काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्तिको अन्तर्वार्तामा यसअघि गयल भएका तीन जना प्रतिस्पर्धी यसपालि सहभागी हुने भएका छन्।
अर्थ मन्त्रालयले सेबोन अध्यक्ष नियुक्तिका लागि सर्टलिस्ट भएर अन्तर्वार्तामा यसअघि गयल भएका तीन जनालाई शुक्रबार बोलाएको छ।
मन्त्रालयको पत्र अनुसार नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ र सेबोनका कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई अन्तर्वार्ता र प्रस्तुतीकरणमा सहभागी हुने भएका हुन्। उनीहरूलाई मन्त्रालयले बिहान ८ बजे उपस्थित हुन भनेको छ।
‘मन्त्रालयले भनेको समयमा हामी तीनै जना अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतिका लागि जाने सल्लाह भएको छ,’ एक प्रतिस्पर्धीले भने, ‘निर्णय कसको पक्षमा हुन्छ भन्ने थाहा हुने कुरा भएन। तर, हामी यसपाला बंक हान्ने पक्षमा छैनौं।’
यसअघि कार्की, चापागाईँ र अधिकारी अन्तर्वार्तामा सहभागी नभएपछि सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया अड्किन पुगेको थियो। सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र सेबोनका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले भने अघिल्लो सरकारकै पालामा गत असार २ गते अन्तर्वार्ता दिनुका साथै कार्ययोजना प्रस्तुत गरेका थिए।
अर्थ मन्त्रालयले महान्यायाधिवक्ताको रायपछि असोज ९ गते सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरी बाँकी तीन जनाको अन्तर्वार्ता लिन लागेको हो।
अन्तर्वार्तापछि पाँच जनामध्येबाट तीन जनाको नाम मन्त्रिपरिषद्मा पठाइने छ। अर्थ मन्त्रालय स्रोतका अनुसार सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट सेबोन अध्यक्ष नियुक्त गर्ने तयारी छ।
मन्त्रिपरिषद्मा तीन जनाको नाम सिफारिस गर्नुपर्नेमा यसअघि तीन जना अन्तर्वार्तामै गयल भएका कारण नियुक्ति प्रक्रिया रोकिएको थियो।
तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले नियुक्ति गर्न कानुनी अड्चन नभएको राय दिए पनि छनोट समितिमा नै विवाद भएपछि प्रक्रिया रद्द भएको थियो।
प्रक्रिया रद्द गरेको विरोधमा अन्तर्वार्तामा सहभागी सन्तोषनारायण सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अन्तरिम आदेश जारी गरेको थियो। यो मुद्दा अदालतमा विचाराधीन नै छ।
सर्वोच्चले सुनुवाइका लागि माघमा पेसी तोकेको छ। त्यो बेलासम्म अध्यक्ष नियुक्त नगर्दा सेबोनका धेरै काम प्रभावित हुने भन्दै अर्थमन्त्री विष्णु पौडेलले राय मागेपछि महान्यायाधिवक्ता रमेश बडालले प्रक्रिया अगाडि बढाउन मिल्ने पत्र पठाएका थिए।
सेबोन अध्यक्ष नियुक्तिमा कांग्रेस र एमालेको स्वार्थ मिल्छ कि मिल्दैन भन्नेमा धेरैको चासो छ। नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बनेपछि पूर्व अर्थमन्त्री वर्षमान पुनले सेबोन अध्यक्ष नियुक्तिमा स्वार्थ समूहको कुरा नमान्दा माओवादी नेतृत्वको सरकार ढलेको बताउँदै आएका छन्। नयाँ स्टक एक्सचेन्जको लाइसेन्स लिने दाउमा रहेका व्यापारिक समूह सेबोनमा आफू अनुकूलको व्यक्तिलाई अध्यक्ष बनाउने लबिइङमा छन्।
सेबोन गत पुस २१ देखि अध्यक्षविहीन छ। प्रतिनिधि सभाको अर्थ समितिले तत्काल अध्यक्ष नियुक्त गर्न साउन २४ गते सरकारलाई निर्देशन दिएको थियो।