काठमाडौं। उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं महानगरपालिका-३१ स्थित मध्यबानेश्वरबाट मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ।
शंकास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको नयाँ मोडलको ३५० सीसीको बुलेट मोटरसाइकल चलाइरहेका अछामको चौरपाटी गाउँपालिका-२ घर भई कोटेश्वर बस्ने २८ वर्षीय हिमाल खत्रीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो।
खत्रीसँग बरामद भएको बुलेट मोटरसाइकल नेपालमा दर्ता नभएको जानकारी पश्चात थप अनुसन्धान गर्दै जाँदा सोही नम्बरको अन्य पनि मोटरसाइकल भएको पत्ता लागेको हो। मोटरसाइकलको खोजतलासमा निस्केको टोलीले मध्यबानेश्वर बस्दै आएका अछामको चौरपाटी-२ घर भएका २५ वर्षीय प्रमोद कुँवरलाई समेत से ७ प ८५६२ नम्बरको ३५० सीसीको खैरो रंगको बुलेट मोटरसाइकलसहित नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।
वास्तविक नम्बर बागमती प्रदेश ०२-०४७ प १९७५ रहेको उक्त मोटरसाइकल काठमाडौंस्थित रानीबारीबाट गत साउन २८ गते हराएको थियो। सवारीधनी रानीबारी बस्ने रुपन्देहीका अनुज पाण्डेले कार्यालयमा खोजतलासको लागि निवेदन समेत दिएका थिए।
सोधपुछका क्रममा से ७ प ८५६२ नम्बर भएको अर्को मोटरसाइकल समेत रहेको चोरीमा संलग्न कुँवरबाट खुलेपछि गाडा निलो रंगको १५० सीसीको एफजेडएस. मोटरसाइकल समेत छाउनीबाट नियन्त्रणमा लिइएको छ। अनुसन्धानको क्रममा वास्तविक नम्बर बागमती प्रदेश ०२-०३८ प ९२५३ रहेको उक्त मोटरसाइकल काडाँघारी बस्ने ओखलढुंगाका उत्तम कुमार पराजुलीको रहेको खुल्न आएको हो। उक्त मोटरसाइकल ललितपुरको बालकुमारी क्षेत्रबाट गत वर्ष असोजमा हराएको थियो।
थप अनुसन्धान एवं कारबाहीका लागि चोरीमा संलग्न कुँवरलाई बरामद भएका मोटरसाइकलसहित प्रहरी वृत्त लैनचौरमा र नेपालमा दर्ता नगरी भन्सार छलेको आशंकामा बुलेट मोटरसाइकलसहित खत्रीलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको प्रवक्ता खड्काले जानकारी दिए।
थप अनुसन्धानका क्रममा करिब एक महिना अगाडि से ७ प ८५६२ नम्बर प्लेट भएको कालो रंगको यामाहा कम्पनीको १५५ सीसीको एमटी१५ बेबारिसे अबस्थामा फेला पारी प्रहरी बृत्त सिंहदरवारको नियन्त्रणमा रहेको तथ्य खुलेको हो। अनुसन्धान गर्दै जाँदा वास्तविक नम्बर बा.प्र.०२-०२२ प ५०७८ भएको उक्त मोटरसाइकल बागबजार बस्ने हितेश तण्डुकारले सिफल एरियाबाट हराएको भनी ट्राफिक प्रहरीमा निवेदन दिएको खुलेको थियो।
थप सूचनाका आधारमा नियन्त्रणमा लिएको विस्तविक नम्बर से ७ प ८५६२ भएको गाडा निलो रंगको १५० सीसीको एफजेडएस भने भन्सार कार्यालय पठाइएकोमा उक्त मोटरसाइकल खत्रीको रहेको तथ्य समेत खुलेको छ। उक्त मोटरसाइकलको वास्तविक कागजपत्र प्रयोग गरी अन्य मोटरसाइकल समेत प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
उक्त मोटरसाइकललाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा लामो समय पार्किङ नगर्न प्रवक्ता खड्काले अनुरोध गरेका छन्।