काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले रेञ्ज एन्जाइटीको समाधान गर्न चार्जिङ स्टेसनको नेटवर्क एउटै सफ्टवेयरमा संचालनमा ल्याउन लागेको छ।
हाल प्राधिकरणको ६२ र निजी क्षेत्रको करिब ४०० डीसी फास्ट चार्जर संचालनमा छन्। यी चार्जिङ स्टेसनबाट दैनिक ३ लाख युनिटसम्म बिजुली खपत भइरहेको छ।
अहिलेसम्म प्राधिकरण र निजी क्षेत्रले चार्जिङ स्टेनको नेटवर्किङ सफ्टवेयर निर्माण गरी आ-आफ्नै तरिकाले संचालन गर्दै आएका थिए। यसले गर्दा एकीकृत चार्जिङ स्टेसनको विकास हुन सकेको थिएन।
प्राधिकरणले एकीकृत चार्जिङ स्टेसनको लोकेसन ट्र्याक गर्न मिल्ने गरी ‘इ-मोबिलिटी सर्भिस प्रोभाइडर’ नाममा इन्टिग्रेटेड सफ्टवेयर संचालनमा ल्याउन लागिएको प्राधिकरणका सहायक प्रबन्धक तथा इभी चार्जिङ आयोजनाका प्रमुख सागर ज्ञवालीले बताए। निजी क्षेत्रले तयार गरिरहेको सफ्टवेयरको काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ।
‘हामी इन्टिग्रेटेड सफ्टवेयर बनाउने काम गरिरहेका छौँ। निजी क्षेत्रले दसैँ अगाडि नै सफ्टवेयर संचालनमा ल्याउने तयारी छ,’ उनले भने, ‘अहिले निजी क्षेत्रले संचालन गरिरहेको चार्जिङ नेटवर्कको डेटा हामीले तयार पारिरहेको सफ्टवेयरमा इन्टिग्रेसन गर्नु पर्छ।’
चार्जिङ स्टेसनको लोकेसन ट्र्याक नहुँदा इभी प्रयोगकर्ताहरूले एउटै चार्जिङ स्टेसनमा घण्टौँ लाइन बस्नु पर्ने र कुन ठाउँमा स्टेसन छ भन्ने थाहा नपाइने जस्ता झन्झट बेहोर्दै आएका छन्। इन्टिग्रेटेड सफ्टवेयर संचालनमा आएपछि उक्त्त समस्याको समाधान हुने ज्ञवालीको दाबी छ।
‘अहिले चार्जिङ स्टेसन निर्माण गरिरहेका सबै निजी कम्पनीले आ-आफ्ना स्टेसनलाई सीएमएसमा ल्याउदै छन्। ती सबै सीएमएस एकै ठाउँमा ल्याउने काम प्राधिकरण गर्छ,’ उनले भने।
चार्जिङ स्टेसनको कमी र लोकेसन ट्र्याक नहुँदा विद्युतीय गाडी प्रयोगकर्ताले ‘रेञ्ज एन्जाइटी’ समस्या भोग्दै आएका छन्। एकीकृत सूचना दिने प्रणालीले समस्या समाधान हुने उनले बताए।
‘चार्जिङ स्टेसन कुन-कुन ठाउँमा छन्, कतिको दुरीमा छन् जस्ता कुराहरूले गर्दा रेञ्ज एन्जाइटी थियो। इन्टिग्रेटेड सफ्टवेयर संचालनमा आएपछि उक्त्त समस्याको हल हुन्छ भन्ने हाम्रो विश्वास छ,’ उनले भने।
इभीको बजार हिस्सा बढ्दै जाँदा अहिले निजी क्षेत्रले दैनिक ४ वटा चार्जिक स्टेसन निर्माणका लागि आवेदन दिने गरेको उनले बताए। उनका अनुसार नयाँ आउने सबै चार्जिङ स्टेसनहरू पनि दसैँबाट नेसनल चार्जिङ अपरेटर्समा समावेश हुनेछन्।
कसरी हुन्छ चार्जिक स्टेसनको लोकेसन ट्रयाक?
विद्युतीय सवारी साधन प्रयोगकर्ताले सुरुमा एपमा गएर प्रस्थान विन्दु र गन्तव्य विन्दुको लोकेसन राख्नु पर्छ। त्यसपछि उक्त्त एपले कति दुरीमा चार्जिङ स्टेसन छ, कुन बाटोबाट जाँदा कहाँ चार्जिङ स्टेसन छ भन्ने देखाउँछ।
जस्तै उदाहरणका लागि काठमाडौंदेखि इलाम जाँदा बर्दिबासको रुट छनाेट गर्दा त्यसबीचमा भएका चार्जिङ स्टेसनहरू लोकेसन सफ्टवेयरमा देखिन्छ।