काठमाडौं। सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालनका लागि विभिन्न सेवामा छुट दिने गरी कार्ययोजना बनाएकामा वायुसेवा प्रदायक कम्पनीहरुले आनाकानी गर्न थालेका छन्।
वायुसेवा कम्पनीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) बाहिर नजानका लागि आफ्नो मुलुकका नेपालस्थित दूतावासमार्फत दबाब बढाएका छन्।
टीआईए कात्तिक अन्तिम सातादेखि ५ महिना दैनिक १० घण्टा बन्द गर्नुपर्ने भएका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ५० प्रतिशत उडान पोखरा र भैहवाबाट गर्न पत्राचार गरेकामा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीहरुले कार्यान्वयन गर्न नसकिने जनाउसहित दबाब बढाएका हुन्। क्यानका एक कर्मचारीले भैरहवा र पोखरामा नजानका लागि विभिन्न वायुसेवा प्रदायक कम्पनीहरुले शक्ति प्रयोग गर्न थालेको बताए।
‘धावन मार्ग विस्तारका क्रममा टीआईए कात्तिक अन्तिम सातादेखि दैनिक १० घण्टा बन्द गर्नुपर्ने हुन्छ। त्यसैले हामीले सबै वायुसेवा प्रदायक कम्पनीलाई बोलाएर यसअघि नै कम्तिमा ५० प्रतिशत अन्तर्राष्ट्रिय उडान भैरहवा र पोखराबाट गर्ने तयारी थाल्न भनेका थियौं,’ क्यानका ती कर्मचारीले भने, ‘त्यतिखेर सहमति जनाएका कम्पनीमध्ये कतिपयले अहिले टीआईए नछोड्नका लागि एम्बेसीको पावर लगाउन थालेका छन्। कतिपयले एम्बेसीलाई पत्र लेख्न लगाएका छन् कतिपयले अरु शक्ति प्रयोग गरिरहेका छन्। यसमा नयाँ पुराना दुवै खाले छन्।’
टीआईए अहिले दैनिक २१ घण्टा सञ्चालन हुन्छ। उसलाई अहिले नै उडान व्यवस्थापन गर्न कठिन छ। त्यसैले ट्याक्सी-वे विस्तारका लागि टीआईए राति १० बजेदेखि बिहान ८:०० बजेसम्म बन्द गर्ने तयारी छ।
१० घण्टा बन्द गर्दा वायुसेवा प्रदायक कम्पनीले भैरहवा र पोखरा जानुको विकल्प हुँदैन। ती वायुसेवा प्रदायक कम्पनीलाई आकर्षित गर्न सरकारले एक महिनाअघि कार्ययोजना समेत ल्याएको छ।
कार्ययोजनामा दुवै अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानमा यात्रु सेवा, पार्किङ, ल्याण्डिङ र नेभिगेसन सेवा शुल्कमा पूर्ण छुट दिने, ग्राउण्ड ह्याण्डलिङ सेवामा क्यानले ७५ प्रतिशत छुट दिने लगायत व्यवस्था छ।
यस्तै पर्यटन शुल्क नलिने, हवाई इन्धनको मूल्य ब्रेक इभन प्वाइन्टमा निर्धारण गरी बिक्री गर्ने अध्यागमन कार्यालय पूर्णरुपमा सञ्चालन गर्ने, पोखरा र भैरहवा विमानस्थलमा भिसा सेन्टर स्थापना गर्न लगाउने भनिएको छ।
मन्त्रिपरिषद्ले स्वीकृत गरेको कार्ययोजनाबारे पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान गर्ने सबै कम्पनीलाई भदौ दोस्रो साता मन्त्रालयमा बोलाएर जानकारी गराएका थिए। त्यतिखेर कम्पनीका प्रतिनिधिले कार्ययोजना प्रशंसनीय रहेको भन्दै आफूहरुलाई कार्ययोजनामा समावेश विषयसहित पत्राचार गरे मुख्यालयसँग कुरा गरेर योजना बनाउन सहज हुने बताएका थिए।
तर, तिनै कम्पनीमध्ये कतिपयले अहिले पोखरा र भैरहवाबाट उडान गर्दा यात्रु पाउने आधार नरहेको भन्दै टीआई बाहिर नजाने वातावरणका लागि दबाब बढाएका हुन्।
‘हामीले उडान गर्ने मुनाफाका लागि हो। तर, पोखरा र भैरहवामा यात्रु पाउने आधार सरकारले नै बनाएको छैन। कार्ययोजना बनाएको भनिएपनि त्यसमा उल्लेख भए अनुसार छुटको निर्णय भएको छैन। यात्रु ती विमानस्थलमा जाने पूर्वाधार तयार नभएको अवस्थामा हामी के आधारमा जाने?,’ विदेशी वायुसेवा प्रदायक एक कम्पनीका प्रतिनिधिले भने, ‘जानाजान घाटाको व्यवसायमा कसले हात हाल्छ? यात्रुविनै जहाज उडाउने कुरा त भएन नि।’
पछिल्लो समय एयर इण्डियाको लो कस्ट एयरलाइन्स एयर इण्डिया एक्सप्रेसले नयाँ तालिका मागेको छ। उसले आउँदो विन्टर सिजनबाट लागू हुने गरी टीआईएबाटै उडान गर्न स्लट मागिरहेको क्यानका कर्मचारीको भनाइ छ। ‘एयर इण्डिया एक्सप्रेसका प्रतिनिधिले टीआईएमा स्लट अप्लाइ गरेका छन्। तर, सम्भव छैन,’ उनले भने।
टीआईएमा हाल नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, एयर इण्डिया, भिस्तारा, इण्डिगो, सिंगापुर एयरलाइन्स, क्याथे प्यासिफिक, चाइना साउदर्न, तिब्बत एयरलाइन्स, चाइना इस्टर्न, सिचुआन एयरलाइन्स, कतार एयरवेज, फ्लाइ दुबई, एयर अरेबिया, एयर अरेबिया अबुधाबी, मलिन्दो, सलाम एयर, थाइ एयरवेज, कुवेत एयरलाइन्स, जजिरा एयर, कोरियन एयर र मलेसिया एयरलाइन्सले दैनिक १०० उडान गर्दै आएका छन्।