सहकारी ठगीमा मुछिएका धनराजले मन्त्रीबाट हटेको अढाइ महिनामा कसरी तिरे ९१ लाख ?



प्रकाश भण्डारी
२०८१ भदौ ३० गते २०:०४ | Sep 15, 2024
सहकारी ठगीमा मुछिएका धनराजले मन्त्रीबाट हटेको अढाइ महिनामा कसरी तिरे ९१ लाख ?

काठमाडौं। सुशासनको पक्षमा चर्को कुरा गर्दै आएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ यतिबेला आफैं विवादमा तानिएका छन्।

Tata
GBIME
Zonsen

उनी विवादमा तानिएको प्रकरण हो- ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सहकारीको बचत हिनामिना। उनीमाथि पत्नीसँग मिलेर सहकारीको करिब १५ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ। जुन आरोपलाई उनले अस्वीकार गरेका छन्।

के त्यसो भए धनराज सहकारीसँग जोडिएका व्यक्ति नै होइनन् त?

कागजातहरुले त्यसो भन्दैन। उनीविरुद्ध उजुरी परेको छ।

सहकारीका अध्यक्ष कुम्भराज गुरुङले धनराज र सोही सहकारीमा महाप्रबन्धकको रुपमा काम गरेकी उनकी पत्नी ज्योतिले १२ करोड ५० लाख (ब्याजसहित १४ करोड ८१ लाख) रकम हिनामिना गरेको भन्दै उजुरी दिए। उजुरी २०८१ जेठ ६ गते परेको हो।

यो करिब १५ करोडबाहेक धनराजले लिएको ऋणको हिसाब अलग्गै छ।

कुम्भराज धनराजविरुद्ध सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिमा पनि पुगे। समितिमा कुम्भराजले धनराजमाथि सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै भने, ‘एक/दुई महिनामात्रै भयो धनराज आफैंले केही पैसा तिरे। त्यसपछि तिर्ने/नतिर्ने अत्तोपत्तो छैन।’

कुम्भराजले भनेजस्तै मितेरी सहकारीबाट लिएको ऋणबापत धनराजले वैशाख १७ गते ८२ लाख २६ हजार ९१४ र जेठ ६ गते ८ लाख ९८ हजार ७२० रुपैयाँ बुझाए।

दुई पटकमा ९१ लाख तिर्नुअघि उनी मन्त्रीबाट हटेको धेरै भएको थिएन। २०८० वैशाख २० गते कानुनमन्त्री नियुक्त भएका गुरुङ फागुन २१ सम्म पदमा बहाल रहे।

यो रकम उनले घर बनाउँदा ऋण चुक्ता गर्न सहकारीबाट निकालेको १ करोड ८५ लाख ऋणबापत बुझाएका हुन्। उनका अनुसार घर बनाउँदा ज्योति निकटहरुसँग ऋण लिइएको थियो। ‘घर बनाउँदा ज्योतिकै मान्छेहरूबाट ऋण लिइएको थियो। त्यो ऋण तिर्न सहकारीमा घर धितो राखेर ऋण निकालियो,’ उनले भने।

धनराजले सहकारीबाट ऋण निकाल्ने अवस्था आउनुमा ज्योतिमाथि दोष थोपरेर पन्छिन खोजेका छन्। ‘ज्योतिसँगको विवादको सुरुवात नै घरको विषय हो। मैले त किन घर चाहियो यतिकै ठीकै छ भनेको थिएँ। तर, ज्योतिको जिद्धिपछी बाध्य भएँ,’ उनले भने।

धनराजले पटकपटक ऋण तिरेको विवरण

कागजातहरुले उम्किने ठाउँ नदेखाएपछि धनराजले आफ्नो बचाउ गर्ने प्रयास संसद् बैठकदेखि विभिन्न माध्यमबाट गरिरहेका छन्, जहाँ उनले दिएका प्रष्टीकरण समेत विवादास्पद छन्। 

धनराजले पत्नी ज्योतिसँग २०७६ फागुन २९ गते जिल्ला अदालत ललितपुरमा सम्बन्ध बिच्छेद गरेको भनेकामा त्यसको एक वर्षपछि २०७७ फागुन ३ गते १२ लाख रुपैयाँ ऋण लिँदा पनि उनै ज्योतिलाई नै हकवालाका रुपमा राखेका छन्।

धनराजका अनुसार १२ लाख रुपैयाँ ऋण उनले छोरालाई अष्ट्रेलिया पठाउने क्रममा लिएका हुन्। 

धनराजले सम्बन्ध विच्छेदको एक वर्षपछि पत्नीलाई साक्षी राखेर १२ लाख ऋण लिन गरेको कागज

यो कागज बाहिरिएपछि धनराजले सहकारीमाथि दोष थोपर्न खोजेका छन् जसमा दम देखिंदैन। ‘सम्बन्ध विच्छेदपछि ऋणको पनि अलग अलग हिसाब गरिदिन भनेको थिएँ। मैले आफ्नो भागको मात्रै तिर्नेभन्दा पनि सहकारीले मानेन,’ उनले भने, ‘मैले किन लामो समयसम्म अडकाएको थिएँ भन्दा एकाउण्ट छुट्याइदिन्छ कि भनेर कुरें। तर भएन। मैले ५ लाख भनेर पठाएपछि उनीहरुले फेरि संयुक्तकै हिसाब गरेर पठाइदिए।’

उनले सहकारीले ताकेता गरेपछि बेइज्जत हुने डरले ऋण तिरेको बताएका छन्। ‘आजै तिर, भोलि तिर भनेपछि मैले के गर्ने? अर्कातिर धनराजले लोन खाएर तिरेन भन्ने हुने भएपछि मैले तिरेको हो,’ उनले भने। 

धनराजले सहकारीमा पैसा जम्मा गरेको भौचर

सम्बन्ध विच्छेदको एक वर्षपछि लिएको ऋणमा पनि पत्नीलाई साक्षी राखिएको देखिएपछि धनराज थप विवादित भएका छन्। उनले सहकारीको करिब १५ करोड बचत हिनामिनामा आफू विवादित हुने भएपछि सम्बन्ध बिच्छेदको फण्डा गरेको हुन सक्ने भन्दै छानबिनको माग उठेको छ।

धनराजले भने ऋण लिने कागजमा सहकारीका कर्मचारीले नै ज्योतिको नाम हकवालाका रुपमा राखेको भनेर आफू गलत छैन भन्ने देखाउन खोजे।

‘मैले छोरालाई अष्ट्रेलिया पठाउनका लागि ऋण लिंदा हकवालामा खाली ठाउँ छोडेको थिएँ। सहकारीका कर्मचारीले ज्योतिको नाम राखिदिएछन्। त्यसका आधारमा सम्बन्ध विच्छेदमाथि प्रश्न गर्नु ममाथि अन्याय हो,’ उनले भने।

उनले मन्त्रीबाट हटेको अढाइ महिनामा ९१ लाख रुपैयाँ चाहिं सहकारीलाई कहाँबाट ल्याएर तिरेका हुन् त? यो प्रश्नमा उनले घर बेचेको जवाफ दिए। ‘सहकारीको ऋण तिर्नुको साटो पचाउन खोजेको भन्ने हुन थालेपछि घर बेचें। घर बेचेको पैसाबाट सहकारीलाई ९१ लाख रुपैयाँ बुझाएको हुँ। यसमा मन्त्री हुँदा गैरकानुनी आर्जन गरेको हो भनेर आशंका गर्न आवश्यक छैन,’ उनले भने।

धनराज गुरुङ

संसदीय छानबिन समितिका सदस्यहरुले भने धनराजको यो जवाफलाई त्यति विश्वसनीय मानिरहेका छैनन्। उनीहरुले सहकारीमै पुगेर अध्यक्ष कुम्भराज र कर्मचारीहरुसँग छलफल गरेपछि धनराजले तिरेको ९१ लाख रुपैयाँ स्रोतबारे छानबिनको आवश्यकता देखेका छन्। ‘उहाँले भनेका सबैजसो कुरा नक्कली देखिन्छन्। यसबारेमा छानबिन हुनुपर्छ,’ समितिमा रहेका माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले भने।

छानबिन विशेष समितिका सदसय राजन दाहाल र शिशिर खनाल

कांग्रेसले के गर्छ?

कांग्रेसले आफू सरकारबाट हटेलगत्तै सहकारी ठगीको विषयलाई प्राथमिकतासाथ उठाएर करिब तीन महिना संसद् चल्न दिएन। तत्कालीन गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा जोडिएको भन्दै कांग्रेसले राजीनामा माग्यो। कांग्रेसको मागमा संसदीय छानबिन विशेष समिति बन्यो।

त्यही कांग्रेस अहिले आफ्नै उपसभापति धनराज सहकारी ठगीमा जोडिंदा मौन छ। धनराजले नै आफूमाथि छानबिन होस् भनेर संसद्‍मा बोलिसकेकाले पार्टीले यस विषयमा बोल्नुपर्ने आवश्यकता नरहेको प्रवक्ता डा. प्रकाशशरण महत बताउँछन्।

‘धनराजजीले नै मेरो बारेमा छानबिन होस् भनेपछि उजुरी गर्नेले सम्बन्धित निकायमा प्रमाणसहित जाने र त्यसबाट जे हुन्छ त्यही हो। अहिले पार्टीले उहाँको बारेमा थप निर्णय किन गर्नु पर्‍यो र?,’ प्रवक्ता महतले भने।

प्रकाश शरण महत

कांग्रेसले सरकारी निकायलाई देखाएर पन्छिँदा सरकारी निकाय सत्तारुढ र त्यसमा पनि गृह मन्त्रालय सम्हालेको दलका उपसभापतिमाथि छानबिन गर्ने पक्षमा छैनन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले मितेरी सहकारीको ठगीबारे अनुसन्धान थाले पनि धनराजसँग सोधपुछसम्म गर्न चाहेको छैन।

सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले बागमती प्रदेशको सहकारी कार्यालयले पठाएको पत्रका आधारमा अनुसन्धान थालेको तर धनराजमाथि सोधपुछ गर्ने स्थिति नरहेको बताए। ‘हामीलाई सहकारी सञ्चालक, पदाधिकारी र कर्मचारीमाथि अनुसन्धान गर्न भनेर पत्र आएको छ। धनराजबारे केही उल्लेख छैन,’ उनले भने।