नेपाल-भियतनाम दुईवटा चार्टर्ड उडान गरिंदै, १ लाख १० हजारको प्याकेजमा मासिक किस्ताको सुविधा



बिजमाण्डू
२०८१ साउन २७ गते १८:३४ | Aug 11, 2024
नेपाल-भियतनाम दुईवटा चार्टर्ड उडान गरिंदै, १ लाख १० हजारको प्याकेजमा मासिक किस्ताको सुविधा

काठमाडौं। रुप्से होलिडेजले दशैंको टिकालगत्तै नेपाल-भियतनाम दुई वटा चार्टर्ड उडान गर्ने भएको छ। कम्पनीले असोज ३० गते चार्टर्ड उडान गर्ने भएको हो।

Tata
GBIME
Zonsen

नेपाल र भियतनाम दुईतर्फी पर्यटन प्रवर्धन गर्ने लक्ष्यसहित दुईवटा चार्टर्ड उडान गर्न लागेको कम्पनीका प्रबन्धक निर्देशक रमेश पराजुलीले बताए। चार्टर्ड उडानमा नेपालबाट ५ दिनका लागि भियतनाम घुम्ने प्याकेजको मूल्य १ लाख ९ हजार ९९९ रुपैयाँ तोकिएको छ।

यसमा हवाई टिकट, भिसा लेटर, एयरपोर्टबाट पिकअप तथा ड्रप, ब्रेकफास्टसहित होटेलको कोठा, स्थानीय टुरका लागि हुने खर्च, गाइड र यातायात खर्च समावेश छ।

प्याकेजको रकम एकै पटक तिर्न नसक्नेहरुका लागि किस्ताबन्दीको सुविधा छ। मासिक ५ हजारका दरले किस्ताबन्दी तिर्ने गरी चार्टर्ड उडानमा भियतनाम घुम्न जान पाइने कम्पनीले जनाएको छ।

कम्पनी हिमालय एयरलाइन्सको एयरबस-३२० जहाज चार्टर्ड उडान गर्ने योजनामा छ। ‘नेपाल र भियतनामबीच सिधा उडान नरहेकाले चार्टर्ड उडानमार्फत भ्रमण गराउन लागिएको हो,’ उनले भने।

कम्पनीले गत जेठमा चार्टर्ड उडानमार्फत भियतनामी पर्यटकलाई नेपाल भ्रमण गराएको थियो। भियतनामबाट नेपाल आउने पर्यटकलाई भक्तपुर, नगरकोट, काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भु र बौद्धनाथ दर्शन गराउने पराजुलीले जानकारी दिए।

यस्तो छ प्याकेज

नेपालबाट जाने पर्यटकले पाँच दिनको प्याकेज अन्तर्गत भियतनामको राजधानी हानोई आसपासका पर्यटकीय गन्तव्य घुम्न पाउनेछन्।

पर्यटकलाई पहिलो दिन हानोईको थ्री स्टार होटलमा राखिनेछ। दोस्रो दिन उत्कृष्ट पर्यटकीय गन्तव्य निन बिन टापु भ्रमण गराइनेछ। तेस्रो दिन हा लोङ बेमा क्रुज सफारी, चौथो दिन ट्रेन स्ट्रिट भिजिट र हानोईको सिटी टुर गराउने कम्पनीको योजना छ।