लगानीकर्ता ऋण लिन अझै छैनन् तयार, तरलता फालाफाल भएको बेलामा किन उल्टै घट्यो ?

आकाश बोगटी
२०८१ साउन १० गते १८:०४ | Jul 25, 2024
लगानीकर्ता ऋण लिन अझै छैनन् तयार, तरलता फालाफाल भएको बेलामा किन उल्टै घट्यो ?


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको इन्जिन ग्रोथ गरी तीब्र आर्थिक विकास गर्नु सरकारको मुख्य प्राथमिकता भएको बताएपनि लगानीकर्ता अझै विश्वस्त हुन सकिरहेका छैनन्।

Tata
GBIME
NLIC

बरु आर्थिक वर्ष २०८१/०८२ सुरु भएसँगै कर्जा प्रवाह घट्न थालेको छ। बैंकहरुमा अधिक तरलता भएपनि आर्थिक वर्ष सुरु भएसँगै ऋण लगानी नै घट्न थालेको हो। साउन ७ गतेसम्म वाणिज्य बैंकहरुबाट मात्रै प्रवाह भएको कर्जा २३ अर्ब रुपैयाँले घटेको छ।

राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार साउन लागेपछि कर्जा निरन्तर घट्न थालेकाे देखिन्छ। गत असार मसान्तमा वाणिज्य बैंकहरुसँग कूल ५७ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप र ४५ खर्ब ७१ अर्ब कर्जा रहेकामा कर्जा रकम ४५ खर्ब अहिले ४८ अर्बमा झरेको छ। निक्षेप पनि ३९ अर्बले घटेको छ।

वासलात राम्रो बनाउन गत असारमा बैंकहरुले कृत्रिम कर्जा प्रवाह गरेका थिए। साउन लागेसँगै बैंकहरुले दिएको त्याे कृत्रिम कर्जा घट्न थालेको हाे।

पूर्वबैंकर भुवन दाहालले बैंकहरुले आफ्नो पर्फमेन्स राम्रो बनाउन हरेक मसान्तमा कर्जा बढी देखाउने रणनीति अपनाउने गरेको सुनाए।

‘बैंकले ब्रान्च म्यानेजरलाई लगानीको टार्गेट दिएर असोज, पुस, चैत र असार मसान्तमा कर्जा र निक्षेप लक्ष्य तय गरेका हुन्छन्,’ उनले भने, ‘ओभर ड्राफ्ट कर्जा प्रयाेग गर्ने ग्राहकले ५० लाख कर्जाको लिमिट स्वीकृत गरेको छ भने सबै लिमिट प्रयोग भएको हुँदैन। त्यसमा १० लाख रुपैयाँ प्रयोग भई बाँकी ४० लाख रुपैयाँ प्रयोग नभएकाे अवस्थामा त्याे लिमिट प्रयोग गरिदिन ब्रान्च म्यानेजरले ग्राहकलाई अनुरोध गरी अन्तिम त्रैमासमा कर्जा बढाउने गर्छन्। र, साउन लागेपछि घट्न थाल्छ। वर्षको सुरुमै ऋणको माग पनि हुँदैन।’

गत वैशाख र जेठमा वाणिज्य बैंकहरुले ५ अर्ब लगानी बढाएकामा असारमा २९ अर्बले विस्तार गरे। त्यसमध्ये १९ अर्ब रुपैयाँ वाणिज्य बैंकहरुले असार मसान्तको अन्तिम दुई दिनमा प्रवाह भउको देखाएका हुन्।

गत वर्षको सुरुदेखि नै सुस्त रहेको कर्जा प्रवाह हरेक त्रैमासको अन्तिममा आएर उच्च रुपमा बढेको तथ्यांकले देखाउँछ। वाणिज्य बैंकहरुले गत असोजमा ८१ अर्ब, पुसमा ७७ अर्ब र चैतमा ३७ अर्बले कर्जा बढाएका थिए।

आर्थिक गतिविधिमा सुस्तताका कारण रिकभरीमा समस्या आई कर्जाको माग बढ्न नसकेपछि पाकेको ब्याज तिर्न पनि केही नयाँ ऋण जाने गरेको बैंकरहरु स्वीकार गर्छन्।

‘ब्याज तिर्न नयाँ ऋण गएको कारण हरेक त्रैमासको अन्तिममा कर्जा बढेको देखिन्छ,’ एक बैंकरले भने, ‘अर्थिक गतिविधि बढ्न सकेन। नयाँ ऋणको माग बढेन। चालु पुँजी कर्जामा गरिएको कडाइले परियोजना नखुलाइ भुक्तानी गर्न मिल्दैन। व्यक्तिगत प्रयोजन नखुलाइ भुक्तानी दिन मिल्दैन। त्यसकारण नयाँ ऋण सिर्जना गरी दिने हो नि।’

गत आर्थिक वर्ष वाणिज्य बैंकबाट कुन महिनासम्म कति ऋण प्रवाह भएको थियो ? हेरौं यो तालिका

मितिऋण (रुपैयाँमा)
साउन मसान्तसम्म४३ खर्ब
भदौ मसान्तसम्म४३ खर्ब ४८ अर्ब
असोज मसान्तसम्म४४ खर्ब २९ अर्ब
कात्तिक मसान्तसम्म४४ खर्ब ७ अर्ब
मंसिर मसान्तसम्म४४ खर्ब २० अर्ब
पुस मसान्तसम्म४४ खर्ब ९७ अर्ब
माघ मसान्तसम्म४५ खर्ब १ अर्ब
फागुन मसान्तसम्म४५ खर्ब
चैत मसान्तसम्म४५ खर्ब ३७ अर्ब
वैशाख मसान्तसम्म४५ खर्ब २२ अर्ब
जेठ मसान्तसम्म४५ खर्ब ४२ अर्ब
असार २९ सम्म४५ खर्ब ५२ अर्ब
असार ३१ गतेसम्म४५ खर्ब ७१ अर्ब