२४ घण्टामा सर्वसाधारणको मोबाइलमा बाढी पहिरोसम्बन्धी ३४ लाख एसएमएस

बिजमाण्डू
२०८१ असार २३ गते १६:३८ | Jul 7, 2024
२४ घण्टामा सर्वसाधारणको मोबाइलमा बाढी पहिरोसम्बन्धी ३४ लाख एसएमएस


काठमाडौं। जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा ३४ लाख एसएमएस सर्वसाधरणलाई पठाएको छ। विभागले नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा शनिबार मध्याह्न १२ बजेदेखि आइतबार १२ बजेसम्म मुलुकको विभिन्न स्थानमा परेको वर्षासँगै बाढी तथा पहिरोसम्बन्धी जानकारी दिन ३४ लाख बढीलाई एसएमएस पठाएको हो ।

Tata
GBIME
NLIC

विभागका प्रवक्ता सुनिल पोखरेलले बाढीबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरण गर्न जनचेतनाका लागि एकैदिन ३४ लाख एसएमएस पठाएको जानकारी दिए।

‘बाढीको जोखिम भएका क्षेत्र आसपासमा बस्ने सर्वसाधरणलाई सचेत गराउन हामीले एसएमएस पठाएका हौं,’ उनले भने, ‘सर्वसाधारणको मोबाइलमा एसएसएस पठाएपछि जोखिममा परेका सुरक्षित स्थान जान सक्छन्, जोखिमयुक्त क्षेत्रमा आवतजावत गर्दा सचेतना अपनाउन सकिन्छ भनेर एसएमएस पठाउने गरेका छौं।’

विभागका महानिर्देशक डा. जगदीश्वर कर्माचार्यले यो वर्ष मनसुनजन्य घटना तथा जानकारीसम्बन्धी करिब ९० लाख एसएमएस सर्वसाधरणलाई पठाइने योजना बनाएको जानकारी दिए। ‘प्रत्येक दिन बिहान ६ बजे र बेलुकी ६ बजे मौसमी बुलेटिन प्रकाशन गर्छौं, यसले तीन दिनसम्मको मौसमसम्बन्धी जानकारी दिन सहयोग गरेको छ,’ उनले भने।

विभागसँगको समन्वयमा नेपाल टेलिकम र एनसेलले बाढीको पूर्वसूचना उपलब्ध गराउन निःशुल्क एसएमएस प्रवाह गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो। रासस