काठमाडौं। एनसेलले रोमिङ सेवालाई चुस्त बनाउन मोबाइलमा एसएमएस अलर्ट सुविधा सुरु गरेको छ। यो सेवा अन्तर्गत केवाइसीमा दर्ता भएका प्रयोगकर्ताले पठाएका वान टाइम पासवर्ड (ओटीपी), एसएमएस र अन्य एसएमएस पाउने कम्पनीले जनाएको छ।
विविध डिजिटल सेवाहरूको प्रयोग बढ्दो क्रममा ग्राहकले एप्लिकेशन टू पर्सन (एटूपी) म्यासेज ‘ओटीपी, एसएमएस लगायत नोटिफिकेसनका रुपमा प्राप्त गर्न सक्ने एनसेलले विज्ञप्तिमा उल्लेख गरेको छ।
उक्त नोटिफिकेशन सरकारी निकाय, अर्ध–सरकारी निकाय, बैंक तथा वित्तीय संस्था, विभिन्न सेवा प्रदान गर्ने निजी क्षेत्रका संघसंस्थासँगै गुगल र फेसबुक जस्ता विश्वव्यापी प्लेटफर्मले पठाउँदै आएको कम्पनीले जनाएको छ।
‘हाम्रा कुनै पनि नम्बर रेन्जमा एटूपी म्यासेज वा नोटिफिकेशन डेलिभरीको समस्या छैन। हरेक वर्ष बढिरहेको एटूपी म्यासेज प्रवाह डिजिटलाइजेसनको सकारात्मक सूचक हो। जसले हाम्रा ग्राहकहरू सधैं सक्रिय रहेको देखाउँछ,’ एनसेलका चिफ कमर्सियल अफिसर उमैर मोहसिनले भने, ‘सुरुवातमा ९७० रेन्जमा केही प्रारम्भिक समस्याहरू देखिएका थिए। हामी पुनः स्पष्ट पार्न चाहन्छौं, ती समस्याहरू विभिन्न प्रमुख सेवा प्रदायकहरूको द्रुत समझदारीका साथ समाधान गरिसकिएका छन्।
उनका अनुसार एनसेलका ग्राहकले आन्तरिक राजश्व कार्यालय, नेपाल विद्युत् प्राधिकरण, बैंक तथा वित्तीय संस्था र विभिन्न सामाजिक सञ्जालबाट ओटीपी प्राप्त गर्दै आएका छन्।
एनसेलको नम्बरमा एसएमएस, ओटीपी र नोटिफिकेसन नआउने भन्ने गलत बुझाइका बारेमा स्पष्ट पार्दै उनले देशभित्र र बाहिर विदेशमा रोमिङमा भएको बेलामा एनसेलका सबै नम्बरहरू सूचनाहरू प्राप्त गर्न योग्य रहेको दाबी गरे।
साथै, एनसेलले सर्ट-कोड संचालक तथा सेवा प्रदायकलाई पनि प्रणालीमा एनसेलको नयाँ ९७० नम्बर रेन्ज समावेश गर्न आग्रह गरेको छ। एनसेलले आफ्ना ग्राहकलाई सुविधा अझै विस्तारित गर्ने योजना अनुरुप गत वर्षदेखि नै यो नयाँ नम्बर रेन्जमा मोबाइल नम्बरहरू जारी गर्न थालेको जनाएको छ।
‘केही सर्ट-कोड संचालकहरू वा सेवा प्रदायक हुन सक्छन् जो हाम्रो नयाँ ९७० नम्बर रेन्जका बारेमा अनविज्ञ छन्। त्यसैले हामी त्यस्ता सेवा प्रदायकहरूलाई पनि आफ्नो सिस्टमलाई अपडेट गरेर हाम्रो यो नयाँ रेन्ज अनुकुल बनाउन अनुरोध गर्दछौं,’ उनले भने, ‘सबै एनसेलका नम्बर सिरिजहरू लोकल आगमन कल र अन्तर्राष्ट्रिय कलहरूको लागि पनि पहुँच योग्य छन्।’
यसबाहेक केही समस्या भए ग्राहक र सर्ट कोड संचालकहरूले एनसेल कस्टमर केयर वा इन्टरप्राइज टोलीसँग सम्पर्क गरेर राख्न उनले आग्रह गरे।
योसँगै कम्पनीले ९७० नम्बर रेन्जमा ग्राहकले सुरुका ‘९७०५’ बाहेक अन्तिम छ अंकहरू आफैले सधैं सक्रिय विशेष नम्बरका रुपमा चयन गर्न सक्ने जनाएको छ।