काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)को ९ एन- एएलवाई कलसाइनको जहाज विस्तृत मर्मत सम्भार (सि-चेक) गरेर अढाइ महिनापछि भदौ २७ गते काठमाडौं आयो। इटलीबाट सि-चेक गरेर ल्याइएको जहाज लगत्तै उडान हुन सकेन।
नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निरीक्षण गर्दा एउटा इमर्जेन्सी एक्जिट डोर(आकस्मिक ढोका)को लेन्स नभएको पाइएपछि ग्राउण्डेड गरियो। साथै जहाजको सरसफाई नगरेको र खिया लागेको पनि क्यानको निरीक्षणमा देखियो।
क्यानले एउटा आकस्मिक ढोकामा समस्या देखिएपछि लोड घटाएर उडान अनुमति दियो। क्यानको निर्देशनपछि शुक्रबार काठमाडौं-नारिता उडानमा निगमले ९० जना यात्रु कम राख्यो। क्यानले किन एउटा ढोकाको लेन्स बिग्रिँदा लोड घटाउन लगायो ?
क्यानका एक प्राविधिकका अनुसार निगमको यो वाइडबडी जहाजमा २७४ जना यात्रु राख्न मिल्छ। जहाजमा तीन वटा ढोका छन्। विमानमा कुनै समस्या आएमा ९० जनाका दरले आकस्मिक रुपमा यात्रु निकाल्न मिल्ने व्यवस्था गरिएको छ। ‘एउटा ढोकामा समस्या भएकाले ९० जना यात्रु घटाएर उडान भर्न दिइएको हो,’ ती प्राविधिकले बिजमाण्डूसँग भने, ‘हवाई उडानमा साना साना विषयलाई पनि गम्भीर रुपमा हेर्नुपर्छ।’
क्यानले त्रुटि औंल्याएर लोड घटाइदिएपछि एनएसीले शनिबार ‘एक्जिट डोर’ लेन्स जडान गर्यो। त्यसपछि एनएसीले पूर्ण क्षमतामा नै दोहामा उडान गरिसकेको छ।
एनएसीले एक महिनामा सि-चेक गर्ने भनेर जहाज असार ९ गते इटलीको एटिटेक कम्पनीमा पठाएको थियो। तर, २ महिनामा पनि फिर्ता नआएपछि एनएसी व्यवस्थापन थप आलोचित भयो। त्यसपछि एनएसीले जहाजमा थप पार्टपूर्जा आवश्यक परेकाले सि-चेकमा ढिलाइ भएको प्रष्टीकरणसहित भदौ १० गते विज्ञप्ति निकाल्यो।
किन हाल्यो अर्को वाइडबडीको पार्टपूर्जा ?
९ एन-एएलवाई कलसाइनको जहाजको सि-चेक जारी रहँदा एनएसीले त्यही एटिटेक एसपीए कम्पनीमा भदौ १२ गते ९ एन-एएलजेड कलसाइनको अर्को वाइडबडी जहाज पठायो।
एनएसीले ९ एन-एएलजेड कलसाइनको जहाजका कतिपय पार्टपूर्जा ९ एन-एएलवाई कलसाइनको जहाजमा राखेको पाइएको छ।
‘सि-चेक गरेर ल्याइएको जहाजमा प्रयोग भएको ल्याण्डिङ गियर, व्हील लगायत विभिन्न पार्टपूर्जा ९ एन-एएलजेड जहाजको जडान गरिएको पाइएको छ,’ एनएसीका एक प्राविधिकले भने, ‘अर्को जहाजका कुन कुन पार्टपूर्जा जडान गरिएको छ भनेर हामी विवरण निकाल्दैछौं।’
क्यानको स्वीकृतिमा अर्को वाइडबडीको पार्टपूर्जा हालिएको हो। ‘साइकल बाँकी रहेको पार्टपूर्जा हाल्न समस्या होइन। क्यानकै स्वीकृतिमा हाल्नु सामान्य नै हो,’ एनएसीका एक कर्मचारीले भने, ‘तर कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्पष्टीकरणपछि हतारहतार जहाज ल्याउन दबाब भने दिएकै हो।’
पर्यटनमन्त्री बद्री पाण्डेले जहाज सि-चेकमा ढिलाइ गरेको, एनएसीलाई आर्थिक रुपमा थप कमजोर बनाएको लगायत विषय उठाएर अध्यक्ष अधिकारीसँग भदौ १२ गते स्पष्टीकरण सोधेका थिए। एनएसीको बोर्डले पनि अधिकारीसँग त्यही दिन जहाज सि-चेकमा भएको ढिलाइलाई लिएर अधिकारीलाई पत्र काटेको थियो।
इटालीमा अढाइ महिना राखिंदा पनि जहाजको इन्जिन भने मर्मत गरिएन। जबकि जहाजको एउटा इन्जिनको प्यानल मर्मत गर्नु पर्ने अवस्थामा छ। ‘इन्जिनमा रहेको अकोस्टिक प्यानल अबको ३ महिनामा नबनाएको अवस्थामा जहाज पुनः गराउण्डेड हुनेछ,’ एनएसीका एक प्राविधिकले भने।