काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष सिफारिस गर्ने/नगर्ने विषयमा निर्णयका लागि बसेको सिफारिस समितिको बैठक सम्पन्न भएको छ।
बैठक सकिएपछि समितिका सदस्य रहेका अर्थसचिव मधुकुमार मरासिनी र उदय निरौला राष्ट्रिय योजना आयोगबाट बाहिरिएका छन्। तर उनीहरुले समितिले के निर्णय गर्यो भन्ने जानकारी दिएनन्। समितिका संयोजक आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ हुन्।
महान्यायाधिवक्ता पोखरेलले धितोपत्र ऐनलाई देखाएर अध्यक्षमा २ जनाको मात्र नाम सिफारिस गर्न नमिल्ने र त्यसभन्दा बढी कति सदस्यको नाम सिफारिस गर्ने भन्नेबारे निर्णय गर्ने अधिकार समितिमा निहित रहेको राय गत सोमबार अर्थ मन्त्रालयलाई दिएका थिए।
धितोपत्र ऐनमा अध्यक्षका लागि कम्तिमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ।
सेबोनको अध्यक्षका लागि आवेदन दिएका १९ जनामध्येबाट समितिले ५ जनालाई सर्टलिस्ट गरी असार २ गते २ जनाको अन्तर्वार्ता लिएको थियो। सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले त्यसै दिन अन्तर्वार्ताअघि कार्ययोजना प्रस्तुत गरेका थिए। तीन जना भने अनुपस्थित भएका थिए।
समितिले गयल भएका कृष्णबहादुर कार्की, डा. नवराज अधिकारी र चिरञ्जीवी चापागाईंका लागि कार्ययोजना प्रस्तुत गर्न र अन्तर्वार्ता प्रयोजनका लागि असार ५ गतेको मिति तय गरेको थियो।
तर, उनीहरु तीनै जना दोस्रो पटक पनि अनुपस्थित भएका थिए। कार्की नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत, अधिकारी सेबोनका कार्यकारी निर्देशक र चापागाइँ नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष हुन्।
त्यसपछि अर्थ मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयसँग परामर्श मागेको थियो।