रामपुर (पाल्पा)। बिहान उज्यालो हुनासाथ पिँठ्युमा कपडा बोकेर व्यापारका लागि गाउँ पस्नु जुम्लाका ‘काफ्ले बा’ अर्थात् शिव काफ्लेको दिनचर्या हो। गाउँमा उकालो ओरालो गर्दा कपडाको भारीले जिउ थकित भए पनि अनुहार भने जहिल्यै हँसिलो हुन्छ।
हुम्लाको कनका सुन्दरी गाउँपालिका–८ सिञ्जाका काफ्ले झण्डै डेढ दशकदेखि पाल्पाको रामपुर र यसका आसपासमा कपडाको व्यापार गरिरहेका छन्। ढाका टोपी र इस्टकोट लगाउने उनी पिँठ्युमा राडीपाखी, गलैँचा बोकेर गाउँगाउँ पुग्छन्। जुम्लामा उत्पादन भएका राडीपाखी, गलैँचा, स्वेटर बोकेर ग्रामीण बस्तीमा व्यापार गर्नु उनको दिनचर्या हो।
उमेरले ५ दशक नाघेका काफ्लेलाई घुमन्ते व्यापारले अझै छोडेको छैन। आफूले घुमन्ते व्यापार रहरले नभई बाध्यताले गरेको उनी बताउँछन्।
पाल्पाको रामपुरमा कोठाभाडा लिएर आसपासका स्थानमा व्यापारका लागि पुग्छन्। उनले सुरुमा करिब ५ वर्षजति भारतको अल्मोडा, नैनीताल, बागेश्वर, गढवाल, पिथौरागढ, चम्पाव, डिडिहाटलगायत बजारमा राडीपाखीको व्यापार गरेका हुन्।
नेपाल फर्किएपछि पोखरा, कुश्मा, बुटवल, तानसेनलाई व्यापारको केन्द्र बनाएका छन्। तानसेनमा व्यापार गर्ने क्रममा उनी रामपुर आएका हुन्।
‘२०६८ सालतिर रामपुर आएर व्यापार सुरु गरेको हुँ। अहिलेसम्म पनि यहीँ छु,’ उनले भने।
रामपुर आउँदा सुरुआतमा राम्रो व्यापार भए पनि पछिल्ला वर्षमा भने घटेको उनको अनुभव छ। रामपुरमा व्यापारिक पसल बढ्दै जादा घुमन्ते व्यापारमा असर पुगेको उनी सुनाउँछन्। पछिल्लो समय गाउँघरमा हुने मेला महोत्सवले गर्दा पनि व्यापारमा कमी आएको उनको बुझाइ छ।
उनको मुख्य व्यापार भनेको राडीपाखीको हो। तर अहिले बढी मात्रामा गलैँचा, तन्नाको व्यापार हुन्छ। गाउँमा कहिलेकाहीँ आउने व्यापारीले स्थानीयलाई ठग्दा आफूहरू जस्ता घुमन्ते व्यापारीप्रतिको विश्वास कम भएको उनको अनुभव छ। सुरुआती दिनमा गाउँ-गाउँमा पुग्दा डर, धम्की भोग्नुपरे पनि अहिले त्यसो नभएको उनी बताउँछन्।
‘सबैले आफ्नै परिवारको सदस्यको व्यवहार गर्नुहुन्छ, राम्रोसँग चिन्नुहुन्छ, चलेको दरभाउअनुसार व्यापार गरिरहेको छु। दुई पैसा अहिलेसम्म ठगेर व्यापार गरेको छैन, सबैको माया र साथ पाएको छु,’ उनी भन्छन्, ‘यहाँ बस्न ढुक्क छ, कसैको डर, धम्की छैन। त्यही भएर अन्यत्र ठाउँको तुलनामा रामपुरमा धेरै समय बसिरहेको छु।’
पहिला दिनमा २० हजार रुपैयाँसम्म कमाइ गर्ने गरेकामा अहिले व्यापार घटेर दिनमा बढीमा चार हजार जति कमाइ हुने गरेको उनी बताउँछन्। ठूलो सपना छैन, सामान्य खाना, लाउन पुगेकामा यसमै खुसीका साथ जीवन बिताइरहेको उनले सुनाए।
राडीपाखी जुम्लाबाट र अन्य सामान काठमाडौंबाट खरिद गरी व्यापार गरिरहेका छन्। राडीपाखी लिन उनी जुम्ला चार/चार महिनामा पुग्छन्। काठमाडौंमा महिनामा एक पटक पुग्छन्। राडीपाखी विशेषगरी पूजाआजामा प्रयोग गरिन्छ। त्यसैले बजारका सामानभन्दा राडीपाखी नै ग्राहकले रोज्ने गरेको उनले बताए। राडीपाखी भेडाको ऊनबाट बनेको हुनाले पूजाआजाका लागि चोखो हुन्छ भन्ने विश्वास छ।
काफ्लेको परिवारमा श्रीमती, एक छोरी, दुई छोरा छन्। पालनपोषण, पढाइ खर्च काफ्लेको काँधमा छ। एक जनाको घुमन्ते व्यापारको कमाइले परिवारको गुजारा अहिलेसम्म चलेको उनी बताउँछन्। जेठो छोरा स्नातक सकेर लोकसेवा आयोगको परीक्षाको तयारीमा छन्। कान्छो छोरा एसईई उत्तीर्ण गरेपछि वैदेशिक रोजगारीका लागि कोरियन भाषा पढ्दैछन्। छोरी कक्षा ११ मा गाउँकै स्कुलमा पढ्छिन्।
‘छोराछोरी हुर्केबढेसँगै परिवारको खर्च बढ्दै गयो। थोरैले घरखर्च धान्न मुस्किल छ, व्यापार भने पहिलाको तुलनामा घट्दैछ, एक व्यक्तिको कमाइले जीविका चलाउन हम्मेहम्मे परेको छ,’ उनले भने, ‘बाध्यताले गाउँगाउँमा राडीपाखी, गलैँचालगायतका कपडा बोकेर व्यापारमा हिँडेको छु।’
बाउबाजेको पालादेखि नै गरिआएको पेसालाई उनले निरन्तरता दिइरहेका हुन्। यसरी व्यापार गर्नेहरू पुरानाले हिजोआज छाड्दै गएका छन्। बाउबाजेले गरेको पेसा आजसम्म धान्दै आएका काफ्ले यही काम आफ्ना सन्तानले पनि गर्नुपर्छ भन्ने मान्यता राख्दैनन्। उनी यो पेसा सन्तानले नगरुन् भन्ने चाहन्छन्।
परिवारको आर्थिक अवस्था कमजोर हुँदा पढ्ने रहर भए पनि पढ्न नपाएको उनको गुनासो छ। १० कक्षासम्म पढेका उनी आफूले दुःख गरेरै भए पनि छोराछोरीको उज्ज्वल भविष्य बनाउने सपना बुनेर गाउँगाउँमा व्यापारमा खटिएका छन्।
अहिले उहाँले रामपुरसँगै पाल्पाकै पूर्वखोला, रम्भा, बगनासकाली गाउँपालिका, स्याङ्जाको चापाकोट, मालुङ्गा, मिर्मी, बयरघारी, वालिङ, चिन्नेबास, गल्याङका गाउँसम्म व्यापार गर्न पुग्छन्।
घुमन्ते व्यापारमा उनको साथमा पहिला दुई/तीन जना साथी थिए, अहिले भने एक्लै छन्। सँगै व्यापार गर्ने साथीहरूले पछिल्लो समय यो व्यवसाय छाडेका छन्।
उनको गाउँ जुम्लाबाट व्यापार गर्ने थलो पाल्पा रामपुर आउन वा रामपुरबाट जुम्ला जान एकतर्फी मात्रै तीन दिनको यात्रा गर्नुपर्छ। जुम्लाबाट सुरु गरेको यात्रा कालिकोट, दैलेख, सुर्खेत, कोहलपुर र बुटवल हुँदै पाल्पा रामपुर आइपुगिन्छ। त्यहाँबाट सामान यहाँसम्म ढुवानी गर्न सहज छैन। रासस