सिटिजन्स बैंक व्यवसाय विस्तारमा एग्रेसिभ, १४ अर्बले बढायो ऋण लगानी



बिजमाण्डू
२०८१ साउन १९ गते ०८:४८ | Aug 3, 2024
सिटिजन्स बैंक व्यवसाय विस्तारमा एग्रेसिभ, १४ अर्बले बढायो ऋण लगानी

काठमाडौं। सिटिजन्स बैंकले व्यवसाय विस्तारसँगै निक्षेप संकलनमा उल्लेख्य वृद्धि गर्न सफल भएको छ। आर्थिक वर्ष २०८०/८१ मा बैंकले १४ अर्बले व्यवसाय विस्तार गर्दा १९ अर्ब निक्षेप थपिएको छ।

Tata
GBIME
Zonsen

आर्थिक गतिविधि देखिएको सुस्तताका बीच बैंक व्यवसाय विस्तारसँगै निक्षेप संकलनमा एग्रेसिभ देखिएको छ। आर्थिक वर्ष २०७९/८० मा बैंकले १ खर्ब ४३ अर्ब कर्जा लगानी र १ खर्ब ७१ अर्ब निक्षेप संकलन गरेको थियो।

बैंकले १४ अर्ब १ करोड ३५ लाखले व्यवसाय विस्तार गर्दा कुल कर्जा प्रवाह १ अर्ब ५७ अर्ब ५८ लाख पुगेको छ। साथै, निक्षेप १९ अर्ब ७१ लाख रुपैयाँले बढाएर १ खर्ब ९१ अर्ब पुर्‍याएको छ।

बैंकले १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २७.९७ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी सामान्य घटेको र कर्जा असुली प्रभावित हुँदा बैंकको खुद नाफा घट्न पुगेको हो।

बैंकले ५ अर्ब ६८ करोड ब्याज आम्दानी र ७ अर्ब १ करोड रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको छ। बैंकको प्रति सेयर आम्दानी ९ रुपैयाँ ४५ पैसा र प्रति सेयर नेटवर्थ १५१ रुपैयाँ ८१ पैसा छ। मूल्य आम्दानी अनुपात २०.४७ गुणा छ।

असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा आर्जन ६१ करोड ६१ लाख रुपैयाँ छ। १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ३५ करोड ७० लाख रुपैयाँ सञ्चित छ।

निक्षेप संकलनमा देखिएको वृद्धिसँगै बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८१.८४ प्रतिशत आएको छ। अघिल्लो वर्ष सोही अवधिमा सीडी रेसियो ८२.४० प्रतिशत थियो। यसले बैंकसँग कर्जा लगानी क्षमता उच्च रहेको देखाउँछ।

साथै, अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको पुँजीकोषमा सुधार भएको छ।अघिल्लो वर्ष १२.१२ प्रतिशत रहेको क्यापिटल एडुकेसी रेसियो १३.०६ प्रतिशत पुगेको छ।

घट्दो ब्याजदरले लागत कम हुँदै जादा बैंकको बेस रेट ८.२६ प्रतिशतमा आएको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकको बेस रेट १०.५१ प्रतिशत थियो। घटेको बेस रेटले पुराना ऋणीले तिर्नुपर्ने ब्याज लागत कम गएको छ। साथै, नयाँ ऋणीले सस्तोमा कर्जा पाउनेछन।

आर्थिक सुस्तताका बाबजुद पनि गत आर्थिक वर्षमा बैंकले वाग्मती प्रदेशमा ४, गण्डकीमा २, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा २ गरि ९ वटा थप शाखाहरु विस्तार गरेको छ।

साथै, बैंकले सातै प्रदेश कार्यालयबाट लर्निङ सेन्टरहरु सञ्चालनमा ल्याएको छ। बैंकले कर्मचारीहरुलाई तालिम प्रदान गर्न, प्रादेशिक स्तरका कार्यक्रमहरु संचालन गर्न, बैठक तथा गोष्ठीहरु संचालन गर्न बैंकले लर्निङ सेन्टरको स्थापना गरेको हो।

लर्निङ सेन्टरबाट बैंकले चलाएका तालिममा कोसीमा ५७, मधेसमा ७७, वाग्मतीमा ८०, गण्डकीमा ३३, लुम्बिनीमा ५६, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ जनाको सहभागिता थियो।