मन्दीको मार खेपेका व्यापारीलाई गर्मीले बहार, स्टक नै सकिने गरी पंखा र एसी बिक्री

सरला सुवेदी
२०८१ असार ७ गते १५:०४ | Jun 21, 2024
मन्दीको मार खेपेका व्यापारीलाई गर्मीले बहार, स्टक नै सकिने गरी पंखा र एसी बिक्री

काठमाडौं। गत मंगलबार एक उपभोक्ताले दराज अनलाइनबाट बाल्ट्राको पंखा अर्डर गरे। पैसा तिरिसके पनि उनले पंखा पाएनन्। उनलाई म्यासेज आयो- पंखा हाल स्टकमा नरहेकाले पैसा फिर्ता लिन प्रोसेस गर्नु।

Tata
GBIME

हो, गर्मी बढेपछि अत्यधिक मागका कारण बजारमा पंखाको स्टक सकिन पुगेको छ। पंखा मात्र होइन, एसी र कुलरको पनि माग निक्कै बढेको व्यवसायीहरुले बताएका छन्।

गर्मी बढ्न थालेपछि घरायसी तथा व्यवसायिक क्षेत्रमा पंखा, एसी र कुलरको प्रयोग बढेको छ। विगतका वर्षमा उपत्यकाको गर्मी पंखाले थेग्ने गरेकामा यसपालि उपभोक्ताले पंखाभन्दा एसीलाई प्राथमिकता दिएका छन्। व्यापारिक भवन, कार्यालय र प्रतिष्ठानहरुमा मात्र नभइ यसपटक घरमा पनि एसी जडान गर्न खोज्नेहरु बढेका छन्।

काठमाडौं उपत्यका बाहिर भने कुलरको माग धेरै छ। दशैं तिहार र नयाँ वर्षमा अनेक योजना ल्याउँदा समेत व्यापार बढ्न नसकेपछि तनावमा रहेका व्यवसायीहरुलाई यतिखेर माग धान्नै हम्मे परिरहेको छ। मन्दीको अवस्थामा एसी, कुलर र पंखाको व्यापार गर्मी बढेपछि चम्किएको हो।

छूट योजना ल्याउँदा पनि अपेक्षितरुपमा माग नबढ्दा बिक्रेता कम्पनीहरुले ब्राण्डेड सामानको आयात घटाएकामा अहिले उपभोक्ताको ओइरो लागेपछि एसी र कुलरको स्टक निकै कम हुन पुगेको छ।

व्यवसायीहरुका अनुसार बजारमा अहिले एलजी, सीजी, माइडिया, बाल्ट्रा, हिमस्टार लगायत ब्राण्डका सामानको माग बढी छ। त्यसो त अन्य कम्पनीका एसी, कुलर र पंखाको बिक्री पनि ह्वात्तै बढेको व्यवसायीले बताएका छन्।

सीजी इलेक्ट्रोनिक्सका ब्राण्ड म्यानेजर मुकेश बैठाले उच्च गर्मीका कारण बजारमा एसी, कुलर र पंखाको प्रयोग बढ्दा माग धान्न नसकिने अवस्था आएको बताए। ‘यति बेला बजारमा एसी र कुलरको माग सबैभन्दा धेरै छ। अत्यधिक मागका कारण सामान आउट अफ स्टक भइसकेको छ,’ उनले भने। 

बाल्ट्रा होम अप्लायन्स नेपालमा एसी, कुलर र पंखाको माग उच्च छ। ‘अहिले सामान नै नपाइने भन्ने अवस्था त छैन, तर स्टक चाहिं निकै घटेको छ,’ कम्पनीका एक कर्मचारीले भने, ‘उपभोक्ताको मागको तुलनामा छेलोखेलो सामान छैन।’

सीजी इलेक्ट्रोनिक्सले यसपालि १२ हजारभन्दा बढी एसी र २० हजारभन्दा बढी पंखा बिक्री गरेको छ। पोहोर यसको आधा पनि बिक्री भएको थिएन।

इलेक्ट्रोनिक्स सामानका आयातकर्ताले यसपटक उच्च गर्मी होला र एसीको माग उच्च हुनेछ भन्ने पूर्वानुमान गरेका थिएनन्। जसले गर्दा बजारमा अभावको स्थिति सिर्जना भएको व्यवसायी बताउँछन्।

‘अहिले डिलरहरुसँग स्टक हुन सक्छ। कम्पनीमा यस्ता सामानको स्टक निकै कम छ,’ बैठाले भने, ‘कम्पनीहरुले प्लानिङ र टार्गेट गरेभन्दा धेरै माग भयो। त्यही कारण अहिले उपभोक्ताले खोजेजस्तो सामान भन्नेवित्तिकै नपाउन सक्छन्।’

बजार माग उच्च भएपछि व्यवसायीहरुले भाउ बढाउन थालेका छन्। महाबौद्धस्थित भृकुटी इम्पेक्सका सञ्चालक निकेश घिमिरे पंखाले काम नचलेर एसी किन्नेहरु बढेको बताउँछन्। ‘फ्यान र एसीको प्रयोग पहिलेभन्दा धेरै बढेको हो। माग धेरै र सप्लाइ पर्याप्त नभएकाले मूल्य केही वृद्धि भएर आउन थालेको छ,’ उनले भने।

भन्सार सेवा विभागको आयात तथ्यांक अनुसार चालु आर्थिक वर्ष ११ महिनामा एसी ३ अर्ब ६२ करोड, पंखा १ अर्ब ४७ करोड र कुलर ६० करोड ७२ लाख रुपैयाँको आयात भएको छ।