काठमाडौं। आइसिटी अवार्डको नवौं संस्करणको लागि अनलाइन नोमिनेसन खुलेको छ।
लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको ‘आइसिटी अवार्ड’मा यस वर्ष थप एक विधासहित १४ विधाहरुमा नोमिनेसन खुल्ला गरिएको हो। ‘सोसियल इन्नोभेसन आइसिटी अवार्ड २०२४’ यस वर्ष थप गरिएको विधा हो।
प्रविधि क्षेत्रका स्टार्टअप, इन्नोभेसन, प्रडक्टसँगै सरकारी तथा निजी संस्थाहरुका डिजिटल सेवाहरू र डिजिटल शिक्षालाई यस अवार्डले समेटेको छ। योगदानको आधारमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई फरक फरक अवार्ड विधा अन्तर्गत नोमिनेसन र छनोट गरिने आयोजकले जनाएको छ। विगत दुई वर्षदेखि दक्षिण एसियाली देशहरुलाई लक्षित गरेर साउथ एसिया स्टार्टअप अवार्ड पनि आइसिटी अवार्डभित्र समावेश भएको छ।
दर्जनौं प्रि-इभेन्ट र छनोट प्रकृयाका ३० बढी मिटिङ र विभिन्न वैज्ञानिक प्रकृयाहरु अपनाएर आइसिटी अवार्डका विजेताहरुको छनोट गरिने आयोजकको भनाइ छ। १५ बढी जुरी सदस्य र १० बढी जुरी सल्लाहकार रहने यस अवार्डको तयारीको लागि आयोजकले ६ महिनाको समय व्यतित गर्दै आइरहेको संस्थाका अध्यक्ष राजन लम्सालले बताए।
सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारित रुपमा आयोजना हुँदै आइरहेको छ। यस वर्षपनि सातै प्रदेशका स्टार्टअप र इन्नोभेसनलाई समेट्नेगरी स्टार्टअप फेस्ट आयोजना र प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गर्ने तयारी आयोजकको छ।
अवार्डमा क्याटेगोरी ए अन्तगर्त स्टार्टअप, इन्नोभेसन र प्रडक्टहरुलाई समावेश गरिएको छ। यस अन्तर्गत स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड र सोसियल इन्नोभेसन आइसिटी अवार्ड विधाहरु रहेका छन्। यी विधाहरुमा स्वयम् प्रतिस्पर्धी आफैंले आवेदन दर्ता गर्नुपर्नेछ।
क्याटेगोरी बी अन्तर्गत आइसिटीमार्फत समाज र राष्ट्रको लागि पुर्याएको योगदानको आधारमा अवार्डमा आवेदन लिने गरिन्छ। यस विधा अन्तर्गत प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर्स आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र नेपाली डायस्पोरा आइसिटी अवार्ड विधाहरु रहेका छन्। यी विधाहरुमा स्वंम आफै वा अरु कसैले पनि व्यक्तिको विवरण उल्लेख गरेर नोमिनेसन दर्ता गर्न सकिने आयोजकले जनाएको छ।
यसैगरी क्याटेगोरी सी अन्तर्गत सरकारी र निजी संस्थाहरुको डिजिटल रुपान्तरण तथा यसको लागि भएका प्रयास र अभ्यासहरुलाई हेरेर नोमिनेसन छनौट गरिने छ । यस अन्तर्गत डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड विधाहरु रहेका छन्।
अन्तराष्ट्रिय अवार्डको रुपमा साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड पनि सञ्चालन भइरहेको छ। अवार्डको आधिकारिक वेबसाइटबाट अनलाइन नोमिनेशन दर्ता गर्न सकिने आयोजक लिभिङ विथ आइसिटीले जानकारी दिएको छ। नोमिनेशन दर्ता गर्ने अन्तिम मिति भदौ १५ गतेसम्म रहेको छ।