विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले मंगलबारदेखि आमरण अनशन बस्ने घोषणा गरेका छन्।
पूर्व मुख्यमन्त्री कार्कीले सोमबार पत्रकार सम्मेलन गर्दै मंगलबार अपराह्न ४ बजेदेखि कोशी प्रदेशसभा अगाडि आमरण अनशन बस्ने घोषणा गरेका हुन्।
केदारले कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई आइतबार दिउँसो २ बजे ४८ घण्टाको अल्टिमेटम दिँदै आफू मुख्यमन्त्री हुँदा सुरु गरेका मुख्य कार्यक्रमलाई पुनः सञ्चालन नगरे मंगलबारदेखि अनशन गर्ने चेतावनी दिएका थिए।
उनले मुख्यमन्त्री हिक्मतले आफूले ल्याएका १० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत सेवासहितको निःशुल्क उपचारसहितका ९ कार्यक्रमलाई कटौती गरिएको भन्दै आक्रोश व्यक्त गरेका थिए।
खारेज गरिएको कार्यक्रममा बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, घिउ तथा धुलो दुधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम, सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रम, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति, डाक्टर, इन्जिनियर लगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति र जनावरमैत्री जंगल भएको केदारको दाबी छ।
उनले आफूले गर्ने आमरण अनशन पार्टीको कार्यक्रम नभई पार्टीको तहभन्दा माथि उठेको आम जनताको मुद्दा र कार्यक्रम भएको जिकिर गरेका छन्।
पत्रकार सम्मेलनमा विराटनगर महागनरपालिकाका प्रमुख नागेश कोइरालाको पनि उपस्थिति थियो।