
काठमाडौं। यसपटक दसैंको मुखमा ड्राइफ्रुट्स महँगो भएको छ। विगतमा तिहारताका माग उच्च हुने ड्राइफ्रुट्सको भाउ यसपटक दसैं सुरु नभइ बढेको हो।
व्यवसायीका अनुसार पछिल्लो समय बजारमा ड्राइफ्रुट्सको माग सदाबहार जस्तो छ। आयातकर्ताले खरिद नै महँगो परेको भन्दै थोकमा पठाउँदा खुद्रा पसलसम्म भाउ बढेको छ। ड्राइफ्रुट्समा ओखर, काजु, बदाम, किसमिस, छोकडा, सुकेको नरिवल, दालचिनी, मरिच, अंजिर, ल्वाङ, सुकुमेल, सुपारी लगायत पर्छन्।
थोकमै महँगिदा उपभोक्ता मूल्य उच्च भइरहेको व्यापारी बताउँछन्। दसैंमा उपभोक्ताले कोसेलीका रुपमा लैजान ड्राइफ्रुट्स खरिद गर्छन्।
दुई महिनाअघि काजुको खुद्रा मूल्य प्रति केजी १६०० देखि १७०० रुपैयाँ थियो। यतिबेला थोकमै १८०० रुपैयाँ पर्न थालेपछि उपभोक्ता मूल्य अकासिएको छ। किसमिस र नरिवलको भाउ ६०० तथा ओखरको मूल्य प्रति किलो ५५० देखि ६०० रुपैयाँ पुगेको छ। जबकि नरिवल र ओखरको मूल्य ४५० रुपैयाँसम्म झरेको थियो।
गत साउनमा प्रति केजी १४०० रुपैयाँ रहेको बदाम अहिले महँगिएर १६ सय रुपैयाँ भइसकेको छ। दालचिनी किलोको ६५० देखि ७००, ल्वाङ १९०० र सुकुमेल ४ हजार रुपैयाँ पुगेको छ। यो बढेको मूल्य हो।
मरिच, सुपारी र छोकडाको मूल्य मागका अनुपातमा आपूर्ति कम भएकाले अत्यधिक बढेको पाइएको छ। सुपारी प्रति केजी १२०० रुपैयाँ र मरिच १८०० रुपैयाँ पुगेको छ।
ड्राइफ्रुट्सको मूल्य थोकमै बढेकाले उपभोक्तालाई महँगो पर्नु स्वाभाविक भएको कात्यायनी सप्लायर्सका संचालक इसव पराजुली बताउँछन्।
‘यसपटक बिस्तारै भाउ बढ्दै छ। दसैंतिहारमा खपत बढ्छ। थोकमै बढेकाले बजार मूल्य पनि बढ्दै गएको हो,’ उनले भने।
बजारको माग अनुसार ड्राइफ्रुट्सको आपूर्ति नभएकाले पनि थोकमा मूल्य बढेको हुनसक्ने उनको भनाइ छ।
‘अहिले बजारमा काजु पर्याप्त पाइँदैन। पाइहाले पनि थोकमै प्रति केजी १८०० देखि २००० रुपैयाँसम्म पर्न थालेको छ,’ उनले भने, ‘थोकमा खरिद महँगो परेपछि खुद्रामा सस्तिने कुरै हुँदैन।’

थोक विक्रेताहरूले भन्सारमा कडाइ भएकाले काजुको मूल्य बढेको बताउने गरेका छन्।
बानेश्वरको सुनादेवी स्टोरका संचालक समिर कठायत माग उच्च हुने बेलामा भाउ तलमाथि भइरहेको बताउँछन्।
‘ठूला व्यापारीले बजारको अवस्था हेरी मूल्य निर्धारण गर्छन्। यतिबेला दसैं सुरु हुन लागेकाले बजारमा ड्राइफुट्सको भाउमा उचारचढाव छ,’ उनले भने।
बजारमा काजु खरिद गर्न नपाएको सामाखुसीको गोर्खाली किराना स्टोरका संचालक कृष्ण भट्टले बताए।
‘काजु अहिले होलसेलमै प्रति केजी १८०० पर्छ। त्यो पनि भने अनुसार पाइएको छैन। अनि उपभोक्ता मूल्य २ हजार रुपैयाँ त पुग्नु के अनौठो भयो र !,’ उनले भने, ‘अहिले सबै खालका ड्राइफ्रुट्सको भाउ बढेको छ।’
थोक कारोबारीबाटै मूल्य बढेर आएकाले आफूहरूले थोरै नापा राख्दा पनि उपभोक्ताका लागि महँगो हुन पुगेको भट्टले बताए।
सरकारले चालु आर्थिक वर्षका लागि नछोडाएको काजुको अन्तःशुल्क घटाएको छ। छोडाएको काजुमा १५ प्रतिशत अन्तःशुल्क रहेकाले व्यापारीले यसको बहाना बनाएर भाउ बढाउन थालेका छन्।
आयातकर्ताले भन्सारले कडाइ गरेको भनेर उम्किन खोजेपनि आयात घटेको छैन। बरु दसैंका लागि भनेर ड्राइफ्रुट्सको आयात बढ्दो छ।
भन्सार विभागका अनुसार यो आर्थिक वर्ष दुई महिनामा छोडाएको र नछोडाएको १ लाख ७६ हजार केजी काजु आयात भएको छ। काजु करिब १४ करोड ७५ लाख रुपैयाँको आयात गरिएको हो।
यस्तै ९ करोड १८ लाख रुपैयाँ बराबरको १ लाख १४ हजार केजी बदाम, ११ करोड रुपैयाँको ३ लाख ४७ हजार केजी ओखर तथा २० करोड रुपैयाँको हरियो र सुकेको सुपारी आयात भएको विभागको तथ्यांक छ।