
काठमाडौँ । पठाओ पार्सलले एक महिनासम्म नेपालभर १ रुपैयाँमै समान डेलिभरी गर्ने घोषणा गरेको छ। ‘पठाओ पार्सल डेलिभरी महोत्सव’ अन्तर्गत आगामी भाद्र १६ देखि असोज १४ सम्म यो अफर लागू हुनेछ।
पठाओले हाल नेपालका ३०० भन्दा बढी स्थानमा पार्सल डेलिभरी सेवा दिँदै आएको छ। यो योजना अन्तर्गत पठाओ पार्सलबाट काठमाडौं उपत्यकामा २४ घण्टा भित्र सामान डेलिभरी हुने कम्पनीले जनाएको छ।
उपत्यकाबाहिरका मुख्य सहरमा दोस्रो दिन र अन्य स्थानमा ३ दिन भित्र समान डेलिभरी भइसक्ने पठाओको दाबी छ।
काठमाडौं उपत्यकाका साना-ठूला सबै व्यवसायलाई नेपालभर पुर्याउने उद्देश्यले ‘पठाओ पार्सल डेलिभरी महोत्सव’ सुरु गरिएको पठाओ नेपालको मार्केटिङ डाइरेक्टर सुरक्षा हमालले बताएकी छन्। हमालका अनुसार काठमाडौंको असन, न्यूरोड, कालिमाटी, वनस्थली, कुलेश्वर र चाबहिलमा ‘ह्युमन बिल्बोर्ड’ डुलाएर कपडा, फेशन, कस्मेटिक, एक्सेसरिज, ग्याजेटलगायत व्यवसाय तथा ग्राहकलाई महोत्सवबारे जानकारी गराइएको छ।
२०२३ डिसेम्बरदेखि सेवा सुरू गरेको पठाओ पार्सलले एक वर्ष नपुग्दै हजारभन्दा बढी व्यवसायलाई डेलिभरी सेवा प्रदान गरिसकेको छ। मासिक ९० हजारभन्दा बढि डेलिभरी गर्ने गरेको कम्पनीको दाबी छ।