काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत होटलहरुको वित्तीय विवरण मिश्रित खालको देखिएको छ।
नेप्सेमा सूचीकृत ६ मध्ये चार वटा होटलले गत आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण सार्वजनिक गरेकामा २ वटाले खुद नाफा बढाएका छन् भने २ वटाको घटेको देखिएको छ।
गत वर्ष सोल्टी हाेटल र तारागाउँ रिजेन्सी नाफा बढाउन सफल भएका हुन्। तारागाउँ रिजेन्सीले ५१ करोड ८२ लाख रुपैयाँ नाफा गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा २८.१७ प्रतिशत बढी हो। अघिल्लो वर्ष कम्पनीको नाफा ४० करोड ४३ लाख रुपैयाँ थियो।
तारागाउँ रिजेन्सीले गत वर्ष १ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ आम्दानी गरेको छ। यो रकम अघिल्लो वर्षकोभन्दा १६ करोड बढी हो। कम्पनीले अघिल्लो वर्ष १ अर्ब ५७ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको थियो।
सोल्टी होटलको नाफा ८.३० प्रतिशतले बढेर ६० करोड १० लाख पुगेको छ। अघिल्लो वर्ष कम्पनीले ५५ करोड ४९ लाख रुपैयाँ नाफा गरेको थियो।
सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाइँले पछिल्लो समय काठमाडौंमा नयाँ होटल थपिएपनि आफूहरु व्यापार बढाउन सफल भएको बताए। ‘पछिल्लो समय काठमाडौंमा नयाँ होटल थपिएपनि हामी व्यापार बढाउन सफल भएका छौं। गत वर्ष हाम्रो रेभिन्यु बढेको छ,’ चापागाईँले भने, ‘प्रतिस्पर्धा रहे पनि उच्चस्तरको सेवा लिएर हामी पाहुनाको विश्वास आर्जन गर्न सफल छौं।’
सोल्टीले आम्दानीको ६० प्रतिशत विदेशी पर्यटक र ४० प्रतिशत इभेन्ट आयोजनामार्फत आर्जन गरेको हो। होटलले आफ्नो सेवा शुल्क ८ प्रतिशतसम्म वृद्धि गरेका कारण पनि आम्दानीमा वृद्धि हुन पुगेको चापागाइँले जानकारी दिए।
सोल्टीले गत वर्ष २ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ। यो आम्दानी घिल्लो वर्ष २ अर्ब २५ करवड ४६ लाख रुपैयाँ थियो।
सिटी होटलको नाफा ऋणात्मक देखिएको छ। ओरियण्टल होटलको नाफा भने खुम्चिएको छ। चन्द्रागिरी हिल्स र कालिन्चोक दर्शनले गरेका छैनन्।
ओरियण्टल होटलको नाफा २३.९९ प्रतिशतले खुम्चिएको छ। गत वर्ष कम्पनीको खुद नाफा १२ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष कम्पनीले १६ करोड ९ लाख रुपैयाँ नाफा गरेको थियो।
ओरियन्टलअन्तर्गत र्याडिसन होटल सञ्चालनमा छ। तीब्र प्रतिस्पर्धाका कारण आम्दानी नै घटेकाले त्यसको असर खुद नाफामा परेको होटलले जनाएको छ।
‘पछिल्लो समय होटल उद्योगमा आएको बढ्दो प्रतिस्पर्धाका कारण नाफा घट्न गएको हो। हाम्रो वरपर पनि केही होटल थपिए जसले गर्दा बजार व्यापारमा प्रतिस्पर्धा धेरै भयो,’ होटल संचालक विधाता श्रेष्ठले भनिन्, ‘अब हामी सेवा सुविधा विस्तारको योजनामा छौं।’
होटलले गत वर्ष १ अर्ब २१ करोड ६२ लाख रुपैयाँको व्यापार गरेको छ। यो रकम अघिल्लो वर्षको भन्दा केही बढी हो। अघिल्लो वर्ष होटलले १ अर्ब २१ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो।
होटलले आफ्नो रुम, बैंक्विट हल विस्तारका लागि रेनोभेसनको काम सुरु गरिसकेको श्रेष्ठले जानकारी दिइन्।
सिटी होटलको खुद नाफा २० करोड ४७ लाख रुपैयाँ ऋणात्मक देखिएको छ। सिटी होटल अन्तर्गत ह्यात प्लेस सञ्चालनमा छ। होटलले आम्दानी ५० करवड ९७ लाखबाट ५८ करोड २३ लाख पुर्याएपनि सञ्चालन खर्च बढेका कारण खुद नाफा ऋणात्मक भएको हो। सिटी होटलको खुल नाफा अघिल्लो वर्ष पनि २७ करोड २२ लाख रुपैयाँ ऋणात्मक नै थियो।
होटलहरुको वित्तीय विवरण
कम्पनी | २०८०/८१ नाफा रुपैयाँमा | २०७९/८० नाफा रुपैयाँमा | नाफा प्रतिशत फरक | चुक्ता पुँजी रुपैयाँमा | रिजर्भ रुपैयाँमा | २०८०/८१ आम्दानी रुपैयाँमा | २०७९/८० आम्दानी रुपैयाँमा | २०८०/८१ ईपीएस रुपैयाँमा | २०७९/८० ईपीएस रुपैयाँमा |
ओरियण्टल होटल | १२२३०९९३४ | १६०९२२४३७ | -२३.९९ | ११२८०९०४३८ | २७४५९२७७४३ | १२१६२७९९१४ | १२११०८७६६८ | १०.८४ | १४.२७ |
सोल्टी होटल | ६०१०७७६०७ | ५५४९७९५९५ | ८.३१ | ९२८९५३७०० | १४३३१०८७८२ | २४९७५४५५७४ | २२५४६२६२६१ | ६.४७ | ६.२७ |
सिटी होटल | -२०४७३०५७० | -२७२२२०४५५ | – | १६७४०००००० | ५८२३९३३२० | ५०९७३४१२८ | -१२.२३ | -१६.२६ | |
तारागाउँ रिजेन्सी | ५१८२६८७२० | ४०४३३१५४६ | २८.१८ | १९६२१२०१६० | ९१४६९६८१२ | १७३८३८२९९१ | १५७१८०५०३३ | २६.४१ | २१.४३ |