काठमाडौं । टाटा मोटर्सको विद्युतीय गाडी पन्च इभी नेपाल भित्रिएको छ। टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आज सो गाडी नेपाल ल्याएको हो।
हाललाई यहाँको भूगोल अनुसार परीक्षण गर्न पन्च इभीको दुईवटा भेरियन्टमा नेपाल ल्याइएको कम्पनीले जनाएको छ। परीक्षण पछि आगामी भदौ ११ गतेदेखि हुने नाडा अटो शोमा गाडी राख्ने योजना कम्पनीको छ।
भारत एनक्याप क्यास टेस्टले सेफ्टी रेटिङमा फाइभ स्टार दिएको यो गाडीलाई ५६ मिनेटमा फुल चार्ज गर्न सकिन्छ। यसमा भएको ब्याट्रीले फुल चार्ज गरेपछि ४२१ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ।
यसको ग्राउन्ड क्लियरेन्स १९० एमएमको छ। यसको डाइमेन्सनमा ह्वीलबेस २.४ मिटर, बुट स्पेस ३६६ लिटर, ३.८ मिटर लम्बाई रहेको छ। यसमा ३५ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक उपलब्ध छ। ३.३ किलोवाट क्षमताको एसी चार्जिङ बक्स पनि यसमा छ। ९० किलोवाट क्षमताको मोटर पावर भएकाले यो गाडीले १९० एनएम टर्क उत्पादन गर्न सक्छ।