुधबार बजार ४.८५ अंकले बढ्दा नेप्से २६६८.१७ विन्दुमा पुगेको छ। कारोबार रकम ३ अर्ब ७६ करोड रुपैयाँमा सीमित भएको छ।

ब्रोकरहरुले बजारमा देखिएको अहिलेको गिरावटलाई उधारो कारोबार मुख्य कारण मानेका छन्। नेप्सेमा गिरावटपछि अहिले लगानीकर्ता र ब्रोकरबीच उधारो कारोबारको विवाद देखिन थालेको छ। बजार घटेपछि उधारो कारोबारको भुक्तानी विवाद एकपछि अर्को गरी बाहिरिन थालेको छ।

लगानीकर्ताले २५ प्रतिशतसम्म ‘कोल्याट्रल’ राखेर सेयर खरिद गर्न सक्छन्। तर, ब्रोकरले कर्पोरेट ग्राहकलाई शून्य ‘कोल्याट्रल’मै सेयर कारोबार गराइदिन्छन्। त्यसको प्रभाव कारोबार रकम र नेप्से परिसूचकमा पर्छ।

नेप्से बुलिस ट्रेन्डमा हुँदा उधारोमा कारोबार गराएका ब्रोकर कम्पनीहरुलाई अहिले रकम उठाउनै हम्मेहम्मे परेको छ।

‘उधारो कारोबारले निकै तनाव भएको छ। बजार बढेका बेला उत्साही भएर उधारोमा कारोबार गराइयो। अहिले त्यस्ता लगानीकर्ताको हिसाब सेटलमेन्ट गर्न साह्रै सकस परिरहेको छ,’ एक ब्रोकरले भने।

आफूहरुबाट सेयर धितो कर्जाको सुविधा नहुँदा उधारो कारोबार व्यापक बनेको ब्रोकर कम्पनी सञ्चालकहरुको भनाइ छ। ‘बजार बढ्छ भनेर लगानीकर्ताले छोटो समयका लागि खरिद गर्छन्। तर, रिभर्स हुँदा समस्या देखिने गरेको छ,’ ती ब्रोकरले भने, ‘मार्जिन ल्यान्डिङले उधारोलाई कम गरेर सेयर बजारमा व्यवस्थित कारोबार बनाउँछ। त्यसपछि उधारो कारोबारको यस्तो समस्या आउँदैन।’

नबिल इन्भष्टमेन्ट बैंकिङका सीइओ मनिष जोशी ब्रोकरबाटै मार्जिन ल्यान्डिङ भए उधारो कारोबारको समस्या रोकिने बताउँछन्।

‘मार्जिन ल्यान्डिङले अहिलेको उधारो कारोबारको समस्यालाई रोक्न सक्छ। उधारोमा कारोबार गर्दा लगानीकर्ताले न थप पैसा हाल्न सकेका छन्, न त मूल्य घटेका कारण बेच्न मानेका छन,’ उनले भने, ‘ब्रोकरले दिइरहेको उधारोलाई मार्जिन लोनको रुपमा कन्भर्ट हुँदा ब्रोकरलाई पनि रिस्क कम हुन्छ। कम्पनीको सेयर मूल्य निश्चित सीमाभन्दा तल आउन थालेपछि ब्रोकरले लगानीकर्तालाई पैसा हाल्न लगाउँछ वा बेच्छ। यसले कारोबार व्यवस्थित बनाउँछ।’

उधारो कारोबारलाई व्यवस्थित बनाउन नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेप्सेले मार्जिन ल्यान्डिङको कार्यान्वयन यसअघि नै गराउन खोजेका हुन्। सेबोनले २०७४ मै मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन जारी गरेको थियो। ब्रोकरले आफैं वा वाणिज्य बैंकसँग रकम लिएर मार्जिन कारोबार गराउन सक्ने व्यवस्था निर्देशनमा छ।

ब्रोकर कम्पनीले खुद नेटवर्थ ५ करोड रुपैयाँको दुई गुणासम्म मार्जिन कारोबार गराउन सक्ने व्यवस्था छ। नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि २०७५ जारी गरेको थियो।

यस्तै राष्ट्र बैंकले पनि सेयर धितो कर्जालाई ब्रोकरमार्फत नै प्रवाह गराउने नीति लिएको छ। चालु वर्षको मौद्रिक नीतिमै सेयर बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई कम गर्न मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने नीति लिएको उल्लेख छ।

तर, मार्जिन ल्यान्डिङका लागि राष्ट्र बैंकबाट स्वीकृति लिएकै ब्रोकर कम्पनीहरुले सुविधा दिन सकेका छैनन्। ‘कार्यविधिमा फण्डिङको विषय स्पष्ट छैन। मार्जिन ल्यान्डिङका लागि अहिलेको प्रणाली सुहाउँदो कार्यविधि चाहिन्छ,’ अर्का ब्रोकरले भने, ‘मार्जिन ल्यान्डिङका लागि टीएमएसमै नगद र मार्जिन खाता चाहिन्छ। अहिलेको प्रणालीमा त्यो छैन।’

मार्जिन ल्यान्डिङका लागि राष्ट्र बैंकसँग अहिलेसम्म ३४ ब्रोकरले अनुमति लिएका छन्। कर्जाका लागि लगानीकर्ता ब्रोकर र ब्रोकर कम्पनी बैंकको भर पर्नुपर्ने भएकाले लागत थप महँगो हुने भएपछि व्यावहारिकरुपमा प्रभावकारी हुन नसकेको हो।

ब्रोकर कम्पनीकै पुँजी सानो भएका कारण बैंकहरुले फण्डिङ गर्न नचाहने तथा कम्पनीहरुले समेत चासो कम दिएको कतिपयको तर्क छ। मार्जिन ल्यान्डिङ खुद्रा ग्राहक (इन्डिभिजुअल लगानीकर्ता)का लागि भए पनि फण्डको समस्याका कारण आफूहरु लगानी गर्न सक्ने अवस्थामा नभएको ब्रोकर बताउँछन्।

नागरिक स्टक र नबिल सेक्युरिटिज गरेर अहिले दुईवटा डिलर कम्पनी छन् भने ९३ वटा ब्रोकर छन्। तीमध्ये ६० करोड पुँजी भएकाले मार्जिन कारोबार गर्न पाउने व्यवस्था छ।

लगानीकर्ताहरुलेहाल बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो कर्जा लिंदै आएका छन्। सेयर धितो कर्जाका लागि राष्ट्र बैंकले नीतिगत लचकता अपनाएको छ। राष्ट्र बैंकले व्यक्तिको हकमा १५ करोडको क्याप कायमै राखेपनि चालु वर्षदेखि संस्थागत लगानीकर्ताका लागि सेयर धितो कर्जाको सीमा हटाएको छ।

‘सबै लगानीकर्ताले बैंकबाट कर्जा लिएर कारोबार गर्न सक्दैनन्। त्यसमा पनि लिमिट छ। त्यसपछि उधारोमा कारोबार गर्न ब्रोकरले लिमिट दिने नै भए,’ अर्का एक ब्रोकरले भने, ‘तर, यसले ब्रोकर कम्पनीलाई समेत रिस्क हुने भएका कारण उसले आफ्नो रकम असुल्न खोज्छ। त्यही कारण बजारमा उतारचढाव देखिन्छ। यसको विकल्प भनेकै ब्रोकरबाटै मार्जिन ल्यान्डिङ हो।’