पर्यटन बोर्डलाई ब्युँताउन जोशीले थाले पहल, मन्त्री र निजी क्षेत्रका प्रतिनिधिसामु सुनाए योजना



बिजमाण्डू
२०८१ भदौ २४ गते १९:२९ | Sep 9, 2024
पर्यटन बोर्डलाई ब्युँताउन जोशीले थाले पहल, मन्त्री र निजी क्षेत्रका प्रतिनिधिसामु सुनाए योजना

काठमाडौं। दुई वर्षदेखि कोमाको अवस्थामा रहेको नेपाल पर्यटन बोर्डलाई नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले ब्युँताउन पहल थालेका छन्।

Tata
GBIME
Zonsen

उनले पदभार ग्रहण गरेको भोलिपल्ट सोमबार पर्यटनमन्त्री बद्री पाण्डे र निजी क्षेत्रका प्रतिनिधिलाई एक ठाउँमा राखेर छलफल गरेका छन्। पर्यटन बोर्ड आफैं पनि सार्वजनिक निजी साझेदारी अन्तर्गतको संस्था हो।

नवनियुक्त सीइओ जोशीले परिचयात्मक कार्यक्रम राखेर पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधिलाई बोर्ड निजी क्षेत्रको सुझाव अनुसार अगाडि बढ्ने सन्देश दिन खोजेका छन्। उनले आइतबार पदबहाली गरेका थिए। बोर्डले सात महिनापछि सीइओ पाएको हो। यो अवधिमा पर्यटन प्रवर्धनमा बोर्डको खासै उपस्थिति देखिएन। त्यसअघि तत्कालीन सीइओ धनञ्जय रेग्मी करिब डेढ वर्ष पर्यटन प्रवर्धन गर्नेभन्दा एकपछि अर्को विवादमा मुछिए।

जोशीले मुलुकमा पर्यटन क्षेत्रबाट आर्थिक समृद्धि हासिल गर्ने गरी काम गर्न सकिने भन्दै त्यसका लागि सबै सरोकारवालाको सहयोग चाहिने बताए।

दीपकराज जोशी

उनले भारत र चीन जस्ता दुई ठूला छिमकीको बीचमा भएकाले नेपालले लाभ लिन सक्ने भन्दै अमेरिका, बेलायत जस्ता विकसित देशमा पनि प्रचार बढाएर पर्यटकको संख्या बढाउने बताए।

‘कोभिडपछिको रिकभरिमा समय लागेको छ। अब हामी धेरै नअल्मलिइकन नतिजा देखिने गरी काम गर्नेछौं। भारत र चीन मात्र होइन, धेरै देशका मान्छेलाई नेपाल घुम्नैपर्ने देश हो भन्ने सन्देश दिनेछौं। त्यसका लागि योजना बनाएर काम गर्नेछौं,’ उनले प्रिजेन्टेसन गर्दै भने, ‘विश्वका ५० वटा प्रमुख शहरमा प्रचार प्रसार गरिनेछ। सन् २०२५ मा सर्भाइभल, २०२६ मा रिभाइबल, २०२७ मा थ्राइबल र २०२८ मा ट्रान्सफर्मेसन गर्ने योजना छ।’

दीपकराज जोशीले गरेको प्रस्तुति

जोशीले पर्यटकको संख्या बढाउन हवाई सन्जाल विस्तारका साथै प्रमुख पर्यटकीय गन्तव्यतर्फका सडक तत्काल मर्मत गर्नुपर्नेमा जोड दिए। उनले यसअघि २०७२ पुसदेखि ४ वर्ष बोर्डको सीइओको रुपमा काम गरेका थिए।

कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिले पर्यटन क्षेत्रको विकासका लागि चाल्नुपर्ने कदमबारे आ आफ्नो धारणा सुनाए।

वायुसेवा संचालक संघका अध्यक्ष मनोज कार्कीले पर्यटकको संख्या बढाउन जहाज थप्नुपर्नेमा जोड दिए। यसका लागि सरकारले वायु सेवा कम्पनीहरुलाई सहुलियत दिने योजना ल्याएर प्रोत्साहित गर्नुपर्ने बताए।

टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले नेपाल वायुसेवा निगम (एनएसी)को व्यवस्थापन सुधारमा जोड दिए। उनले अहिलेको व्यवस्थापनबाट सुधार सम्भव नभएको भन्दै एनएसीलाई निजीकरण गर्नुपर्ने बताए।

‘नेपाल एयरलाइन्सलाई राज्यले चलाएको हामीले धेरै वर्षदेखि देखिसक्यौं। सुधारको कुनै गुञ्जायस देखिंदैन। निगमको कुन जहाज कहाँ कतिखेर बिग्रिन्छ थाहा हुँदैन। उडान नै अनिश्चित छ। त्यसैले कि निजीकरण गर्नुपर्‍यो कि विदेशी कम्पनीलाई व्यवस्थापनको जिम्मा दिनुपर्‍यो,’ उनले भने। 

नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले एनएसीको नेतृत्व तत्काल फेर्न मन्त्री पाण्डेलाई सुझाव दिए। ‘एनएसीमा नयाँ नेतृत्व आवश्यक छ। अहिलेको व्यवस्थापनबाट काम हुँदैन। निगमको सुधारका लागि हामी हरेक सहयोग गर्न तत्पर छौं,’ उनले भने। उनले बोर्डले जीटुजी नभइ बीटुबी मोडलमा काम गर्नुपर्ने आवश्यकता औंल्याए।

होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपालसँग ३५ लाख पर्यटक धान्न सक्ने क्षमता भएपनि त्यसको एक तिहाइ भन्दा नआएको अवस्थामा कुरा गर्नेभन्दा पनि नतिजा देखिने गरी काम गर्न आवश्यक रहेको बताए। ‘बनेको विमानस्थल सञ्चालनमा आएको छैन। सडकको अवस्था नाजुक छ। त्यसैले आजैबाट नयाँ अवधारणासहित काम गरौं,’ उनले भने।

बद्री पाण्डे

पर्यटनमन्त्री पाण्डेले एनएसीको अहिलेको बेथितिलाई टुलुटुलु हेरेर नबस्ने र सुधार गरेरै देखाउने दृढता व्यक्त गरे। उनले एनएसीमा सुधार गर्न सके त्यसले निजी क्षेत्रका वायुसेवा प्रदायक कम्पनीको नियमन गर्न सहज हुने भन्दै नीतिगत हस्तक्षेप गरेर भएपनि परिणाम देखाउने बताए।