पुराना र नयाँ अनुहार मिलेर बनेको ओली सरकार, शीतल निवासमा शपथग्रहणको दृश्य

प्रवीण रानाभाट
२०८१ असार ३१ गते १२:५५ | Jul 15, 2024
पुराना र नयाँ अनुहार मिलेर बनेको ओली सरकार, शीतल निवासमा शपथग्रहणको दृश्य


काठमाडौं । राष्ट्रपति निवासमा आज प्रधानमन्त्री पदको शपथ ग्रहण गरे लगत्तै चौथो पटक सिंहदरबार हाँक्दैछन् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली।

Tata
GBIME
NLIC

आज शीतल निवासमा आयोजित समारोहमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ दिलाएका हुन्।

प्रधानमन्त्री पदको शपथ लिँदै ओली ।

मन्त्रिपरिषद्‍मा नेपाली कांग्रेसका प्रकाशमान सिंह र नेकपा एमालेका विष्णु पौडेललाई उपप्रधानमन्त्री बनाइएको छ। प्रकाशमानलाई सहरी विकास र पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ। ओली पछि उनीहरुलाई राष्ट्रपति पौडेलले शपथ दिलाएका थिए।

उपप्रधानमन्त्रीहरु शपथ लिँदै

२१ जना मन्त्रीलाई सँगै शपथ गराएका ओलीले आफ्नो मन्त्रिपरिषद्मा नयाँ र पुराना अनुहारलाई ‘ब्यालेन्स’ गर्ने प्रयास गरेका छन्। उनको सरकारमा १० जना नयाँ अनुहारले मौका पाएको छ। एमाले र कांग्रेससँगै अन्य साना दललाई सँगै लिएर उनले आज २२ सदस्यी मन्त्रिपरिषद् गठन गरेका हुन्।

नेपाली कांग्रेसका १०, नेकपा एमालेका ९ जना, जसपाका २ र लोकतान्त्रिक समाजवादी पार्टीका एक जनालाई समेटेर २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको हो।

मन्त्रीहरु शपथ लिँदै

नवगठित मन्त्रिपरिषद्‍मा एमालेका तर्फबाट पृथ्वी सुब्बा गुरुङले सञ्चार तथा सूचना प्रविधि, देवेन्द्र दाहालले भौतिक पूर्वाधार तथा यातायात, विद्या भट्टराईले शिक्षा विज्ञान तथा प्रविधि, मानवीर राईले रक्षा, राजकुमार गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासन, बलराम अधिकारीले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण र दामोदर भण्डारीले उद्योग वाणिज्य तथा आपूर्तिको जिम्मेवारी पाएका छन्।

यस्तै नेपाली कांग्रेसका तर्फबाट रमेश लेखकले गृह, आरजु राणाले परराष्ट्र, बद्री पाण्डेले पर्यटन, प्रदीप पौडेलले स्वास्थ्य तथा जनसंख्या, अजय चौरसियाले कानुन, रामनाथ अधिकारीले कृषि तथा पशुपन्छी विकास, दीपक खड्काले ऊर्जा जलस्रोत तथा सिंचाइ, तेजुलाल चौधरीले युवा तथा खेलकुद र ऐनबहादुर शाहीले वन तथा वातावरण मन्त्रालयको नेतृत्व पाएका छन्। राणा, पाण्डे, पौडेल, चौरसिया, अधिकारी र शाही पहिलोपटक मन्त्री बनेका हुन्।

शपथ पछि हस्ताक्षर गर्दै मन्त्रीहरु

जसपाका प्रदीप यादवले खानेपानी र नवलकिशोर साहले महिला बालबालिका तथा ज्येष्ठ नागरिक र लोकतान्त्रिक समाजवादी पार्टीका शरतसिंह भण्डारीले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व पाएका छन्।

शपथग्रहण समारोहको थप तस्विरहरु