
काठमाडौं । वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) लाई आज बुंगमती फिर्ता लगिएको छ। जावलाखेलमा भोटोजात्रा सम्पन्न भएपछि रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लगिएको हो।
जावलाखेलमा भोटोजात्रा हेर्न राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको उपस्थिति थियो। गुठी संस्थानका अधिकारीहरुले रथको चारै दिशाबाट हजारौं मानिसको उपस्थितिमा भोटो देखाएका थिए।


भोटो जात्रालाई लिएर कर्कोटक नागराजा, ज्यापु र भूतको कथा जनस्तरमा प्रचलित छ। किम्वदन्तीअनुसार परापूर्वकालमा कर्कोटक नागराजकी श्रीमतीको दुखेको आँखा स्थानीय ज्यापुले तन्त्रमन्त्रद्वारा निको पारेपछि भोटो उपहारस्वरुप दिए। भोटो फुकालेर खेत खनिरहेको बेला भूत आएर उनको भोटो चोरेर लग्यो। आफ्नो खेतमा काम गर्दा उक्त भोटो हराएपछि कृषकले खोजी गरे र कतै नपाएपछि जावलाखेलमा आयोजित एक जात्रामा एकजना राक्षसले लगाएको देखेको मान्यता छ।







कृषकले यो भोटो मेरो हो भनेर माग्दा दुवै पक्षबिच धेरै विवाद भएकाले दुवैले पर्याप्त प्रमाण जुटाउन नसकेपछि भोटो नागराजले खोस्छन्। र, राजा र त्यहाँ उपस्थित जनतालाई देखाएर मछिन्द्रनाथको जिम्मामा भोटो दिन्छन्। जसले सप्रमाण भोटो मेरो हो भन्छ, उसैलाई दिने शर्तमा नासोका रुपमा मछिन्द्रनाथलाई भोटो दिइएको कथन छ। त्यसबेला देखि जावलाखेलमा भोटो देखाउने चलन सुरु भएको मान्यता छ।



भोटोजात्रा पछि रातो मछिन्द्रनाथलाई खटमा राखेर बुंगमति फिर्ता लग्दा मानिसहरुले दायाँबायाँ बसेर छ्वाली (गहुँको पराल) बालेका थिए। रातो मछिन्द्रनाथको मुर्तिलाई नख्खु हुँदै बुंगमतिमा रहेको मन्दिरमा प्रतिस्थापन गर्ने बेलासम्म ती छ्वालीहरु बालेर देवतालाई बाटो देखाउने गरिन्छ। यसरी छ्वाली बाल्नुलाई स्थानीय भाषामा ‘सवा लाख छ्वालीप्वाः च्याकाः लं स्ववनेगु’ भनिन्छ। यसको अर्थ सवा लाख परालको मुठा बालेर देउताको बाटो हेर्न जाने हुन्छ।

पानेजु (रातो मछिन्द्रनाथका पुजारी) खलकका अनुसार पहिला बत्ती नभएको बेला रातो मछिन्द्रनाथलाई खटमा राखेर ल्याउँदा छ्वाली बालेर लिन जाने गरिन्थ्यो। त्यो परम्परा हाल सम्म पनि निरन्तर चलिरहेको छ। पहिला भक्तपुरबाट दीप बोकेर मानिसहरु रातो मछिन्द्रनाथलाई बाटो देखाउन आउने कथन छ।



बुंगमती पुर्याइएपछि रातो मछिन्द्रनाथलाई पूजा गरेर त्यही बनाइएको अस्थायी मन्दिरमा राखिएको छ। २०७२ सालको भूकम्पमा मन्दिर भत्किएपछि पुनर्निर्माणको काम सम्पन्न नहुँदा रातो मछिन्द्रनाथलाई अस्थायी मन्दिरमा राखिँदै आएको छ। हाल उपभोक्ता समितिमार्फत मन्दिर पुनर्निर्माणको काम भइरहेको छ।




