काठमाडौं। प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बिहीबार पुँजी बजार सम्बन्धी समसामयिक विषयमा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अधिकारीसँग छलफल गर्ने कार्यसूची थियो।
कार्यसूची अनुसार सभापति सन्तोष चालिसेले सेबोनका कार्यवाहक अध्यक्ष महेश बराललाई प्रस्तुतिका लागि समय दिए। बरालले बोल्न सुरु नगर्दै सत्तारुढ एमालेका सांसद सूर्य थापाले सेयर कारोबार अवधिमा बजारलाई प्रभावित पार्ने गरी बैठक राखिएको भन्दै सभापतिको ध्यानाकर्षण गराए।
‘सेयर बजार प्रभावित हुने गरी अर्थ समितिको बैठक राखियो। सामान्यतया बजार चलिरहेको बेला त्यसलाई प्रभावित हुने गतिविधि गर्नु भएन। ऐनले नै गरेकाे व्यवस्था सबैले पालना गर्नुपर्छ,´ उनले भने।
त्यसपछि सभापति चालिसे केही अलमलिए। उनले पुँजी बजारकै विकासका लागि समितिले छलफल गर्न लागेकाले नकारात्मक असर नपर्ने जवाफ दिंदै बैठक अघि बढाए।
सेबोन अध्यक्षको हैसियतमा बरालले प्रिजिन्टेसन गरेर पुँजी बजारको वर्तमान अवस्था, चुनौती र सेबोनका सीमितताहरु उल्लेख गरे।
बरालको प्रिजिन्टेसनपछि प्रश्न सोधेका अधिकांश सांसदहरुको चासो एकै थियो- सेयर बजारमा हुने भित्री कारोबार (इन्साइडर ट्रेडिङ)को नियामक सेबोनले किन अनुसन्धान गर्न सकिरहेको छैन?
नेप्से बुलिस ट्रेन्डमा लाग्दा कतिपय खराब कम्पनीकै सेयर मूल्य उचालिएकाले त्यसको अनुसन्धान हुनुपर्ने उनीहरुको धारणा थियो।
नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले सुरुमै बजारमा इन्साइडर ट्रेडिङका कारण कमजाेर कम्पनीको सेयर भाउ अस्वाभाविक रुपमा माथि पुगेको बताए।
‘सेयर बजारमा इन्साइडर ट्रेडिङका कारण अस्वाभाविक रुपमा उतारचढाव भयो। यस सम्बन्धी प्रश्न सबैतिर उठेका छन्,’ उनले भने, ‘बुक भ्यालु, नेटवर्थ धेरै कम हुँदाहुँदै पनि सेयर मूल्य किन धेरै फरक भयो? वास्तविक भ्यालु एउटा र सेयर भ्यालु किन यति फरक छ? यसलाई सेबोनले हेर्नैपर्छ।’
चौधरीले केही कम्पनीको नामै लिएर सेयर मूल्य अस्वाभाविक देखिएको भन्दै बजारलाई नियामक निकायले सन्तुलित बनाउनुपर्ने धारणा राखे।
नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामाले सरकार फेरिएपछि के चमत्कार भयो र सेयर बजार बढ्यो? भनी प्रश्न गरे। ‘सरकार फेरिएपछि एकैपटक कसरी चमत्कार भयो? रातारात बढ्ने भएपछि मान्छेले किन काम गर्ने?,’ उनले भने।
बजारमा दैनिक कारोबार नेप्सेले हेर्छ। नेप्सेको पनि नियामक सेबोन हो। पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले नेप्सेबाटै इन्साइडर ट्रेडिङ हुने गरेको दाबी गर्दै सेबोनले गम्भीर अनुसन्धान गर्नुपर्ने बताए।
‘सेयर कारोबार नेप्सेले गर्छ। त्यसको नियमन तपाइँहरुले गर्नुहुन्छ। त्यहाँको शुद्धता र दुरुपयोग गर्ने जिम्मेवारी सेबोनको हो। नियमन निकायले सुक्ष्म निगरानी गर्नुपर्छ। नियामककै कारोबारको डेटा एक्सेस लिएर बजारलाई म्यानुपुलेट गर्ने काम भइरहेको छ,’ उनले भने, ‘नेप्सेमा सूचना लिने र जुन कम्पनी त्यहाँ लिस्टेड छन् उनीहरुकै मान्छे त्यहाँ काम गर्छन्। केही समस्या छ। यसबारे सेबोनबाट नै मलाई जानकारी गराइएको थियो।’
महतले आफू अर्थमन्त्री हुँदा नेप्सेबाटै इन्साइडर ट्रेडिङ भइरहेको आशंकामा मन्त्रालयले अध्ययन समिति बनाएको सुनाए।
उनले कम्पनीको वित्तीय अवस्थामा सुधार नआई अस्वाभाविक रुपमा मूल्य बढेको भन्दै त्यसलाई नियमन गर्नुपर्ने धारणा केही दिनअघि सांसद् बैठकमा पनि राखेका थिए।
पूर्वअर्थमन्त्री वर्षमान पुनले केही कम्पनीको सेयर मूल्य जथाभावी रूपले बढेकाे भन्दै म्यानुपुलेसन भए बजारमा क्राइसिस आउन सक्ने उल्लेख गरे। ‘नाङ्गो आँखाले हेर्दा घाटामा भएका कम्पनीले आइपीओ निष्कासन गरे। अहिले तिनै कम्पनीको सेयर मूल्य धेरै छ। त्यसलाई नियामक निकायले हेर्नुपर्छ। कुनै विन्दुमा गएर क्र्यास भयो भने त्यसको क्षति जनता र सरकारले बेहोर्ने हो,’ उनले भने।
असार १७ गते २०५४ विन्दुमा रहेको नेप्से एक महिनामै २८०० मा पुगेको छ। महिना दिनमै बजार ३६ प्रतिशत बढेको छ। कमजोर वित्तीय अवस्था भएकै कम्पनीको सेयर कारोबार उच्च भइरहेको छ।
खराब वित्तीय अवस्था भएका कम्पनीको सेयर मूल्य बढाउन क्लब हाउस लगायत सामाजिक सञ्जालहरुमा केही गिरोह नै सक्रिय छन्। जसलाई सेबोनले नियमन गर्न सकिरहेको छैन।
यो पनि पढ्नुहोस्: अर्बौंको कारोबार हुने सेयर बजारको नियामक झनझन् कमजोर, किन बलियो बनाउन चाहँदैन सरकार ?
सेबोनका कार्यबाहक अध्यक्ष बरालले नियामक निकाय भए पनि प्रविधि र जनशक्तिको हिसाबले सेबोन निकै कमजोर रहेको बताए। ‘तपाइँहरुले आज नै कुनै प्राविधिक विषयमा यो के भएको हो भनेर सोध्नु भयो भने नेप्सेसँग विवरण माग्नुपर्ने अवस्था छ,’ उनले भने, ‘सेबोनसँग नेप्सेको सिस्टममा एक्सेस छ। तर, त्यस तहको जनशक्ति छैन। नेप्सेकै सिष्टमभित्र बसेर एनालाइसिस गर्नुपर्छ।’
सरकारले गत चैतमा धितोपत्र सम्बन्धी ऐन संशोधन गरेर इन्साइडर ट्रेडिङमा अनुसन्धन गर्ने जिम्मेवारी प्रहरीलाई दिएको छ। ‘अहिले अनुसन्धानको काम अघि बढेको छ। प्रहरीले अनुसन्धान गरेर फाइल दिनुस् भनेपछि दिनै पर्ने अवस्था छ,’ बरालले भने, ‘सेबोनकै छाताभित्र रहने गरी अनुसन्धानका लागि प्रहरीसहित छुट्टै युनिट बनाउनुपर्ने आवश्यकता छ।’
सरकारको बजेट वक्तव्य र सेबोनको नीति तथा कार्यक्रममै सेबोनको क्षमता विकास गरिने उल्लेख गरिए पनि कार्यान्वयन हुन सकेको छैन।
बरालले धितोपत्र बजारलाई प्रभावित पार्ने क्लब हाउस र सामाजिक सञ्जाल ग्रुपको नियमन गर्नुपर्ने आवश्यकता औंल्याए। ‘दूतावासले भिसा दिंदा पनि सामाजिक सञ्जाल निगरानी गर्छन्। तर, यहाँ धितोपत्र कारोबारको अनुसन्धान गर्न सकिएको छैन। सेबोनसँग जनशक्ति छैन। कर्मचारीलाई तालिम र क्षमता वृद्धिको आवश्यकता छ,’ उनले भने।