स्मार्ट मिटर जडान अलपत्र, ‘एमडीएम’ सफ्टवेयरको क्षमता स्पष्ट नहुँदा दोस्रो चरण अन्योलमा



जनक वली
२०८१ भदौ २९ गते १०:३२ | Sep 14, 2024
स्मार्ट मिटर जडान अलपत्र, ‘एमडीएम’ सफ्टवेयरको क्षमता स्पष्ट नहुँदा दोस्रो चरण अन्योलमा

काठमाडौं। उपत्यकाको सहरी क्षेत्रमा बिजुलीको खपत ग्राहकको घरका मिटरमै हेरेर बिल दिन रीडरले पुगिरहनुपर्दैन। कार्यालयबाटै विद्युत् प्राधिकरणले हेर्न सक्छ, बिल उपभोक्ताले मोबाइलमै पाउँछन्, महसुल डिजिटल नै बुझाउन सक्छन्। बुझाउन धेरै ढिला गरे प्राधिकरणले कार्यालयबाटै लाइन काटिदिन सक्छ। देशका सबै ठाउँमा यस्तो सुविधा विस्तारको योजनामा भने प्राधिकरणले काम गर्नै सकेको छैन।

Tata
GBIME
Zonsen

‘एमडीएम’ सफ्टवेयरको क्षमता स्पष्ट नहुँदा प्राधिकरणको स्मार्ट मिटर जडानको कार्यले निरन्तरता पाउन नसकेको हो। आफ्नो सेवा प्रवाहलाई स्मार्ट बनाउने उद्देश्यका साथ २०७७ साउनदेखि प्राधिकरणले स्मार्ट मिटर जडान सुरु गरेको थियो। पहिलो चरणको काम सकिएको करिब ४ वर्ष भयो, दोस्रो चरणको काम रोकिएको छ।

सुरुमा सञ्चार मन्त्रालयसँग फ्रिक्वेन्सीको बारेमा विवाद हुँदा काम राेकिएको थियो। फ्रिक्वेन्सीको  विवाद सुल्झएको लामो समयदेखि स्मार्ट जडान हुन सकेको छैन। प्राधिकरणले स्मार्ट मिटरलाई पहिलो चरणमा पाइलट प्रोजेक्टको रुपमा काठमाडौं उपत्यकाका ११ वटा वितरण केन्द्रमा जडान गर्ने योजना थियो। जसमा २ वटा वितरण केन्द्रमा स्मार्ट मिटर जडान समेत गरिसकेको छ। 

प्राधिकरणले एसियाली विकास बैंकको सहुलियत ऋणमा स्मार्ट मिटर जडान सुरु गरेको हो। रत्नपार्क र महाराजगञ्ज क्षेत्रमा करिब ९८ हजार स्मार्ट मिटर जडान गरिसकेको छ।

त्यसपछि प्राधिकरण दोस्रो चरणमा उपत्यकाका लागि करिब ६ लाख स्मार्ट मिटर जडान गर्ने तयारीमा थियो। प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले बोलपत्र आह्वान गर्नको लागि बिडिङ समेत तयारी पारिसकेका थिए। तर, स्मार्ट मिटरको लागि प्राधिकरणले प्रयोग गरेको ‘एमडीएम’ सफ्टवेयरको क्षमता स्पष्ट नहुँदा दोस्रो चरणको काम अगाडि बढ्न सकेको छैन।

प्राधिकरणले सुरुका काठमाडौं उपत्यकामामात्र जडान गर्ने योजनाअनुरुप जडान सुरु गरेको थियो। तर पछिल्लो समय प्रत्येक फिडरमा फरक-फरक सफ्टवेयर जडान गर्दा इन्टिग्रेसन गाह्रो हुने भन्दै देशभर एउटै सफ्टेवयर प्रयोग गर्नु पर्ने निचोडमा प्राधिकरण पुगेको छ।

प्राधिकरणले स्मार्ट मिटरको लागि ‘एमडीएम’ सफ्टवेयर प्रयोग गरेको छ। सुरुमा उक्त सफ्टवेयर उपत्यकामा जडान गर्ने गरी प्रयोग गरिएको थियो। तर, देशभर नै स्मार्ट मिटर जडान गर्दा ‘एमडीएम’ क्षमताले धान्न सक्छ/ सक्दैन भन्ने विषयमा प्राधिकरणले विभिन्न कन्सल्ट्यान्स र सफ्टवेयर निर्माता कम्पनीसँग छलफल अगाडि बढाएको छ।

एमडीएम सफ्टवेयरको निर्माता चाइनिज कम्पनी हो। देशभर स्मार्ट मिटर जडान गर्दा सफ्टवेयरको क्षमताले धान्न सक्छ/ सक्दैन?, नयाँ टेक्नोलोजीबाट अनुसार सफ्टवेयरले काम गर्न सक्छ/सक्दैन? भनी प्राधिकरणले सफ्टवेयर निर्माता कम्पनीलाई प्रश्न सोधेको प्राधिकरणका स्मार्ट मिटर जडानका आयोजना प्रमुख विजय श्रेष्ठले बताए।

‘हामीले एमडीएम सफ्टेवयर प्रयोग गरेका छौं। सुरुमा उपत्यकामा जडान गर्ने योजना भएपनि देशभर स्मार्ट मिटर जडान गर्दा यसको क्षमताले धान्न सक्छ/सक्दैन भन्ने विषयमा छलफल भइरहेको छ? नयाँ प्रविधिमा यस सफ्टवेयरले काम गर्न सक्छ कि सक्दैन भनेर हामीले कम्पनीलाई सोधेका छौं,’ उनले भने, ‘तर हालसम्म आधिकारिक रुपमा कुनै धारणा दिएको छैन। त्यसै पर्खाइमा छौं। उसको धारणा आएपछि थप प्रक्रिया अगाडि बढ्छ।’

सफ्टवेयरमा निर्णय हुन नसक्दा उपत्यकामा जडान गर्ने भनिएको साढे ५ लाख स्मार्ट मिटर जडानसमेत अन्योलमा परेको छ। प्राधिकरणले सिगंल फेजको मिटरलाई विस्थापित गर्दै आफ्नो सेवा प्रवाह स्मार्ट बनाउने उद्देश्यसहित स्मार्ट मिटर जडान सुरु गरेको थियो। स्मार्ट मिटर विद्युत् खपत गर्ने यन्त्र हो। जसले स्वचालित रुपमा प्राधिकरण र ग्राहकलाई विद्युत् खपतको बारेमा जानकारी दिन्छ।

विद्युत् खपतको डाटा दुवैतर्फ प्रसारण हुन सक्ने हुँदा केन्द्रबाट मिटर रिडिङ गर्न सकिने र बिल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै अनलाइन काट्न सकिन्छ। जसले गर्दा मिटर रिडिङको कारण हुने विद्युत् चुहावट नियन्त्रण गर्न सकिने प्राधिकरणले जनाएको छ। कसैले मिटर बाइपास गरी विद्यतु चोरी गर्न खोजेमा त्यसको जानकारी हुने हुँदा चोरी नियन्त्रणमा प्रभावकारी हुनेछ।