काठमाडौं। दुई सातामा दुईवटा ठूला हवाई दुर्घटना भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुईवटा कम्पनीको हेलिकोप्टर उडानमा रोक लगाउनुका साथै अनुमतिपत्र (एओसी) निलम्बन प्रक्रिया अगाडि बढाएको छ।
प्राधिकरणले बिहीबार हवाई सुरक्षामा कमजोर देखिएका मुस्ताङ र अन्नपूर्ण हेलिकोप्टरको सबै उडानमा रोक लगाएको हो। प्राधिकरणले ती दुवै कम्पनीसँग एओसी किन निलम्बन नगर्ने भन्ने प्रश्न गरी स्पष्टीकरण मागेको छ। यसका लागि तीन दिनको समय दिइएको छ।
प्राधिकरण स्रोतका अनुसार सौर्य एयरलाइन्सको पनि एओसी निलम्बन गर्ने तयारी छ। साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जहाज दुर्घटनापछि यो एयरलाइन्सको उडान बन्द छ।
दुर्घटनामा एयरलाइन्सका प्राविधिक र कर्मचारीसहित १८ जनाको मृत्यु भएको थियो। सौर्यमा हाल आवश्यक जनशक्ति नै नरहेकोले एओसी निलम्बनको तयारी गरिएको हो। यो कम्पनीसँग अब एउटा जहाज बाँकी छ।
‘हामीले उडान सुरक्षामा कमजोर देखिएका हवाई कम्पनीलाई उडानमा रोक् लगाउने निर्णय गरेका हौं,’ प्राधिकरणका एक कर्मचारीले भने। सेफ्टी म्यानेजमेन्ट सिस्टम (एसएमएस) दर मुस्ताङ हेलिकोप्टरको ५८.६४ प्रतिशत र अन्नपूर्णको १९.८३ प्रतिशत रहेको पाइएपछि प्राधिकरणले एओसी निलम्बन गर्ने प्रक्रिया अगाडि बढाएको हो।
‘हामीले दुवै वायुसेवा कम्पनीको एसएसमएस परीक्षण गर्दा निकै दयनीय अवस्था छ। यस्तो अवस्थामा वायुसेवा कम्पनी बन्द गर्नु बाहेकको विकल्प छैन,’ ती कर्मचारीले भने, ‘उसको योग्यता मापदण्ड अनुसार नरहे पछि उडानमा रोक् लगाएर एओसी निलम्बन गर्न लागिएको हो। अरु कम्पनीको पनि अध्ययन भइरहेको छ। कमजोर देखिने सबैको एओसी निलम्बन गरिनेछ।’
मुस्ताङसँग दुईवटा हेलिकोप्टर भए पनि उडान करिब एक वर्षदेखि बन्द छ।
‘यो कम्पनीमा स्वामित्व क-कसको छ भन्ने अन्योल छ। अकाउन्टेबल म्यानेजर मात्र भएर पनि कम्पनी चल्दैन,’ उनले भने, ‘मुस्ताङको धेरै कमीकमजोरी पाइएको छ।’
कम्पनीमा सुरुमा इश्वर(रोनन) लामिछाने लगानीकर्ताका रुपमा थिए। लामिछानेले यो कम्पनीको केही सेयर निर्मल पुर्जालाई बेचेका थिए। स्रोतका अनुसार पुर्जाले निम्स दाई ब्राण्डमा हेलिकोप्टर चलाउन खोजेका थिए। तर, मन्त्रालयबाट अनुमति नपाएपछि यो कम्पनीको सेयर किनेका थिए।
अन्नपूर्ण हेलिकप्टरले हालसम्म एउटै हेलिकोप्टरमार्फत व्यावसायिक उडान गर्दै आएको छ। प्राधिकरणको नयाँ मापदण्ड अनुसारको संख्यामा दुवै कम्पनीसँग हेलिकोप्टर छैन। प्राधिकरणको प्रावधान अनुसार सुरुमा तीनवटा र पाँच वर्षमा पाँचवटा हेलिकोप्टर हुनुपर्छ।
क्यानले सुरक्षा प्रणाली ६० प्रतिशतभन्दा कम हुने वायुसेवा प्रदायक कम्पनीको उडानमा रोक लगाउने निर्णय गरेको हो। उच्चस्तरीय सुरक्षा समन्वय समितिको गत शुक्रबार बसेको बैठकले तत्काल ६० प्रतिशतभन्दा कम भएका हवाई कम्पनीको परीक्षण गर्ने र कम भएको पाइए उडान रोक्ने निर्णय गरेको थियो।
बैठकमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव इन्दु घिमिरे, क्यानका महानिर्देशक प्रदीप अधिकारी, उपमहानिर्देशक देवचन्द्र लाल कर्ण, नेपाली सेनाका सहायक रथी रामसुन्दर बोहरा लगायत ९ जना सहभागी थिए।