
काठमाडौं। नागढुंगा सुरुङ मार्गलाई जोड्ने फ्लाइओभरको निर्माण कार्य स्थानीयको अवरोधका कारण एक सातादेखि ठप्प भएको छ।
बलम्बुका स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेपछि फ्लाइओभरको निर्माण कार्य असार १३ गतेदेखि ठप्प भएको हो।
नागढुंगा-नौबिसे सुरुङ मार्ग आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले स्थानीयले मुआब्जादेखि घर अगाडीबाट बाटो चाहिने लगायत विभिन्न माग राखेर असार १३ गतेदेखि काम गर्न अवरोध पुर्याएको बताए। ‘स्थानीयको अवरोधले काम रोकिएको हो,’ श्रेष्ठले भने।

उनका अनुसार स्थानीयले मुआब्जा, फ्लाइओभर भएकै स्थानमा जेब्राक्रसिङ, घर अगाडि बाटो चाहिने लगायत माग राखेका छन्। ‘त्यसरी बाटो दिन सक्ने अवस्थामा आयोजना छैन। फ्लाइओभरको सुरुको प्वाइन्टभन्दा अलि तलबाट हामीले जेब्राक्रसिङ राख्ने योजना अनुसार डिजाइन गरेका छौं,’ उनले भने, ‘अब अहिले फ्लाइओभरको स्ट्रक्चर बनेको स्थानमा कसरी बाटो दिन सकिन्छ?’
आयोजनाले फ्लाइओभरको सुरुको प्वाइन्टमा बाटो दिन नसक्ने जवाफ स्थानीयलाई दिइसकेको छ। ‘हामीले सम्बन्धित निकायसँग दिनकै छलफल गरिरहेका छौं। वडा अध्यक्षसँग पनि छलफल भइरहेको छ,’ श्रेष्ठले भने, ‘हामीले स्थानीयले भनेको भन्दा फरक ठाउँमा बाटो दिने भनिरहेका छौं। तर उहाँहरुले मानिरहनु भएको छैन।’

स्थानीयले तोकिएभन्दा धेरै जग्गा काटिएको भन्दै मुआब्जा मागेका हुन्।
फ्लाइओभर निर्माणका लागि राइट अफ-वे मा पर्ने १२ रोपनी जग्गा यसअघि नै अधिग्रहण गरिएको थियो। यस्तै पक्की र टहरा गरी कुल ५७ वटा संरचना भत्काइएको छ। जग्गाधनीलाई यसअघि नै प्रति आना ५२ लाख रुपैयाँका दरले मुआब्जा दिइएको थियो। आयोजनाले मुआब्जामा १ अर्ब रुपैयाँभन्दा धेरै खर्च गरेको छ।
फ्लाइओभरमा हालसम्म करिब ७० प्रतिशत काम भएको छ। निर्माण कम्पनीले कंक्रिट गर्ने तयारी गरिरहेका बेला स्थानीयले काम गर्न नदिएका हुन्।

१२८ मिटर लामो फ्लाइओभर ३.५ मिटरको चौडाइको हो। काठमाडौंबाट सुरुङ मार्ग भएर जाने सवारीसाधनले मात्र फ्लाइओभर प्रयोग गर्न पाउने छन्। सुरुङ मार्गमा अहिलेसम्म ७७ प्रतिशत काम भएको छ।















यसअघि धादिङतर्फका स्थानीयले अवरोध गरेका थिए। उनीहरुले एक महिनासम्म अवरोध गर्दा सुरुङ मार्ग ब्रेक थ्रु गर्ने काम पछाडि धकेलिएको थियो।