२ अर्बलाई लिएर बालुवाटारमा विष्णु पौडेल र शंकर पोखरेलबीच चर्काचर्की, ओलीले गर्नुपर्‍यो हस्तक्षेप



प्रकाश भण्डारी
२०८१ साउन २९ गते १८:१२ | Aug 13, 2024
२ अर्बलाई लिएर बालुवाटारमा विष्णु पौडेल र शंकर पोखरेलबीच चर्काचर्की, ओलीले गर्नुपर्‍यो हस्तक्षेप
प्रधानमन्त्री केपी शर्मा ओलीसँग लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु। बैठकमा विष्णु पौडेल र शंकर पोखरेल पनि

काठमाडौं। अर्थमन्त्री एवं नेकपा(एमाले)का उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच भनाभन भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दुई नेताबीच वित्तीय समानीकरण अनुदानको विषयलाई लिएर चर्काचर्की भएको हो।

Tata
GBIME
Zonsen

मुख्यमन्त्री चेतनारायण आचार्यसहित लुम्बिनी प्रदेश मन्त्रिपरिषद्का सबै सदस्यले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।

भेटमा पौडेल र पोखरेल पनि सहभागी थिए। गत वर्षको वित्तीय समानीकरणको २ अर्ब १० करोड रुपैयाँ अनुदान उपलब्ध गराउनुपर्ने मुख्यमन्त्री आचार्यको प्रस्तावमा महासचिव पोखरेलले साथ दिए। पोखरेलले आचार्यको प्रस्ताव अनुसार निकासा गर्न आग्रह गरे। तर, अर्थमन्त्री पौडेलले प्रस्ताव ठाडै अस्वीकार गरे।

अर्थमन्त्री पौडेलले गत वर्षको रकम फ्रिज भइसकेको भन्दै रकम निकासा गर्न नसक्ने जवाफ दिएपछि पोखरेलले किन नमिल्ने भन्दै प्रश्न गरे।

‘अर्थमन्त्री पौडेल र महासचिव पोखरेलबीच पैसा निकासाका विषयमा चर्काचर्की नै पर्‍यो,’ बैठकमा सहभागी प्रदेशका एक मन्त्रीले बिजमाण्डूसँग भने, ‘दुबैबीच भनाभनकै अवस्था आएपछि प्रधानमन्त्रीज्यूले हस्तक्षेप गर्नुपर्ने अवस्था आयो।’

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले घाँटी हेरेर हाड निल्नुपर्ने भन्दै भनाभनलाई विषयान्तर गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु। साथमा विष्णु पौडेल र शंकर पोखरेल

मुख्यमन्त्री आचार्यले पनि गत आर्थिक वर्षको अनुदानबापतको रकम निकासा गर्न नमिल्ने जवाफ अर्थमन्त्री पौडेलले दिएको जानकारी दिए।

‘यसभन्दा पछि के कसरी प्रदेशलाई सहयोग गर्न सक्छौं हेरौंला भन्नुभएको छ। हामीले प्रदेश आर्थिक संकटमा गइसक्यो भनेर अहिलेको अवस्थाका बारेमा जानकारी गराएका छौं। अर्थमन्त्रीले पहिलाको त फ्रिज भइसक्यो भन्नुभयो। प्रधानमन्त्री र अर्थमन्त्रीले हामीलाई आश्वस्त पार्ने प्रयास गर्नुभयो,’ उनले भने।

आचार्यले प्रदेशले संघबाट पाउने समानीकरण अनुदान उपलब्ध हुनेमा आफू आशावादी रहेको बताए।

पोखरेलले प्रदेशले अनुदानबापत पाउनुपर्ने रकम उपलब्ध गराउनुपर्ने भन्दै लबिङ गर्दै आएका छन्। लुम्बिनीका सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापाले पनि अनुदानका बारेमा प्रधानमन्त्रीसँग कुराकानी भएको र प्रधानमन्त्री अनुदान दिने विषयमा सकारात्मक रहेको दाबी गरे। ‘अनुदान उपलब्ध गराउने विषयमा प्रधानमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ,’ उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु। बैठकमा विष्णु पौडेल र शंकर पोखरेल पनि

लडाईं लुम्बिनीको, पटाक्षेप बालुवाटारमा

अर्थमन्त्री पौडेल र महासचिव पोखरेलबीच सम्बन्ध राम्रो छैन। त्यसमा पनि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आफ्नो समूहका लीला गिरीलाई अन्तिम समयमा आउट गरेर आचार्यलाई पोखरेलले मुख्यमन्त्री बनाउन भूमिका खेलेपछि पौडेल उनीसँग थप रुष्ट छन्। प्रदेश सभामा गिरी पार्टीको संसदीय दलको नेता रहेको अवस्थामा पोखरेलले ओलीलाई मनाएर आचार्यलाई मुख्यमन्त्री बनाएका हुन्।

मुख्यमन्त्रीको यो लडाईं पनि सोमबारको बैठकमा पटाक्षेप भएको हो। २०७९ भदौमा भएको प्रदेश अधिवेशनमा पनि पौडेल र पोखरेल गुट आमने सामने भएका थिए। ओली र महासचिव पोखरेलको समर्थन हुँदाहुँदै हरि रिजाल एमाले लुम्बिनी प्रदेश अध्यक्षमा पराजित भएका थिए। उनलाई पौडेल निकट नेता राधाकृष्ण कँडेलले पराजित गरेका थिए।

रिजाललाई हराउन लागेको भन्दै पोखरेल र ओली गिरीसँग रुष्ट थिए। त्यही कारण यसपालि गिरी मुख्यमन्त्री बन्न पाएनन्। पौडेल-पोखरेल किचलोको असर पार्टीका गतिविधिमा मात्रै नभइ अहिले सत्ता सञ्चालनमा समेत देखिन थालेको छ।

पौडेल र पोखरेलबीचको किचलो गिरीले दलको नेताबाट राजीनामा दिएपछि झनै सतहमा आएको थियो। यी दुई नेताबीच लुम्बिनीमा मात्रै नभइ संघमै पनि आन्तरिक शक्ति संघर्ष हुने गरेको छ।

नेकपा (माओवादी केन्द्र)सँग गठबन्धन टुटाएर नेपाली कांग्रेससँग समीकरण बनाउने मध्येका मुख्य सुत्रधार पोखरेल हुन्। उनले उपाध्यक्ष पौडेललाई यसपटक सरकारमा जानबाट रोक्न खोजेको भन्दै एमाले वृतमा चर्चा हुने गरेको छ। तर, अन्तिममा ओलीले पौडेललाई नै उपप्रधानसहित अर्थमन्त्री बनाए।